त्यो दिन कहिल्यै नसोचेको घटना देखेँ। मेरो मानसपटलमा त्यो हदसम्मको कल्पना पनि थिएन। हो, त्यो घटना अकल्पनीय कुराको पनि पराकाष्ठै थियो।
एकदिन बिहान हतार-हतार मोटरसाइकल स्टार्ट गरी विद्यालय जान निस्किएँ। अलि टाढाकै विद्यालय जानु थियो। त्यसैले पनि अलि हतार नै गरेँ। हतार पनि यति गरेछु कि पर बाटोमा ट्राफिक प्रहरीको चेकिङमा परेपछि थाहा भयो मैले ब्लु-बुक घरमै छोडेछु भनेर।
चेकिङमा इमान्दारपूर्वक मेरो कुरा भनें। धन्न औपचारिक ड्रेसमै थिएँ। मेरो नम्रतापूर्वक बोलीचाली, अफिसियल ड्रेस र सामान्य अफिसियल बाइक भएकाले चिट काट्न परेन। यसै पनि हतार भइरहेको थियो। अलि स्पिड बढाएँ। ९:४५ मा विद्यालय पुगेँ।
विद्यालयमा विद्यार्थी तथा शिक्षक आउने क्रम चलिरहेको थियो। एकछिन विद्यालय आइपुग्नु भएका शिक्षकहरूसँग भलाकुसारी गरेँ। १० बज्यो। घण्टी बज्यो। सबैजना प्रार्थनाका लागि तयार भए।
सधैंजसो प्रार्थना पनि सकियो। अन्त्यमा विद्यालयका प्रधानाध्यापक आएर एउटा सूचना भन्नुभयो कि 'आज राति हाम्रो यस विद्यालयका विद्यालय व्यवस्थापन समितिका एक सदस्य ज्युको हृदयघातका कारण अकस्मात निधनको खबरले हामीलाई स्तब्ध तुल्याएको छ। यस घडीमा उहाँको आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरौँ।'
मौन धारण सकियो। प्रधानाध्यापक भन्दै हुनुहुन्थ्यो- 'यस दुःखद् घडीमा आज हाम्रो विद्यालय शोक बिदा गर्ने र आज कुनै पनि पठन पाठन कार्य नहुने जानकारी गराउन चाहन्छु।'
यति के भन्दै हुनुहुन्थ्यो, प्राथमिक कक्षाका विद्यार्थीहरू खुसीले ताली बजाए।
यो दृश्यले एकाएक स्तब्ध बनायो। एकटकले उनीहरूलाई हेरिरहेँ। मनमा साह्रै गाँठो पर्यो। हामीले सोचेको बालमैत्री वातावरणका कुरा खोई? कोही मान्छे मरेर विद्यालय बिदा हुँदा रमाउने विद्यार्थीको यो दृष्यले के चित्रण गर्छ? विद्यालयको वातावरण कस्तो छ? पढाइ, लेखाइ, सिकाइ कस्तो छ? विद्यालय प्रतिको वितृष्णा कुन हदसम्मको छ? उनीहरूको त्यही ताली र खुसीले प्रस्टै देख्न सकिन्थ्यो।
उफ्! विद्यार्थीको विद्यालय र पढाइप्रतिको वितृष्णाको उदाहरण योभन्दा बढी के हुनसक्छ? आज छुट्टी भन्दा यति उत्पात किन खुसी? विद्यालयको वातावरण किन यस्तो भएको होला? विद्यालयको वातावरण, कक्षाकोठाको वातावरण, शिक्षकहरूको व्यवहार विद्यार्थीलाई मनपर्ने खालको कहिले हुने होला? विद्यालय छुट्टी हुने भयो भन्दा दुखी हुने दिन कहिले आउला?
यो घटनाले मलाई असह्य पीडा भयो। लाज बोध भयो। पिरोल्यो पनि। योभन्दा दुखद् कुरा के देख्नु छ र जस्तो लाग्यो। छटपटी भयो। उकुसमुकुस भयो। श्वासको चाल पनि बढ्दै गयो। एकाएक जुरुक्क उठ्न पुगेछु।
छोरी र श्रीमती पनि आत्तिदैँ उठे। एक गिलास पानी खाएँ। त्यसपछि पो थाहा भयो, म त सपनामा रहेछु। घडी हेरेँ। बिहानी पखको साढे तीन बजेको रहेछ। श्रीमतीले पनि आत्तिँदै सोधिन्- 'के भयो? के देख्नुभयो सपनामा?'
'अहँ! यस्तो नराम्रो सपना भन्नु हुँदैन' भनेर टारेँ। एकछिनसम्म निद्रा पनि लागेन। त्यही स्कुल सम्झिरहेँ। फेरि त्यही ताली बजाएको सम्झिरहेँ। मैले मेरो बाल्यकालको बेला पनि सम्झिएँ।
मसान्त (महिनाको अन्तिम दिन) को दिन शुक्रबार पर्यो भने हामीले भन्थ्यौँ, 'थुइक्क! यो मसान्त पनि अरु बार नपरेर शुक्रबारै पर्नुपर्ने। हामीलाई घाटा लाग्यो।'
शुक्रबार सधैँ आइदिए हुन्थ्यो जस्तो हुने। आइतबार कहिल्यै नआइदिए हुने जस्तो लाग्ने। फेरि सपना सम्झन्छु, धन्न सपनामा रहेछ। कतै विपनामै यस्तै स्कुल त छैनन्? मनमा अनेक कुरा खेलिरह्यो। छटपटाहट उस्तै भइरह्यो।
श्रीमतीले भनिन्- 'यस्तो नराम्रो सपना देखियो भने फेरि सुत्नुपर्छ ताकि अर्को राम्रो सपना देखियोस्।'
हो, मलाई पनि हो जस्तै लाग्यो। दुई/चार पटक लामो लामो श्वास फेरेँ। र, अर्को राम्रो सपनाको कामनासँगै कुन बेला निदाएछु पत्तै भएन।