विदेशबाट आएको नाति
ठाडै ‘हाई’ पो गर्यो
हामी बुढा भएका
हजुरबा हजुरआमालाई
न त आदर गर्नु छ
न त आशीर्वाद थाप्नु छ
नातिले बिर्सेछ
झुकेर ढोग्न।
गोडामा हेरेको त
धुलो लागेको जुत्ता
लगाएरै पसेछ कोठामा
नातिले बिर्सेछ
ढोका बाहिर जुत्ता खोल्न।
‘बाबु’ भन्दा बोल्यो नाति
जिब्रो बटारी-बटारी
अप्ठ्यारो गरी
हात, कुम, आँखाले हाउभाउ गर्दै
नबुझिने अङ्ग्रेजी मात्र
नातिले बिर्सेछ
नेपाली बोल्न।
त्यहाँ के खान्थ्यो कुनि
नाक, मुख खुम्च्यायो
भात र गुन्द्रुक देखेर
जुठै पो बस्यो सेलफोन हेर्न
नातिले बिर्सेछ
हात चुठ्न
कुल्ला गर्न।
व्यर्थै पठाइएछ विदेश
छोरा-बुहारीलाई
के-के न होला भनी
यो नातिले
जानेको जति
सबै बिर्सेछ
अब यसलाई कसरी सिकाउने?
झुकेर ढोग्न
ढोका बाहिर जुत्ता खोल्न
हात चुठ्न
कुल्ला गर्न
नेपाली बोल्न।
विदेशबाट आएको नाति
हामी बुढा भएका
हजुरबा हजुरआमालाई
न त आदर गर्नु छ
न त आशीर्वाद थाप्नु छ
नातिले बिर्सेछ
नातिले बिर्सेछ।