प्रिय प्रतीक्षा, धेरै माया एवम् मिठो सम्झना।
आरामै छौ होला। जस्तोसुकै अवस्थामा भए पनि तिम्रो कुशल मंगलको कामना गर्दछु। मायाको सम्बन्धविच्छेद अर्थात् हाम्रो सम्बन्ध टुटेको आज करिब पाँच वर्ष पूरा भएछ। सुरुआती चरणमा तिमीसँग बिताएका ती पलहरू छाउनी म्युजियममा राख्दा पनि कमि नदेखिने सुन्दर र आकर्षक थिए।
भुलिसक्यौं होला है, पूर्वको पशुपति 'हलेसी महदेव खोटाङ' र पूर्वकै मनकामना 'छिङटानदेवी धनकुटा' घुमेर हप्तौं बिताएका यादहरू। अनि पक्कै बिर्सियौ होला है थारु संग्रहालय बछ्यौली चितवन, थारु सास्कृतिक संग्रहालय ठाकुरदार बर्दियासँगै लगाएर सजिएका गुन्यू पोते र चोलीहरू। त्योबेला तिमी मलाई शुत्र ग्रह जस्तो रहस्यमय र शनि ग्रह जस्तो सुन्दर एंवम आकर्षक लान्थ्यो।
प्रिय प्रतीक्षा, पक्कै बिर्सियौ होला क्यासपियन तालभन्दा गहिरो तिम्रा नयनहरूमा डुबुल्की मारेर प्रेमको सर्वोच्च शिखर चुम्ने मेरा अभिलासाहरू बेलाबेला उत्तरी ध्रुवीय महासागर आकर्षित एवम् उत्सुक हुन्थे, त कहिले पृथ्वीको अन्तिम डिग्री दक्षिणी ध्रुवमा बरालिए जस्तै गर्थे। त्यो बेला तिमी एक डिग्रीमा चार मिनेट देशान्तरले जस्तै समय निर्धारण गरेझैं गर्ने गर्थ्यौ भने म एक डिग्रीमा एक सय एघार किमि अंक्षासले जस्तै दूरी निर्धारण गर्ने गर्थें।
नेपालको सबैभन्दा अग्लो दरबार बसन्तपुर दरबार घुम्न जाँदा नेपालकै अग्लो स्थानमा पाइने फूल स्टेलिया डेकुम्बनेले तिमीलाई प्रपोज गरेका ती पलहरू म्याग्दीको रुप्से झरना जस्तै सुन्दर र अविस्मरणीय थिए। थाहा छ तिमीलाई दोधारा र चाँदनीलाई जोड्ने महाकाली नदीको पुलको महत्त्व। हो, त्यस्तै थियो त्यो बेला मलाई तिम्रो र तिमीलाई मेरो महत्त्व।
जसरी खड्ग शमशेरले रानी तेजकुमारीको सम्झनामा ताजमहले चिनिने पाल्पामा रानी महल बनाएका थिए, त्यसैगरी तिम्रो लागि मेरो मुटुमा सुन्दर महल बनाएको थिएँ। जसरी भगवान बुद्ध सम्झन बुद्धको दाँत श्रीलंकाको क्यान्डी मन्दिरमा सुरक्षित राखिएको छ, त्यसैगरी तिम्रा याद, तिमीसँग बिताएका ती पलहरू मेरो तन, मन एंव मस्तिष्कमा अझै सुरक्षित छन् प्रिय प्रतीक्षा। अहिले तिम्रो र मेरो सम्बन्ध नेपालबाट तिब्बतको ल्हासासम्मको दूरी (करिब ८४० किमि) जस्तै टाढा भएको छ।
जसरी लियोनार्दो दा भिन्चीको मोनालिसा कोमल राहस्यमय मुस्कानको लागि प्रसिद्ध छ, माइकल एन्जेलोको 'द लास्ट जज्मेन्ट' चित्र बहुचर्चित छ, त्यसैगरी २६४ हेक्टर क्षेत्रफलमा फैलिएको पशुपति वरपर हाम्रो दैनिक भेट हुने स्थान त्यतिकै प्रसिद्ध थियो र छ मलाई।
त्यसैले अब तिमीले हिट्लरको जस्तै तानाशाह प्रवृत्ति बन्द गर। आऊ तिम्रो र मेरो मायाको ऐन जारी गरौं जहाँ म्याग्नाकाटामा राजा र जनता बीचमा भएको सम्झौता जस्तै तिम्रो र मेरो विस्तृत सम्झौता हुनेछ जुन ऐन पारित गर्ने अधिकार तिमी र ममा हुनेछ। जहाँ मन्टेस्क्युको 'द स्पिरिट अफ ल' मा जस्तै 'डु नट डु, डु नट सिट, डु नट इन्टरफेयर' अवधारणाको विकास हुनेछ।
प्रिय प्रतीक्षा, जसरी प्रथम विश्वयुद्ध १५ सय ६१ दिन चलेको थियो, त्यसै तिम्रो र मेरो मायाको युद्ध करिब सात वर्ष अर्थात् २२ सय ५५ दिन पुगेछ। त्यसैले प्रिय आऊ समयमै विसं २०६३ माघ ५ गते नेपाल सरकार र माओवादीले गरेजस्तै विस्तृत शान्ति सम्झौता गरौं। जहाँ सम्झौतामा माओवादीले जसरी हजारौं हातहतियार बिसर्जन गरेको थियो, त्यसैगरी तिमीले घमण्ड र तानाशाही प्रवृत्ति विसर्जन गरिदेऊ। हाम्रो मुना-मदनको जस्तो जोडीलाई पूर्णता दिऔं जहाँ प्रथम विश्वयुद्धमा जसरी अमेरिका र जापान शक्तिशाली राष्ट्रको रूपमा स्थापित भएझैं तिमी र म पनि शक्तिशाली हुनेछौं।
हेर त सरकारले पन्ध्रौं योजना सार्वजनिक गरे जस्तै मैले पनि तिम्रो र मेरो सम्बन्धलाई टिकाइराख्न दीर्घकालीन योजना सार्वजनिक गरेको आज पाँच वर्ष पूरा भएछ। जसको दीर्घकालीन लक्ष्य दुवैको तर्फबाट माया आव ०८०/०८१ सम्म शत–प्रतिशत अर्थात् १०० मा १०० पुर्याउने थियो तर हाम्रो मायाको योजनाको प्रगति समीक्षामा माइनस पचास प्रतिशतले ऋणात्मक पुगेको देखियो।
अझै केही बिग्रेको छैन प्रिय, तिमी एक सुन्दर फूल हौ। अरुले काँडा भन्दैमा र देख्दैमा केही फरक पर्दैन। पाँच वर्षसम्म पटक–पटक म आफैं पोखिएको छु प्रिय, तिम्रो प्रेम सम्हाल्ने बहानामा। यति गर्दागर्दै पनि हुँदैन भने तिमीलाई आफ्नो व्यवहारमा पछुतो भएको दिन मेरो जित हुनेछ, के नै बिग्रेको छ र प्रिय।
प्रिय प्रतीक्षा, चाहे धन कमाउने कुरा होस् वा यश आर्जन गर्ने। चाहे विलासिता होस् वा सन्यास। सबैको एउटै खोजी रहेछ, प्रेम। आऊ तिमी र म दुवै मिलेर लेखौं एउटा मायाको राजपत्र। प्रकाशन गरौं मायाको राजपत्र। राजपत्रको परिच्छेद १ को दफा १ मा एकाअर्काको साथ, सहयोग एवम् विश्वास नै हाम्रो सम्बन्धको मूल कानुन हुनेछ। यससँग बाँझिने उतारचढाव, झैंझगडाहरू एवम् समस्या बाँझिएको हकसम्म अमान्य हुनेछ। मायाको राजपत्र अक्षरस पालना गर्नु हामी दुवैको कर्तव्य हुनेछ।