घाम-छाया दिन होस् या रात
यात्राको यो अविच्छिन्न यात्री
पुग्ने कहाँ हो अझै निर्क्योल छैन
हिँड्ने क्रम निरन्तर जारी छ
घुमाउरो गल्लीको बाटो।
केही पर उज्यालो झिल्का देखियो
तर अचानक बाटो मोडियो
त्यो झिल्का कहाँ गयो कुन्नि?
खोजी के हो भन्न अझै गाह्रो छ
हिँड्ने क्रम निरन्तर जारी छ
घुमाउरो गल्लीको बाटो।
नभेटेसम्म हिँड्नुपर्छ भन्थे
हिँड्ने केको लागि हो कुन्नि?
भेट्ने चिज कस्तो होला?
आफूले नजानेको बाटो हिँड्ने
वा उसले देखाएको बाटो
जति हिँडे पनि बाटो बाहेक
दोस्रो चिज भेटेको छैन
हिँड्ने क्रम निरन्तर जारी छ
घुमाउरो गल्लीको बाटो।
कति पटक म
जहाँबाट हिँडेँ त्यहीँ नै आइपुगेँ
आफ्नै यात्रामा अट्टाहास हाँसो फुट्दा
वरपर चिहाएँ
यात्री त अरु पनि छन्
हिँड्ने क्रम निरन्तर जारी छ
घुमाउरो गल्लीको बाटो।