प्रेम शब्ददेखि कुनै दिन डराउने मान्छे म, आज त्यही प्रेम पाउन र चिन्न नसकेर दोधारमा छु। धेरै मान्छे जोडिन्छन् जीवनमा, कोही प्रत्यक्ष त कोही अप्रत्यक्ष। मलाई थाहा छ, कसैसँग बोल्दैमा वा हेर्दैमा माया हुँदैन। तर आफूलाई मन पर्यो भने पर्यो पर्यो भन्ने सोचले मान्छेहरू आफ्नो कुरा अगाडि बढाउँछन्, अरूको मनमा के छ कोही बुझ्दैनन् र बुझ्न नि चाहन्नन्।
अन्जान व्यक्तिसँगको त्यो मेरो भेट जुन बोलीमा भन्दा पनि आँखा-आँखामा मात्र कुरा भएको थियो। उसले सेकेण्ड-सेकेण्डमा मलाई हेरिराख्थ्यो। मेरो आँखाले नि उसलाई नहेरेको होइन। त्यही दिनको भेटमा दुई/तीन घण्टापछि फोन नम्बर, फेसबुक आइडी माग्दा मैले सिधैं छैन भनेर आफ्नो कुरा टुङ्ग्याएँ। ऊ बारबार मलाई हेरिरहन्थ्यो तर उसमा अरू बोल्ने हिम्मत भने थिएन।
हामी पार्टी सकेर सबै आ-आफ्नो बाटो लाग्यौं। भोलिपल्ट हेर्छु, मेरो फेसबुक आइडीमा उसको फ्रेन्ड रिक्वेस्ट आएको रहेछ। मैले साथी नबनाउँदै उसको मेसेज आउँछ। मैले केही दिनपछि उसलाई साथी बनाएँ र बोल्न थालें।
विभिन्न चिनजानको कुराहरू हुँदै गए। उसलाई पश्चिम मन पर्ने अनि धेरैलाई चिन्ने कुराहरू गर्न थाल्यो। हाम्रो चिनजान हुँदै हाम्रो सम्बन्ध साथीसम्म पुग्यो। समय बित्दै जाँदा उसले मलाई बिहे प्रस्ताव राख्यो। तर मैले सिधैं नाई भन्दिएँ।
उसको प्रस्ताव बारे मैले साथीहरू, भाइ-बहिनीलाई सुनाउँदा 'ठिक छ, राम्रो केटा भए तिमी सिंगल छौ अगाडि बढ्दा राम्रो हुन्छ' भन्ने कुराहरू आए।
ऊ दिनदिनै मेरो उत्तरको पर्खाइमा हुन्थ्यो जसमा मैले नाई नै भन्थें। म त्यतिबेला सिंगल थिएँ। मलाई मायामा विश्वास थिएन। गरे बिहे नै गर्ने हो भन्ने सोचमा थिएँ। विस्तारै मैले हुन्छ नभनी कुरा अगाडि बढ्दै गयो। उसको परिवारसँग कुरा हुन थाल्यो। कुरा बिहेसम्म पुग्यो। उसको दाइभाइ, आमाबुबाले नि धेरै माया गर्ने। तर म भने के हुँदैछ भन्ने नि बुझ्न सकेकी थिइनँ।
समय बित्दै थियो। कुरा हुन्थ्यो, झगडा नि हुन्थ्यो तर कहिले नि मायाको कुरै भएन। एकअर्कालाई मायाको महसुस गराएका थिएनौं। मलाई यो मेरो इच्छा बिना हुँदैछ जस्तो लाग्थ्यो किनकी उसले खोजेको जस्तो पक्कै म थिइनँ। म एकदम उसले सोचेभन्दा फरक थिएँ। मेरो चन्द्रमा छुने सपना, अनि ऊ मलाई घरको चार कुनामा कैद गर्ने कुरा गर्थ्यो जो मलाई मञ्जुर थिएन।
उसको पनि धेरै त्यस्तो बानी थिए जुन मलाई मन पर्दैन थियो। तर पनि म हिम्मत जुटाउँदै थिएँ, भाग्यमा यही लेखिएको छ भने स्वीकार गर्नेसम्म पुगेकी थिएँ।
समय न हो बित्दै गयो, म ऊसँग कम बोल्न मन पराउँथें। उसको र मेरो कुरा अलि कम मिल्थ्यो। उसको र मेरो लाइफ स्टाइल एकदम फरक थियो। म मिल्न सकिरहेकी थिइनँ। उसको आमाबुबाको विश्वास धेरै थियो ममाथि। म नि उहाँहरूको विश्वास र मायाले मात्र नाई भन्न सकिरहेकी थिइनँ।
उसले व्यस्तताको बावजूद पनि मलाई समय दिएको देख्दा, म बिरामी हुँदा सबैभन्दा बढी चिन्ता गरेको देख्दा भने नाई भन्ने अवस्था थिएन। उसले मलाई गर्ने त्यो माया अनि सपोर्ट देखेर म मेरो सपना बिर्सिंदै गएँ।
तर समय न हो एउटै रहँदैन भने जस्तै मेरो मन अरू केही कुरा खोजिरहेको जस्तो लाग्थ्यो। म पूर्ण हुन खोज्थें तर आफूलाई जहिले नि अपूर्ण भेट्थें। मेरो मनले त्यस्तो मान्छे खोज्दै थियो जसले मलाई बुझोस्, मेरो सपनाको सम्मान गरोस्, मेरो परिवारलाई बुझोस्, यो हँसिलो अनुहार पछाडिको पीडा बुझोस्। म जे गर्न चाहन्छु त्यसमा सबैभन्दा पहिले उसले सपोर्ट गरोस्। तर त्यस्तो मान्छे कोही नि थिएन। म निरास हुन्थें, भाइबहिनीहरू सम्झाउने गर्थे सब ठिक हुन्छ भनेर।
रातभर मनमा अनेक प्रश्नहरू खेल्ने गर्थे जसको उत्तर मसँगै हुन्थे- के म बिहे गरेर घरको चार कुनामा अल्झिएर बस्नलाई मेरो आमाबुबाले यति दुःख गरेर पढाउनु भएको हो? के मैले आफ्नो सपना बिर्सेको हो? इत्यादि।
केही समय यसरी नै बित्छ। तब एउटा अर्को अनजान व्यक्ति आउँछ जसले मेरो प्रशंसा गरेर थाक्दैन। मेरो हरेक कुरा मनपर्छ, मेरो हरेक काम मनपर्छ, मेरो बोली मनपर्छ, मेरो सपना मनपर्छ, उसलाई पूरै म मनपर्छ।
त्यो पल यति खुसी भएँ कि म यहाँ बयान गर्न सक्दिनँ। म उसको कुराहरू सुन्न मन पराउँथें तर थोरै बोल्ने बानी मेरो, त्यही नि उसको फोन उठाइहाल्ने। उसले मलाई यति धेरै समय दिएको देख्दा र मेरो ख्याल राखेको देख्दा धेरै खुसी हुन्थें। म बिर्सिसकेकी थिएँ कि अरू कोही नि छ मेरो जीवनमा जो मसँग बिहेको सपना देख्दै छ भनेर। मैले यो नि बिर्सें कि मेरो कारण उसको मात्र नभई उसको परिवारको मन कति दुख्ला भनेर।
अरू कोही आएर मेरो जीवन परिवर्तन भएको जस्तै लाग्थ्यो। तर पछि-पछि बुझ्दै गएँ, ऊ त हरकोही विवाहित, अविवाहित दिदी, बहिनी, साथीहरूको नि त्यस्तै तारिफ गर्दो रहेछ। ऊ त हरकोहीसँग मसँगै बोले जसरी बोल्दो रहेछ भनेर। सँगसँगै उसको जीवनमा अरू भएको कुरा सुन्दा त म छाँगाबाट खसे जस्तै भएँ।
उसले आफूले अरू कसैलाई प्रेम नगर्ने बताउन थाल्यो। मैले उसका कुराहरू विश्वास गर्दै गएँ। मेरो जीवनमा जस्तै घटना उसको नि घट्यो होला, चिन्दै नचिनेको, सोच्दै नसोचेको नि हुन्छ जीवनमा भनेर चित्त बुझाउँदै उसको प्रेममा डुब्दै गएँ। ऊ मेरो लागि सबलाई त्याग्न तयार थियो, म भए केही चाहिँदैन भन्ने कुरा गर्न थाल्यो। मैले नि आँखा चिम्लेर विश्वास गर्न थालें।
मैले उसलाई मेरो हरेक कुराहरू सुनाएँ। उसले सबै थाहा पायो, मेरो अर्कैसँग बिहे हुने कुरा। उसले म छु चिन्ता नगर भन्ने गर्थ्यो, म ढुक्क हुन्थें।
सम्बन्ध राम्रै थियो, बीचमा धेरै कुराहरूको सामना नि गरियो। उसको गर्लफ्रेन्डले कहाँ मलाई गाली नगरी बस्न सक्थी, उसको लागि सबको गाली सहें। फेरि पनि उसलाई सपोर्ट गरिरहें। उसले यति माया गरे जस्तो गर्थ्यो कि सायद त्यति माया कसैले कसैलाई गरेकै थिएन होला जस्तो।
तर विस्तारै उसले मेरो लागि समय त के, मेरो खबर सोध्ने नि छाड्यो। ऊसँग मसँग कुरा गर्ने समय हुन्थेन। अगाडिका दिनमा घण्टौं बोल्ने ऊ अब पाँच मिनट बोल्दा नि अरूको मेसेज हेर्दै, मेसेज सेन्ट गर्दै बोल्न आउँछ। मलाई एकदमै पीडा महसुस हुन्छ तर जब म रिसाएर बोल्न छोड्छु ऊ फेरि आफै फकाउन आउँछ, झुटो आँसु देखाउँछ, अब फेरि यस्तो गल्ती गर्दिनँ भन्छ। तर केही दिनपछि उही हुन्छ अवस्था।
एकदिन म बिरामी भएर हस्पिटलमा मर्छु कि बाँच्छु अवस्थामा भर्ना भएँ। मेरो परिवार चिन्तामा थिए। त्यो दिन उसको एकचोटि पनि फोन आएन किनकी ऊ त व्यस्त थियो। मभन्दा प्यारो उसको निद्रा थियो। तर जो मान्छेसँग मैले उसको कारण बिहे त के साथीको सम्बन्ध नि तोडेकी थिएँ, उही मान्छे र उसको परिवार छोरीलाई कस्तो छ भनेर खबरको प्रतीक्षामा थिएँ।
त्यो रात म कहा बिर्सिन्छु, जुन रात म हस्पिटलको बेडमा आफ्नो बिरामी अवस्थाका कारण भन्दा पनि उसको त्यो व्यवहार सम्झेर सुत्न सकिरहेकी थिइनँ। त्यही रात जसलाई मैले आफ्नो प्रेमीको लागि छोडेको थिएँ, उसले मेरो लागि भनेर राति ११ बजे हस्पिटल आउनु, त्यस्तो चिसोमा बस्नु, त्यहीँ मस्त निद्रामा सुत्नु अनि बिहान उसको गुड मर्निङ के कामको? सायद त्यो रात अन्तिम भएको भए के हुन्थ्यो?
त्यो मान्छेलाई म भगवानभन्दा माथि राख्छु जसले बिना स्वार्थ, बिना लालच मलाई त्यति माया र स्याहार गर्छ। उसले मप्रति देखाएको त्यो माया देख्दा उसको मायामा डुब्न मन लाग्छ। उसको मलाई गुमाउने डर देख्दा, केवल उसकै हुन मन लाग्छ। तर म आफूलाई अचेल धिक्कार्ने गर्छु। मेरो रोजाइँ कसरी गलत भयो भनेर?
जसलाई म माया गर्छु, ऊ जस्तो त्यति गल्ती गर्ने मान्छेलाई कसरी माया गरिरहेँ? सायद जीवनमा धेरै पछुताउने छु। जसलाई म माया गर्छु, उसले आफूलाई मूड भाको बेला फोन, मेसेज गर्छ नत्र म हराए नि मतलब हुँदैन।
म दोधारमा छु। एकातिर मेरो प्रेम अनि अर्कोतिर जीवनभर खुसी राख्ने मान्छे। एकातिर मनले अर्कैलाई रोजेको छ, अर्कोतिर मनले भन्छ- तिम्रो लागि त्यो मान्छे सही छैन।
अचेल म उसको बोली नसुनी खाना खान सकिरहेकी छैन, के म ऊबाट टाढा भएर बाँच्न सक्छु त? तर मेरो मन चाहन्छ आफूलाई माया गर्ने मान्छे भने दिमाग भन्छ तिमी गलत गर्दैछौ। अब म दिलको सुनौं या दिमागको? आफैं दोधारमा छु।
उसले नि माया त गर्छ जस्तो लाग्छ तर त्यस्तो मायाको के काम जुन ऊ हरकसैलाई गर्छ! त्यस्तो व्यक्ति के आफ्नो जो हरकसैको हो! त्यस्तो मान्छे के काम जसमा मैले हाम्रो लागि सपना देख्छु, उसले आफ्नै लागि!
अनि एकातिर जसले मलाई आफ्नो भन्ने अधिकारसम्म पाएन जसले मलाई चाहन्छ तर मलाई पखेटा फिँजाएर उड्न दिँदैन, जसले मलाई सुखको महलमा राख्न सक्छ तर त्यो महलको चार कुनामा म आफूलाई बाँधेर राख्न सक्दिनँ।
के दुइटै मेरो जीवनमा जोडिएको मान्छे बेठिक छन्? के गर्दा ठिक के गर्दा बेठिक? यस्तो धेरै प्रश्न छन् जसको जवाफ अब मसँग छैन।
मान्छेलाई मायाले डुबाउँछ भन्छन्। धोका पाएर डुबाउँछ। मलाई यो अलमलले डुबायो। साँच्चीकै मलाई यो एकतर्फी र दुईतर्फी प्रेमले डुबायो।
डुबायो मलाई यो दोधारे प्रेमले डुबायो।