ठिंग उभिएको एउटा रुखको हाँगामा
आएर बसेका कौवा र गिद्धहरूको हुल
हल्लाए रुखको स्थिरतालाई
बेस्सरी हल्लिए मानिसहरू
आकाश र ताराहरू
फूल र गीतहरू
अस्तव्यस्त भयो पृथ्वीको अवयव
अव्यवस्थित समयको चेपारोमा
टुक्रिए पहाडका चुचुराहरू
भास्सियो नदीको गहिराई
माटो र ढुङ्गाहरू
भीर र चौतारीहरू
नङारेर अनुहारको स्निग्धतालाई
नचिनिने भएका जराहरू
उम्किन खोज्दैछन् अक्टोपसबाट
सुक्नलागे आँसुका थोपाहरू
केही आस्था र विश्वासहरू
जन्म र मृत्युहरू
जरा नमरुन्जेल रहन्छन् रुख
पानी र घामको छाया
पहाडको उच्चता
नदीका किनारहरू
गीतको सुरिलो स्वर
मानिस भएर बाँच्ने अदम्य शक्ति।