मेरो चिरहरण गरी
अस्तित्व खोज्नेहरू
मेरा अंगहरूलाई च्याती
मेरो मुटुमा
देशभक्ति र राष्ट्रवादको बुट बजार्नेहरू
भनिदिऊ न म कस्तो हुनुपर्ने?
कहिले प्रजातन्त्र भनेको छ
कहिले राजतन्त्र भनेको छ
कहिले लोकतन्त्र भनेको छ
कहिले गणतन्त्र भनेको छ
व्यवस्था परिवर्तन भन्दै
मलाई कोमामा राखी
जनताको शासनको शंखनाथ गर्नेहरू
भनिदिऊ न म कस्तो हुनुपर्ने?
मलाई थाहा छैन
को प्रतिगामी, को अग्रगामी
को राष्ट्रवादी, को देशद्रोही
तर तपस्या र बलिदानका नाममा
रगतमा लतपतिँदै
सत्ताको रंगमा होली खेल्नेहरू
भनिदिऊ न म कस्तो हुनुपर्ने?
साँच्चीकै म कस्तो हुनुपर्ने हो?
सिक्किम हुनुपर्ने हो कि?
टिस्टा, काँगडा र नालापानी हुनुपर्ने हो?
कहिले यो भएन, कहिले त्यो भएन भन्दै
व्यवस्था, स्वाधीनता र राष्ट्रियताको झ्याली पिट्नेहरू
अब तिमी आफैं भनिदेऊ
साँच्चिकै म कस्तो हुनुपर्ने?