अलिखित समयदेखि
पिता–पूर्खाले रगत पसिनाले
माटो सिँचेर बनाएको
देशको एक सुन्दर स्वर्णयुगीन तस्वीर
आधुनिकताको गोडाले कुल्चिँदै
पाहुना लाग्न आएछन् 'दा भिन्सी' हाम्रो घर
त्यसबेला आमा
पिंढीमा बसेर मुस्कुराइरहनु भएको थियो
आमाका ओठमा
असारे भाका गाउँदै थिई कोइली चरी
सुसेली खेल्दै थिए धानका बाला
उग्राउँदै थिई काली गाई
खेत जोत्दै हुनुहुन्थ्यो बा
त्यही मौकामा धावा बोलेर
दा भिन्सीले लुटेर लगे
आमाको मुस्कान....
मलाई भेउ छैन अहिले
म कुन युगमा बाँचिरहेको छु
तर यति भन्न सक्छु
यतिबेला म अवलोकन गरिरहेछु
एउटा चित्रकला प्रदर्शनी
खाडीको भव्य प्रदर्शनी हलमा
जहाँ भित्तामा टाँगिएको छ मोनालिसाको तस्वीर
म देखिरहेछु मोनालिसाका यी ओठहरूमा
दुरुस्त छापिएका आमाका ओठहरू
जुन ओठहरूमा
पोखिन संघर्षरत छ मुस्कान
म कतै देखिरहेको छैन यी ओठहरूमा
गर्वले उचालिएको हिमाल अनि
शान्तिले बाँचिरहेको बुद्घ
केवल देख्दैछु
यी ओठहरूमा जड्वत टाँसिएर
चहराइरहेको मेरो देश
यीनै ओठको मौनतामा उभिएर
म यतिबेला प्रश्न गर्दैछु
नयाँ युगका चित्रकार
खलनायक दा भिन्सीहरूलाई;
कुन युगमा बाँचिरहेछु म अहिले?