'उठ्ने बेला भएन अझै तपाईंको अहिलेसम्म सुतिराख्यो भने त चीलहरू आउलान् नि,' छाप्रो को बाहिरबाट भाँडा मस्काउँदै दुनीले चर्को आवाजमा भनिन्।
दार्चुला सदरमुकामभन्दा एक किलोमिटर जति पूर्वतिर लास्कु खोला छ। त्यही खोलाको परपट्टि छ दुनीको अँध्यारो स्वर्ग। चारैतिरबाट बोराले बेरेर बार लगाइएको छ। छानो खरले छाएको छ। बर्खामा चुहिएको पानी जम्मा गर्दागर्दै रात बित्छ।
त्यही छानोको एकापट्टि खाना पकाउँछ्न्। अर्कोपट्टि आङ बिसाउने ठाउँ बनाएका छन्। दुई छोराछोरी, दुनी र उनका श्रीमान धनबहादुर यहीँ छाप्रोमा बस्छन्।
'हैन, अझै उठ्नु भएन भन्या' फेरि कराइन् दुनी।
'सुत्न पनि पैसा लाग्ला झैं पो गर्छे त, के हो यति सारो! दूध बेच्न जानेहरू पनि गएका छैनन् अझै त। चुप लाग्, एकछिन् सुत्न दे' एकोहोरो स्वरमा धनबहादुर करायो।
धनबहादुरले घडी हेरेर कहिल्यै यति बज्यो, उति बज्यो भनेन। बिहान दूध बेच्न जाने मान्छेहरूले उसको निद्रा खुल्छ। उनीहरू ठट्टा गरेर 'लौ है धनबहादुर दूध आयो' भन्छन्।
धनबहादुर र दुनीले त ठट्टा गरेका हुन् भनेर थाहा पाउँछन् तर कहिल्यै दूधको रङ थाहा नपाएका भुराभुरीहरूले 'बाबा, दूध आयो जानू लिएर आउनू' भन्छन् अनि पो दुनीका आँखामा आँसुले डेरा जमाउँछ।
दसैं, तिहार, गौरा जे आए पनि उनीहरूका शरीरमा उहीँ शरीर पनि राम्ररी नढाक्ने लुगा हुन्छन्। छोरा विवेक दस वर्षको भयो भने छोरी बेबिशा आठ वर्षकी भइन्। दुवैजना सँगै खेल्छन्। उनीहरूसँग खेल्न कोही आउँदैनन्। आमाबुवा दिनभरि बालुवा जम्मा गर्न महाकाली नदीको किनारमा जान्छन्। उनीहरू पनि त्यहीँ जान्छन्। नथाकुन्जेलसम्म खेल्छन्। थाकेपछि त्यहीँ सुत्छन्। खाना बिहान अनि बेलुका दुई टाइम मात्रै खान्छन्। अनुहार बारै मास ग्रहण लागेजस्तै छ, थोरै घामले धेरै विपन्नताले।
बाहिर दूध बेच्नेहरू हिँडेको आवाजले बल्ल धनबहादुर उठ्यो। उठेर लास्कु खोलाको तलपट्टि ढुंगाको खोँचमा नित्यकर्म बिसर्जन गर्न गयो। माथि आएर हातमुख धोयो। दुनीले चिया उमाल्न लागेकी रैछिन्। चिया त के भन्नु, चियाको गुण एउटा मात्रै छ क्यारे- त्यो हो तातो। एक-एक बटुका पानी खाएर उनीहरू बालुवा निकाल्न नदी किनारतिर लागे।
छेउमै लास्कु खोला सुसेली हाल्दै बगिरहेछ। त्योभन्दा अलि तल भयंकर अवाज निकाल्दै महाकाली बगिरहन्छ। महाकालीसँगै उनीहरूका पनि दुःख बगिरहन्छन्। महाकालीको पानी फिर्ता आउँदैन तर उनीहरूका दुःखहरू घुमिरहन्छन् वरिपरि।
बर्खामा त उतिसारो केही दुःख हुँदैन जति हिउँदमा हुन्छ। दुनी र धनबहादुरले जसोतसो जाडो कटाउँछन्, विचरा विवेक र बेबिशालाई भने निकै गाह्रो हुन्छ। मंसिरदेखि फागुसम्म ती दुई प्राणीका ओठहरू काला हुन्छन्। 'ममी जाडो भयो आगो बाल्दिनू न' भन्छन् निद्रा खुल्ने बित्तिकै।
बिहान चार नबज्दै निद्रा खुल्छ। त्यतिबेलादेखि आगो तापेर बस्छन्। जब लास्कु खोलामा सूर्यका किरणले स्पर्श गर्छन् तब विवेक र बेबिशा ढुंगामा बसेर घाम ताप्छन्। घाम छउन्जेल त ती दुई जति खुसी यो संसारमा कोही हुँदैन्।
मान्छे जति रुन सक्छ त्यति नै हाँस्न पनि सक्छ भने झैं उनीहरू रमाएर खेल्छन्। ढुंगा जम्मा गरेर घर बनाउन प्रयत्न गर्छन्। जब घर बनासक्छन्, घाम अस्ताउँछ। घामसँगै उनीहरूको आशा पनि अस्ताउँछ। घाम छँदा घर बनाउने प्रयत्न गरिरहन्छन्। उनीहरूको बाल मनलाई हेक्का हुँदैन कि घाम अस्ताउँछ भनेर।
त्यो ढुंगाको घर त्यत्तिकै छोडेर भित्र पस्छन्। घाम अस्ताएपछि लास्कु खोला र महाकाली नदीले चिसो सिरेठोमा दोहिरी खेल्छन्। महाकाली र लास्कु दुवैले जित्छन् तर बेबिशा र विवेकले हार्छन्। उनीहरूले मंसिरदेखि फागुनसम्म कहिल्यै जित्दैनन्। भित्र गएर आगो बाल्न खोज्छन्। सिर्सिर गरी चल्ने बतासले बलेको सलाइको काँटीलाई निभाइदिन्छ। केही सीप नचलेपछि दुवै भाइबहिनी वर्षौं पुरानो गुट्मुटिएको सिरकभित्र जान्छन्।
सिरकले पनि उनीहरूको जाडो के धान्थ्यो र खै! यसो हेर्यो भने सिरकलाई नै जाडो भए जस्तो देखिन्थ्यो। ठाउँ-ठाउँमा च्यात्तिएको, कपास पूरै एक ठाउँमा पोको परेको सिरकले के तातो दिन्थ्यो र! त्यही पनि दुई प्राण त्यत्तिकै सिरकभित्र बसिरहन्थे। उनीहरू सिरकभित्र भए पनि दुवैको मन भने अघि आधा बनाएर छोडेको घरमा पुग्थ्यो। दुवै त्यही घरमा खेलेको अनि रमाएको मिठो कल्पनामा डुब्दै उत्रिँदै साँझ पर्छ। साँझ परिसक्दा बल्लतल्ल आमाबाबु आउँछन्।
दिनभरि बालुवा निकाल्दा-निकाल्दा उनीहरूका हातखुट्टा, छाती सबै दुखेर आउँछ। तर दुखेर पो के गर्नु र, काम गर्नु नै पर्छ। दिनभरि बालुवा निकालेको पैसाले साँझ अनि बिहान पुग्ने खानेकुराको जोहो गर्नु दुनी र धनबहादुरको बाध्यता हो।
गरिबहरू जति नै दुखी भए पनि हाँस्न छोड्दैनन्। कहिलेकाहीँ दुनी जिस्किन्छिन्, 'तपाईंको त नाम मात्रै धनबहादुर हो। धन त कहिल्यै हात नलाग्ने। तपाईंलाई देख्यो कि चार हात पर पो भाग्छ बा धन त। पण्डित पनि खुबै जान्ने रैछन्।'
यति भनेर दुनी चुप लाग्छिन्। अब बोल्ने पालो धनबहादुरको। दुनीले ठट्टा गरेकी हुन् भनी जान्दाजान्दै पनि उसको मुखले यथार्थ बोल्न थाल्छ। लामो सुस्केरा हाल्दै भन्छ, 'के गर्नु दुनी, नामले मात्रै नहुने रैछ। धन कमाउन त भाग्यमा लेखेर आउनुपर्ने रैछ। हेर्न हामीले नि काम त गर्छौ नि तर एक कट्ठा बालुवाको जम्मा २० रुप्पे पाउँछौं। हाम्रो भाग्यमा काम गर्नु लेख्या छ, त्यही हुन्छ। १२ वर्षमा खोलो त फर्किन्छ भन्थे, हाम्रा नि दिन आउँलान् नि।'
यति भनेर सुस्ताउँछ। खोलो फर्किन्छ भनेको सुनेर विवेकले सोध्छ, 'बाबा यो लास्कु खोला कहिले फर्किन्छ नि फेरि? अलि चाँडो कुनै अर्कोपट्टि फर्क्यो भने त जाडो नि कम हुन्थ्यो है।'
यति भनेर विवेक पनि बाउको मुखमा हेर्छ। दुनी र धनबहादुर ट्वाल्ल परेर विवेकलाई हेर्छन्। कोही बोल्दैनन् दुनीले विवेकको टाउको मुसार्छिन्।
'ओई दुनी, रात छिप्पिसक्यो त, के छ आजको लागि खाना पकाउन थालिहाल्' यति भनेर धनबहादुर कोल्टे परेर पल्ट्यो।
दुनी रोटी सेक्न थालिन्। रोटीसँग हिजोको बचेको अलिकति तरकारी पनि उमालिन्। खाना बनाएर सबैलाई खानको लागि उठाइन्। धनबहादुरका आँखा लोलाउन लागेका थिए भने विवेक र बेबिशा सुतिसकेका थिए। विवेक र बेबिशालाई ब्युँझाएर सबै खाना खान थाले। बेबिशा आँखा दुख्यो भन्दै गनगन गर्दै खाँदै गर्न थालिन्।
सधैं झैं बिहानै दुई प्राण खाना खाएर नदी किनार तिर लागे। नदीबाट बालुवा निकाल्नु के सजिलो हुन्थ्यो र आधा भिजेर बालुवा निकाल्यो। त्यो बालुवालाई कठ्ठामा राखेर किनारमा पुर्याएपछि बल्लतल्ल एक कट्ठाको २० रुपैयाँ पाइन्छ। दिनमा २०/२२ कट्ठा जति निकाल्न सक्छन्। त्यही बेचेर साँझको खाना अनि बचेको पैसाले बच्चालाई र आफूलाई लुगाफाटो किन्न पुग्छ। मरिमेटी दुई जना काम गर्छन्।
उता विवेक र बेबिशा कहिले ढुंगाको घर बनाउँछन् कहिले लास्कु खोला माथिको पुलमा गएर खेल्छन्। स्कुल जाने उमेर भसके पनि जान मान्दैनन्। एकदिन विवेक र बेबिशा दुवै स्कुल गएका थिए। स्कुलका साथीहरूले उनीहरूलाइ गिज्याए। पढाउने शिक्षक/शिक्षिकाले पनि भोलि सफा भएर आउन भने। बाहिरको मैलो पखाल्ने साबुन थिएन उनीसँग। त्यही भएर उनीहरू स्कुलको नामसम्म लिँदैनन्।
मन जति सफा भए पनि कसैले देख्ने रहेनछ। सबैले बाहिरकै सफापन हेर्ने रहेछन्। धनबहादुर र दुनीले यही कुरा बुझे।
आज मान्छेहरू उनीहरूको छाप्रो अगाडिबाट खुब ठाट्टिएर गैरहेका छन्। कोही कोट पाइन्टमा चिटिक्क छन्। कोही सारीमा आकर्षक भएका छन्। कोही कुर्ता-सुर्वालमा चिटिक्क छन्। ओहो! अझ उनीहरूको शरीरबाट आएको बास्ना त झन् कति राम्रो। विवेक र बेनिसाले खेल्न छोडेर ती आउने-जानेलाई नै हेर्न थाले।
आज केको दिन हो? किन मान्छेहरू यसरी सजिएका? सोध्न मन थियो तर आमाबाबु कोही थिएनन् घरमा। सोध्न जाउँ भने मान्छे हेर्न छुट्ने त्यही भएर बेबिशा र विवेक गएनन्। मान्छेहरूलाई हेरिरहे। तिनीहरूले सबैलाई हेरे तर ती आउने जाने कसैले हेरेनन् ती दुई बच्चालाई।
साँझ पर्यो, अघि दिउँसो ठाँटिएर जाने सबैको हातमा केही न केही मिठो खानेकुरा थियो र तिनीहरू घर फर्किरहेका थिए। बास्नाले मन अघायो, विवेक र बेबिशाले घुटुक्क थुक निले। साँझ सबै मान्छे फर्केर गइसकेका थिए।
अबेर भएपछि आमाबाबु आए। छाप्रोभित्र टुकी बालेर सबैजना भित्र बसे। आज दिउँसोको सबै कुरा आमाबाबुलाई सुनाए। आमाबुबाले भनेपछि बल्ल थाहा पाए, आज शिवरात्री रहेछ। अनि बेबिशाले सोधिन्- 'ममी हाम्रो घरमा त केही ल्याउनु भएन नि फेरि ती मान्छेको हातमा त कति मिठो खानेकुरा थियो नि। हाम्रो घरमा कहिले ल्याउने?'
आमाले छोरीको मुखमा हेर्दै भनिन्- 'छोरी, अब हाम्रो घरमा भोलि ल्याउने।'
बेबिशा र विवेक उत्पात खुसी भए। छोराछोरी खुसी भएको देखेर धनबहादुर र दुनी पनि खुसी त भए। बतासले झ्याप्प टुकी निभ्यो। दुनी सलाइ खोज्न थालिन्। बल्लतल्ल सलाई भेटाएर टुकी बालिन्। खाना पकाएर सबैलाई खुवाइन्। थकाइले होला सबैजना घुप्लुक्क सुते।
बिहानको सूर्यले बेबिशा र विवेक उठे। उठ्ने बित्तिकै देखे, माथि छनोमा एउटा पोको झुन्ड्याएको। खुसी भएर त्यो के हो भनेर सोधे।
दुनीले हाँस्दै भनिन्- 'मिठाई हो, तिमीहरू नउठ्दै तिम्रा बाले ल्याएका।'
खुसी भएर सबैले मिठाई खाए। त्यसपछि आमाबाबु बालुवा निकाल्न गए। बेबिशा र विवेक पनि खेल्नका लागि खोलाको चिसो ढुंगातिर लागे। सधैं झैं घाम अस्तायो, चिसो सिरेठो चल्न थाल्यो। ढुंगाको घर त्यत्तिकै छोडेर दुवै भाइबहिनी भित्र सिरकभित्र गुट्मुटिए।
साँझ पर्यो, आमाबाबु आए। केहिबेर कुरा गरेपछि खाना पकाएर सबैले खाए। विवेकले भन्यो, 'आमा, बालुवा धेरै बोकेर हाम्रो पनि ठूलो घर बनाउने है पछि।'
विवेकको कुरा सुनेर आमाले भनिन्, 'बाबु, बालुवाको मात्रै घर त बन्दैन नि। सिमेन्ट चाहिन्छ, रड चाहिन्छ। यी सब चिज किन्न पैसा चाहिन्छ नि, हामीसँग त छैन नि पैसा।'
विवेकले फेरि सोध्यो, 'आमा पैसा कसरी कमाउने?'
आमाले भनिन्, 'स्कुल जाने, पढ्ने, ठूलो मान्छे बन्ने अनि जागीर खाएर पैसा कमाउने र ठूलो घर बनाउने है।'
विवेक पनि उत्सहित भयो अब पढ्ने भनेर। तर अकस्मात् सम्झ्यो पहिलो दिन साथीले गिज्याएको अनि शिक्षक/शिक्षिकाले सफा भएर आउनू भनेको। सोच्दै ऊ सिरकमा गुटमुटियो।