देशले त अब सबै गुमायो
उच्च शिक्षा पढ्ने विद्यार्थी गुमायो
योसँगै भविष्यको कर्णधार गुमायो
कुशल वैज्ञानिक गुमायो
डाक्टर र इन्जिनियर गुमायो
कुशल शिक्षक गुमायो
कुशल शासक र प्रशासक गुमायो
कुशल नेतृत्व गुमायो
कुशल गृहिणी अनि किसान गुमायो
देशले त सबै गुमायो।
लावालस्कर विमानस्थलमा देख्दा
मनमा भुइँचालो चल्छ
मन अशान्ति र बेचैन हुन्छ
मन खिन्न र शिर अँध्यारो हुन्छ
उच्च शिक्षा हासिल गरेको छोरो
रोजगारी नपाएर भौतारिन्छ
सके युरोप र अमेरिकाको सपना देख्छ
नसके खाडी मुलुक देख्छ
यता सरकार त दंग छ
विमानस्थलबाट बाहिरिएका हजारौं सङ्ख्यालाई
गर्वका साथ टेलिभिजनको पर्दामा देखाउँछ
रेडियोमा सुनाउँछ
उसलाई थाहा नै छैन
अब त देशले सबै गुमायो।
गाउँघर शून्य छ
जन्ती र मलामीमा युवा छैनन्
खेती किसान कसले गर्ने?
बुढी आमा र बाको स्याहार कसले गर्ने?
समाजमा सामाजिक एकता छैन
उद्योग र कलकारखाना छैन
सबैतिर उजाड छ
कतै रौनक छैन
अब त देशले सबै गुमायो।
व्यवस्था परिवर्तन केका लागि?
राजनीति केका लागि?
केही सोचेका छौ?
केही सपना देखेका छौ?
केही योजना बुनेका छौ?
छौ त केवल
नेपाल आमाको पेटमा लात मारेका छौ
रेमिटेन्सले देश धानेका छौ
उद्यमशीलता र रोजगारी खै?
यी त सब तिम्रा नारा मात्रै हुन्
थाहा छ तिमीलाई?
देशले त सबै गुमायो।
अराजकता मौलायो
भ्रष्टाचार मौलायो
जताततै सेटिङ मौलायो
हत्या र हिंसा मौलायो
बलात्कारको घटना मौलायो
कुरीति र कुसंस्कार मौलायो
थाहा छ तिमीलाई?
अब देशले के गुमायो
देशले त सबै गुमायो।
धमाधम उद्योग र कलकारखाना बन्द हुँदैछन्
सपिङ कम्प्लेक्स सबै खाली छन्
व्यापार र व्यवसाय चौपट छन्
सत्ताको लागि मात्र लम्पसार पर्छौ
देश र जनतालाई कहिले हेर्छौ?
भाषण र नारा चर्का गर्छौ
दुई/चार जना अघिपछि राखेर
थपडी बजाउन लगाउँछौ
थाहा छ तिमीलाई?
साँच्चै तिमीले सबको उठिबास लगायौ।