'यु गाइज ओ के?'
'वि निड वोन मोर पिचर, प्लिज,' रमेशले भन्यो।
'ब्लु बेरी फ्लेबर' मानवले थप्यो।
'स्योर! भन्दै एक बित्ताको फ्रक लगाएकी, खिरिलो कम्मर, मुरली ज्यान परेकी गोरी वेट्रेस, नीला आँखा हँसाउँदै टेबुलबाट प्लेटहरू उठाएर फर्की।
'कस्तो मिलेको ज्यान हुन्छ है यी गोरीहरूको,' फर्किंदै गर्दा रमेशले भन्यो।
'अब चाहिँ निप्पल ढाक्ने ट्युब र कम्मरमुनि एक बित्ताको टालो भए पुग्ने भयो केटीहरलाई,' उत्तमले गोरीलाई हेर्दै भन्यो।
सबैजना गलल हाँसे। आवाज अलि ठूलो भएर होला पारिपट्टिको टेबुलमा बसेका एक जोडीले टाउको घुमाएर उनीहरूतर्फ हेरे।
रमेशले पनि वरिपरि आँखा घुमाएर हेर्यो। त्यहाँ नब्बे प्रतिशतभन्दा बढी सेतो छाला गरेका जवान केटाकेटीहरू थिए। सबै जसो टेबुलमा युवकयुवतीको जोडी मात्रै देखिन्थ्यो। केटाहरू मात्रै भएको टेबुल सायद उनीहरूको मात्रै थियो।
'खानेमात्रै हो कि कतै जाने पनि हो?' उत्तमले विनयको आँखामा हेर्दै भन्यो।
'स्ट्रिप क्लब जाऔं न,' विनयले प्रस्ताव राख्यो। रमेश, उत्तम र मानव तिनै जनाले गिलास उठाएर चियर्स गरे। चेतनले भने गिलास उठाएर नठोक्याई पुन: टेबुलमै राख्यो।
'के हो तिमी जाँदैनौ?' रमेशले चेतनको आँखामा हेर्दै सोध्यो।
'तैट! नातिनातिना खेलाउनी बेला नांगो नाच? आफू त गइन्छ आफ्नै बुढीसँग लुट्पुटिन।'
त्यतिबेलै गोरीले एक जग लोकल बियर लिएर टेबुलमा राखी।
'यु गाइज नीड एनिथिङ एल्स,' उसले सबैलाई हँसिला आँखाले हेर्दै सोधी।
'वी विल कल यु लेटर' मानवले भन्यो।
उसले दुवै ओठ तनक्क तन्काइ र सेता दाँत देखाउँदै अर्को टेबुलतर्फ अघि बढी।
एकछिन सबैले आ-आफ्ना गिलासमा हेरे।
'जाने हो भने गइहालौं। घरमा केही बहाना पनि बनाउन पर्यो,' मानवले भन्यो।
रमेश, उत्तम, बिनय र मानव जाने निधो गरे। चेतन नजाने भयो।
बिल सबैले बाँडेर तिरे। बाहिर निस्केर सबैले बहाना बनाएर आआफ्ना बुढीलाई फोन गरे। कसैले काम गर्ने कम्पनीको तर्फबाट डिनर भएकोले घर आउन ढिलो हुन्छ भनेर कुरा मिलाए। कसैले के गफ दिए र कुरो मिलाए। गाडी त्यहीँ पार्क गरेर उनीहरू टाउन सेन्टरबाट गो ट्रेन चढेर युनियन स्टेसन झरे। सबैको लिडर थियो बिनय। उसलाई स्ट्रिप क्लबहरूको बारेमा राम्रो जनाकारी थियो।
'चाइनिज, जापानिज, देशी, गोरी, काली जो भन्छौ त्यही लैजान्छु,' बिनयले गफ दियो।
युनियन स्टेशनबाट योर्क कन्कोर्स हुँदै फ्रन्ट स्ट्रीटमा निस्किए। बाटोभरि ब्लु जे लेखेको नीलो टिसर्ट लगाएका मान्छेहरूको भिड थियो। उनीहरू भिडमा बिनयलाई पछ्याउँदै फ्रन्ट स्ट्रीटको बाटो पश्चिमतर्फ अघि बढ्दै गए।
बाटोको वारिपारिका क्लब हाउसबाट निस्केको चर्को म्युजिकले बाटो नै संगीतमय बनाइरहेको थियो। घरको भित्तोमा आड लगाएर कैयौ जोडीहरूले सुम्सुम्याउन र चुम्बन कर्ममा लीन भैसकेका थिए। लोअर जार्भिस रोडबाट दायाँपट्टि बाटो काटेर किङ स्ट्रीटको बार्बी डान्स क्लबभित्र छिरे उनीहरू।
डान्स पोडियममा गोरी केटीहरू अर्धनग्न अवस्थामा थिए भने यसको वरिपरि हेर्ने मान्छेहरू सभ्य तरिकाले बसिरहेका थिए। केटाहरू पनि एक एक वटा बियर हातमा लिएर पछाडिको टेबुलमा गएर बसे। सपक्क परेको पेट, पुस्ट छाती, न छोटो न लामो खुला छोडेको रातो कपाल, नीला आँखा गरेकी गोरी केटी स्टेजको पोलमा, म्युजिकको तालमा सर्प बेरिएझैं तलमाथि गर्दै थिई। शिरदेखि पाउसम्म एउटा एक पिस कपडा र हाई हिल जुत्ता मात्रै थियो। त्यो पनि हेर्दा हेर्दै खोलेर अगाडि फाली। मान्छेहरूले पररर ताली पिटे।
ऊ त्यो पोलमा निकै फूर्तिका साथ तलमाथि गर्दै गई। कहिले दुई खुट्टाले पोल च्याप्प समातेर वर्षातको डाले जुकाले झैं मुन्टो यताउति घुमाउथी भने कहिले पोलसँग लडिबुडी गर्दै दर्शकहरूतर्फ फर्केर फ्लाइङ किस गर्दै निच्च निच्च दाँत देखाउथी। सबैले पररर ताली पिट्थे। केटाहरूले पनि अरूले जसो गर्छन् त्यसै गरे।
'थुक्क यस्तो *** हेर्न ल्याएको यार?,' उत्तमले जंगिँदै भन्यो।
'के त, स्ट्रिप क्लबमा भजन कृतन हेर्ने?,' विनयले भन्यो।
'ऊ हेर त त्यो गोरीले लाइन मार्दै छे तँलाई,' विनयले उत्तमलाई देखाउँदै भन्यो।
'लाइन मार्ने मात्रै हो। छुन पाइँदैन। झुक्किएर छोलास् र जालस् जेलमा,' उसले थप्यो।
'हैट्, त्यो चाहिँ नगरौं हो,' विनयले भन्यो। एकछिनपछि उनीहरू बाहिर निस्किए।
रातको समय भएर होला प्रहरी भ्यानहरू जताततै देखिन्थे। उनीहरू जुनबाटो गएका थिए त्यही बाटो हुँदै युनियन स्टेसन फर्के। घर फर्कने अन्तिम ट्रेन छुट्न एक मिनेटमात्र बाँकी थियो।उनीहरूले टिकट काट्ने समय पनि पाएनन्।
मानवले भन्यो, 'चढौं यार! प्रहरीले कहिले टिकट चेक गरेको देखिँदैन।'
सबै जना फटाफट टिकट नलिई ट्रेनको डिब्बाभित्र घुसे। उनीहरूलाई राम्रैसँग नशा चढिसकेको थियो। चर्को चर्को स्वरमा बोल्दै थिए। उनीहरू सँगैको डिब्बामा बसेका धेरैजसोले उनीहरूलाई हेर्दै थिए। अर्थात् उनीहरूलाई डिस्टर्ब भएको संकेत गरिरहेका थिए। कतिपय उठेर उनीहरूभन्दा अलि टाढा गए।
हल्लै हल्लामा उनीहरू आफू झर्नुपर्ने स्टेसनभन्दा एक स्टेसन अगाडि पो पुगेछन्। त्यहाँबाट फर्कने ट्रेन थिएन। उनीहरू स्टेसनबाट बाहिर निस्के। नजिकै बाटोको छेउमा मान्छे सुतेको देखे। आपसमा केही खासखुस गरे र गलल हाँसे। सुतेको मान्छे जर्फ़राउँदै उठ्यो र उनीहरूतर्फ बढ्यो।
करिब छ फिट अग्लो त्यो मान्छेको कपाल गुन्द्रुकझैं खुम्चेको थियो भने अनुहार खैरा दाह्रीले ढाकेको थियो।
'स्टप, यु इन्डियन', ऊ जोडले चिच्यायो। उसको आवाज सुन्दैमा रक्सीको नशा पूरै उत्रियो। के गर्ने, के नगर्ने उनीहरूको दिमागले काम गरेन। उनीहरू त्यहाँबाट भाग्न खोज्दैथिए त्यो मान्छे कति चाँडो अगाडि पुगिसकेछ। जहाँको त्यही ठिङ्ग उभिए। टाढैबाट गाँजाको गन्ध हरहर उनीहरूको नाकैमा ठोक्कियो।
'गिभ मि क्यास', उसले दाइने हात बाक्लो ज्याकेटको पकेटमा हाल्दै भन्यो। उनीहरू अक्क न वक्क परे। त्यतिन्जेल उसले उत्तमको अनुहारमा एक मुक्का हान्यो।
'गिभ मि योर फ*** फोन,' भन्दै उसले सबैको फोन खोस्यो। उनीहरूले आफूसँग भएको क्यास पैसा जति जे जति थियो सबै दिए। यो हदसम्मको हर्कत हुनसक्छ क्यानडामा भनेर सोचेका समेत थिएनन्। उनीहरूलाई लाग्थ्यो यस्तो काम त सबै नेपाल भारततिर मात्र हुन्छ!
उनीहरूको फोन, भएको पैसा, मानबको महँगो घडी सबै उसले हात पार्यो र लात्तीले सबैलाई भुक्क भुक्क हानेर स्टेसनतर्फ लाग्यो। उनीहरू रातको बेला कहाँ रिपोर्ट गर्ने, के गर्ने निकै अन्योलमा परे। गाडी राखेको स्टेसनसम्म फर्कनको लागि उनीहरूले बस, ट्रेन केही भेटाएनन्। फोनबिना त उनीहरू कुहिरोको काग भैहाले। घरमा फोन गरून् भने कसैको नम्बर याद छैन। साथीहरूलाई बोलाऊ भने पनि कसरी बोलाउने। रूनु न हाँस्नु भए। हिँड्दा हिँड्दा उनीहरू हाइवेसम्म पुगे। अब उनीहरूलाई घरतिर जाने दिशा पत्ता लगाउन पनि गाह्रो भयो। जता हेर्यो उस्तै छ। कता जाने।
मानवले बाटोमा देखिने उबर/ट्याक्सी रोक्नको हात उठायो। तर कसैले पनि रोकेनन्। सबै अनलाइन बुक हुन्थे। उनीहरू हिँड्दै हिँड्दै एल्स्मेयर रोड आइपुगे। त्यहाँ आउन्जेलसम्म उज्यालो भैसकेको थियो। फाट्टफुट्ट बसहरू हिँड्न थाले। त्यहाँ बल्ल स्कारब्रो टाउन सेन्टर लेखेको बस देखे र चढे।
टाउन सेन्टर पुग्दा बिहानको साढे पाँच भैसकेको थियो। उनीहरूले घरमा खबर गर्नसम्म पाएका थिएनन्। कसैलाई मागेर फोन गरूँ भने पनि कुनैलाई पनि आफ्ना श्रीमतीहरूको फोन नम्बर याद थिएन। सबै फोनमा सेभ थिए। हतार हतार उनीहरूले गाडी हुइँकाएर घरतिर लागे। करिब घर पुग्न लाग्दै गर्दा गाडीको पछाडि हुपहुप गर्दै रातो बत्ती बालेर पुलिस भ्यान देखियो। उनीहरूले गाडी रोके। एकैछिनमा एक जना पुलिस हातमा नोट बोकेर उनीहरूको गाडीसम्म आयो। छातीमा क्यामेरा टाँसिएको युनिफर्म लगाएको पुलिसले झ्यालबाट भित्र हेर्यो। मानवले गाडीको झ्यालको सिसा तल झार्यो।
'यु गाइज आर ओभर स्पिडिङ्ग। क्यान आई ह्याब योर लाइसेन्स प्लिज' उसले भित्र चारैतिर आँखा डुलाउँदै भन्यो। केटाहरूको सातोपुत्लो उड्यो।
रक्सीले त उतिबेलै छोडेको थियो। कतै पुलिसले रक्सी पिएको पनि थाहा पाउने हो कि भनेर उनीहरूले ओठ मुख सुक्यो। दिन राम्रै रहेछ एक सय पचास डलरको टिकट थमाएर छोडिदियो। त्यसपछि घर पुगुन्जेल उनीहरूको आँखा बाटोमा भन्दा बढी स्पिडोमिटरमा बढी गयो।
घर पुग्नासाथ सबैको घरमा गनगन सुरू भयो।
'रातभरी नै मिटिङ चल्यो? फोन पनि उठाउन नपाइने कस्तो मिटिङ हो ?' मानबकी धर्मपत्नी, शिलाले सोधिन्।
'मिटिङ त राम्रै भयो। तर.….', मानब रोकियो।
'कस्तो तर हो ? अनुहार पनि पाति ओइलाएझैँ ओइलाएको छ। के भो ? धेरै धोक्यौ कि क्या हो?'
'कुरै नबुझी बिग्रेको रेडियो झैं ट्यार ट्यार नगर्न भन्या।'
'नयाँ खोजेर आएको भए भैहाल्थ्यो नि, कल्ले छेक्या छ र ? बुढीलाई ढाँटेर त्यै नयाँ खोज्न त हिँडेका हौला नि। मलाई थाहा छैन भनेको होला।'
(हैन यसलाई कसरी थाहा भयो हँ ? पक्कै पनि चेतनको काम हुन सक्छ।) अलि सुस्तरी बोल न। छोराछोरीले सुन्लान्?'
'छोराछोरीको डर लाग्ने मान्छे यसरी पात्तिएर हिँड्छन्। मै गैदिन्छु घर छोडेर। नयाँ रेडियो ल्याएर राख्नु नि यतै।' (ऊ सुक्क सुक्क गर्दै बाथरूमभित्र छिर्छे।)
छोराले बाबुको अनुहार पनि नहेरी कोठातिर जान्छ।
उता रमेशको घरमा पनि गनगन त भैहाल्ले भयो। तर अलिक सभ्य तरिकाले।
'फोन किन नउठासिएको राजा?' निर्मलाले आँखा मिच्दै सोध्छे।
'मिटिङ अलि कडा थियो। फोन उठाउनै मिलेन।'
'सकिएपछि एक कल त गर्नुपर्छ नि। कति मन आत्तियो? एकैछिनको मिटिङ भनेको मान्छे रातभरि हराउँदा।'
'फोन बिर्सेर आएछु। ट्रेन चढ्ने बेला पो बल्ल थाहा पाएँ।'
'हजुर फ्रेस हुनुस्, म हजुरको लागि ब्रेकफास्ट तयार गर्छु। भोक लागेको होला। केही खाएर सुत्नुस।' निर्मलाले रमेशको गालामा सुटुक्क चुप्पा गरेर किचनतर्फ लागि।
'हैन के अचम्म हुँदैछ। बुढी त झन् खुसी पो छे यार', रमेशले मनमनै विचार गर्छ।
उत्तमको घरमा पनि केही त हुनैपर्यो।
'रातभरी चल्ने कस्तो डिनर हो? उतै बसेको भए हुन्थ्यो नि, किन आएको त्यो कुच्चेको अनार देखाउन?', जानुकाले अनुहारमा एकतमासले हेर्दै भनिन्।
'सोरी, बुढी। तिमीलाई झुट बोल्दा आफ्नै खति भयो।'
'के को खती हो। मस्ती भए होला नि। गोरीको तिघ्रा हेर्न हैच गाको। हाम्रो फोन उठाउन पनि गाह्रो भयो। उज्यालो भएपछि घर चाहिने हैच नि।'
'धन्न बाँचेर आइयो बुढी। केटाहरूको तालमा यसो क्लबतिर घुसेको नराम्रोसँग फसियो?'
'ठीक्क भयो।'
'ट्रेनको झर्ने स्टेसन बिर्सेर गिल्डउड भन्ने ठाउँमा पुगिएछ। एउटा होमलेसले फोन, पैसा सबै उडायो।'
'राम्रो गरेछ गोरीको गाला चुस्न निस्केकालाई। अबदेखि मसँग लुसुक्क पर्दै सुत्न आउने हैन, भन्दिछु। मैले बेड पनि अलग अलग गरिसकेँ।'
'एकपल्टलाई माफ गरन यार। अर्को पल्ट गएँ भने तिमीलाई सँगै लिएर जान्छु, भएन?'
'हेर न अझै लाजसरम केही छैन।'
उत्तम नजिकै जान्छ र गालामा चुप्प मुइ खान्छ। त्यसपछि दुबैजना बेडरूमभित्र छिर्छन् र ड्याम्म ढोका लगाउँछन्।
एकमहिना पछि….
टिमहर्टन पार्किङ्ग लट। उत्तम र मानब हातमा टिम्हर्टनको कप समातेर गफ गर्दै हुन्छन्। मानवले चेतनलाई टेक्स्ट गर्यो तिम्हर्टनमा भेटौं भनेर। एकैछिनमा ऊ पनि त्यहाँ आइपुग्यो।
'रमेशको त डिभोर्स भएछ। तिमीहरूले थाहा पायौ ', उत्तमले भन्यो।
'मैले पनि हिजो सुनेको, तर मलाई त पत्याउनै गाह्रो भयो। त्यति धेरै मिले जस्तो देखिन्थ्यो। जैले टिकटकमा बुढाबुढीसँगै नाचेको पोस्ट आउथ्यो। घरमा जाँदा पनि मेरो राजा की राजा चल्थ्यो। के पो भएछ ?' मानवले भन्यो।
'दुवै जनाको जागिर राम्रै थियो। पोहोर साल घर पनि किनेका थिए। बाहिरबाट हेर्दा राम्रो देखिन्थ्यो। सबै इगोकै कारण त होला नि। थुप्रै छन् यहाँ आएर छुट्टीभिन्न भएकाहरू' चेतनले थप्यो।
'केटीहरू अलि अलि पैसो कमाउने भएपछि निकै इन्डिपेन्ड़ेन्ट भएको ठान्छन्। केही निउँ पाउन हुँदैन केटाको भेटेदेखिको गल्ती ओकेल्न सुरू हुन्छ। न बाउआमाको डर न सासूससुराको डर। अनि कसरी हुन्छ मेल,' मानवले थप्यो।
'केटाहरू पनि ठिसै छन् है कोही कोही त। घरको काम सब्बै बुढीले मात्र गरोस् भन्ठान्छन्। फुर्सद भयो कि हाम्रै पारा त हो नि कहिले टिम्हर्टन, कहिले भट्टी। ठ्याक्कै नेपालको पारा। कोही बोल्दा पनि बुढीलाई नोकर्नीलाई जस्तो हेपेर बोल्छन् भन्या। केटीहरूले बरा छोराछोरी पनि हेर्नु परेको छ। घरको सरसफाइ पनि गर्नु परेको छ। काममा पनि जानै छ। रिस पनि उठ्दोहोला नि,' उत्तमले भन्यो।
एक्कासि एम्बुलेन्स जोडसँग साइरन बजाउँदै टिम्हार्टनको पार्किङ्ग लटभित्र छिर्छ। टिम्हर्टनको मूलढोकामै एकजना करिब सत्तरी असि बर्षको जस्तो देखिने मान्छे बेहोस् अवस्थामा लडिरहेको थियो। सँगै थियो प्लास्टिक, ग्रोसरी ब्यागका पोकै पोकाले भरिएको गुडाउने कार्ट। तापक्रम माइनस आठ/ दश जति पुगेकोले चिसो पनि निकै बढेको थियो। सायद कसैले ९११ कल गरेर बोलाएको हुनुपर्छ। उनीहरूले त्यो मान्छेलाई उचालेर एम्बुलेन्सभित्र हाले। केहीबेरमा एम्बुलेन्स त्यहाँबाट एकोहोरो साइरन बजाउँदै निस्क्यो।
चेतन, मानब र उत्तम पनि त्यहाँबाट निस्के।
करिब एक महिनापछि सुदर्शनको छोराको बर्थडे पार्टीमा चेतन र मानबको भेट भयो।
'जानुकाले बुढाले अब्युज गर्यो भनेर केस गरिकी छ रे त,' चेतनले भन्यो।
'को जानुका ?' मानब ट्वाल्ल पर्दै चेतनको आँखामा हेर्छ।
' त्यै उत्तमकी बुढी यार। घरको काम सब्बै उसैले गर्थ्यो। बुढीलाई रेस्पेक्ट गर्नुपर्छ भन्दै आदर्शका कुरा गर्थ्यो। सोझालाई झन् हेप्छन आइमाईहरू', चेतनले गिलास टेबुलमा राख्दै भन्यो।
धेरैबेर त्यहाँ शून्यता छायो।
'एकछिन यता आउनुस न।', शिलाले मानवलाई हातमा समातेर बाहिर लैजान्छे।
शिलाको मुबाइलमा टिकटक भिडिओ थियो जानुकाको जसमा संगीतकार दिनेश ढकालको गीतमा जानुका र उत्तमले एक्टिङ गरेका थिए।
'कालो केशमा रेलीमै बाँधेको रिबन
तिम्लाई हेर्दै रेलीमै बिताउला जीवन।'
त्यतिकैमा पार्टी क्लोजिङ भयो। सबै घरघर लागे।
'तिमी पनि छोड यो टिकटक सिकटक बनाउन। कतै तिमीले पनि छोड्छौ कि भन्ने डर भयो। खाली लाइभ बस्दाबस्दै गायब हुन के बेर।'