आधा रातमा ब्युँझिएर चन्द्रमा
अनुहार हेर्न उठाउँछ शिर
अनि हेर्छ भित्तामा टाँगिएको सगरमाथामा
उसको अनुहारमा रहेको कोठीलाई
दाग देख्ने आँखाहरूमा
खोइ कस्तो डाह देख्छ कुन्नी?
शिर निहुराएर लुक्छ औंसी
रेडलाइट एरियामा भेट्छ सायद आफैलाई
ती आँखाहरूमा
पेड बलात्कारको दृश्य
रत्नपार्कबाट होटेलको कोठाभरि टाँसिन्छन् प्रत्येक रात
छातिभरि अघिल्लो रातको कालो याद बोकी
पवित्र बगिरहन्छ बागमती
पशुपतिनाथको काखै काख।
धुलाम्मे राजधानीको गल्ली चेपबाट
आँटी नआँटी निस्कन्छ एक आकाश बादल
हत्केलाभरि मान्छेको एक फोक्सो धुवाँ बोकी
सूर्य चुरोटको
सूर्य छोप्न उड्छ त्यो बादल
वर्षौं वर्ष सूर्य चुरोटको जुठो धुवाँ खाएर
ध्वाँसे सूर्यको निधारमा लेखिएको क्यान्सर
पढ्न पशुपतिनाथको आँगनैभरि बसेका ज्योतिषहरू
ठूला यज्ञ आयोजना गरी
दक्षिणा अठ्याउन आँतुर देखिएपछि
रित्तो गोजी छाम्दै लाग्छ सूर्य गाउँतिर
एक शरीर माटो खोज्न
त्यो रोगी सूर्यको व्यथा छातीभरि दुख्दै
घाउ बगिरहन्छ बागमती
पशुपतिनाथको काखै काख।
बाँझो खेत गाउँको
बुढो काँध बाउको
छाडेर बालापन खेलेको आँगन
चाउरी परेको काख आमाको
लाखौं लाख युवा पाइलाहरू
गरिरहेकाछन् यात्रा भोकको
काठमाडौंको होटेल चोक गल्लीभरि
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभरि
छरिएका आँसुहरू मेची महाकालीको
छातीभरि समेटेर
मौन बगिरहन्छ बागमती
पशुपतिनाथको काखै काख।