गाउँमा त केही छैन भन्दै
हुलका हुल मानिसहरू सहर झरे
गाउँहरू सुनसान बन्नपुगे
त्यही हुलमा हामी पनि मिसियौं
सहर पस्यौं, तराई झर्यौं
हामीले गरे जस्तै अहिले पनि यो क्रम निरन्तर नै चलिरहेको छ
सहर भनेपछि मानिस कति खुसी हुन्थ्यो
सहरका सुख, सहरका सपना मनैभरि सजाउथ्यो
सहरको सुगन्ध त्यसै मगमगाउँथ्यो
तर फेरि आजकाल समय फेरिएको छ
गाउँमा केही छैन भन्दै सहर पसेकाहरू
सहरमा पनि केही भेटिएन भन्दै हिँडेका छन्
पहाडमा दुखैदुःख भो भन्नेहरू
तराईमा पनि सुख भटिएन भन्न थालेका छन्
सहरमा राम्रै जीवन जिउनेहरू पनि
अब यो सहरको केही काम छैन भन्न थालेका छन्
सबैको एउटै सोच देखिन्छ
विदेश! विदेश! विदेश!
नसक्नेहरूको त कुरै नगरौं
सक्नेहरूलाई झन् बढी हतार छ
देशका गाउँ, सहरभन्दा त विदेश नै अपरम्पार छ
खै यो सोचको फरक हो कि समयको फरक हो
आमाको माया, माटोको माया र देशको माया त एउटै हुन्छ भन्थे
खै यसको पनि परिभाषा अनि अर्थ फेरिएको पो हो कि?
यसैलाई अंगालेर केही गर्छु भन्नेहरू हतोत्साहित हुने
भएभरको सबैलाई त्यागेर लाग्नेहरू प्रोत्सााहित हुने
जीवन पनि रोटेपिङ जस्तै हो भन्थे
गाउँ काम छैन, सहर काम छैन भन्दै उडेकाहरू
कुनै दिन फेरि घुमेर विदेश पनि काम छैन भन्दै
फर्किएर आउलान् त?
यो मेरो झिनो आशा
के त्यो दिन कहिले आउला?
साँच्चै आउला नआउला?