हरेक दिन
हुलका हुल
गृहिणी र नौजवानहरू
तँछाड मछाड गर्दै
बिजुली रिक्सामा कोचिन्छन्
र हुँइकिन्छन् दक्षिण दिशातिर
विश्वास हराएको आफ्नै ठूलो सहर छोडेर
सराप्दै ‘डुप्लिकेट’वाला आफ्नो माटो र देश
छिचोल्न्छन् पहरा दिइरहेका यता र उताका पुलिसका घेरा
र, पुग्छन् पारिको त्यो थोत्रो अस्तव्यस्त सानोबजार
स्वाभिमानका सिरुपातेले शत्रु छप्काएर
आत्मसम्मानको सिउर पैरेका पूर्खाका ती सन्तानहरू
दासताको लगौटीले आफ्नो लाज छोप्दै
सुरु गर्छन् बेतुकको मोलमोलाई
र, खर्चिन्छन परदेशी भूमिमा
पौरख र जवानी साटेका आफ्ना कमाइ
चिनी, चियापत्तीदेखि सलाई, साबुन, स्याम्फुसम्म
कुर्थासुरुवाल पाइजामादेखि तन्ना, सिरानी र सेर्वानीसम्म
गन्जी, कट्टु, मोजादेखि सुट पाइन्ट र कमिजसम्म
ब्लाउज, पेटिकोटदेखि रुमाल, धोती र बाहिरी सारीसम्म
जिरा, धनिया, मेथीदेखि दाल, तेल र चामलसम्म
टायर, ट्युब, रेन्चीदेखि साना, ठूला मेसिनसम्म
चम्ची, डाडु, पुनिउदेखि कुकर, ताप्के र मिक्स्चरसम्म
नङपालिस, फेस्वास, लिपिस्टिकदेखि आइस्याडो, आइलाइनर र हेयर रिमुभरसम्म
सियोदेखि फालीसम्म
नुनदेखि सुनसम्म
न्वारान, पास्नी, छेवर
बिहे, व्रतबन्ध, बेबिसावर
तिथि, काजकिरिया, श्राद्ध
पूजा, पिकनिक, पार्टी, पुरान
हरेक बहानामा
पुग्छन् ‘सस्तो’ र ‘ओरिजिनल’ माल किन्न
अनि ठुलो मूल्य र ट्याक्स उतै बुझाएर
आफैं ठगिएर र बेचिएर
दुई-चार पोका मालमा साट्छन् पुस्तौनी स्वाभिमान
अनि छल्दै आफ्नै ढिकुटीका आँखा
फर्किन्छन् आफ्नै सहरको चौडा बाटो
जो लमतन्न पसल पस्केर
भोकले आत्तिएर भिख खोजिरहेको बुढो भिखारीझैं
आशलाग्दो आँखाले ट्वाल्ल नियालिरहेछ
र पर्खिरहेछ
तिनै विश्वास मरेका आफन्तहरू
जीवितै राखेको छ अझै
झिनो र धिपधिपे आश
फेरि पनि बहुरिने र तङ्ग्रिने
उद्धार र मुक्तिको अन्तिम जिजीविषा बोकेर
दयाको पात्रझैँ याचना गरिरहेछ
आफ्नाहरूको गुमेको माया र न्यानोपनको
र, पर्खिरहेछ वृद्धाश्रममा
आफैंलाई बेवारिसे छोडेर जाने तिनै प्रिय सन्तानहरूलाई
जो लस्करका लस्कर फेरि देश फर्किरहेछन् बिजुली रिक्सामै
उसैगरी पहरा छिचोल्दै
स्वाभिमानसँग सौदा गरेका ओरिजिनल माल बोकेर!