हिमालबाट धे~रै टाढा भएपछि
हिउँसँग म नजिक हुन पुगेँ
यहाँ हिउँ देखिए पनि
हिमाल देखिँदैनन्
तर के गर्नु?
नेपालीलाई नेपालजस्तै हो
हिउँलाई हिमाल
थाहा छ
हिमाललाई जस्तो हिउँ कसैलाई सुहाउँदैन
तर के गर्नु?
हिमालमा हिउँ
र मात्रै 'हिउँ'´मा
धेरै फरक हुने रैछ
यहाँ हिउँजस्तै मान्छे भेटिन्छन्
हाम्रा शेर्पा जस्ता कोही देखिँदैनन्
शेर्पा हाम्रा हिमाल हुन्
तर के गर्नु?
यहाँ मलहरू छन्
मठहरू छैनन्
मार्ट लाग्छन्
हाट लाग्दैनन्।
राम्रो जे-जोसुकै भए पनि
प्यारो आफ्नो र आफ्ना हुन्छन्
प्याराहरूभन्दा टाढाको
अप्ठ्यारामा छु
टाढा हुने मन त थिएन नि
तर के गर्नु?
घरबाट टाढा
कसैको घरमा छु
देशबाट टाढा
कसैको देशमा
घरमा परिवार भएझैँ
देशमा सरकार हुन्छ
परिवार जत्ति आफ्ना लागि हुन्छ
सरकार त्यत्ति देशका लागि हुनुपर्ने हो
तर के गर्नु?
जरा ढलेपछि रुखको
चराझैँ उडेर जान्छ हाँगाको समय
मलको अभावले मरेको बिरुवा
भुइँमा लडेर आँफै मल बन्छ एकदिन
त्यस दिन के गर्नु ?