सरकार, म खान्छु गोली
क्षतिपूर्तिसहित घर-परिवारमा
रकम बुझाइदिनू भोलि
मेरो मूल्य म मरेपछि पाउने भए
आऊ सरकार
तिमी मृत्युको प्रचार गर
गल्ली-गल्लीमा पर्चा पुर्याऊ
आऊ सरकार
तिमी बम बारूद गोली बर्साऊ।
सरकार, तिमी आशाको व्यापार
अझै कति गर्छौ?
जब निराशाको ऋणले नै
मलाई दामासाही बनाइसकेको छ
अब भन मेरो जन्मको मक्सद
मेरै टाउकोमा ऋण बोक्नु
मात्र हो?
कि म नागरिक हुन पाउनु पनि हो?
स्वतन्त्र, समानता र सम्मान
जीवित हुँदा पाइनँ
अब दाहसंस्कारमा तिलाञ्जली भो
सरकार मलाई गुनासो होइन
स्वाधीनता राष्ट्रियताको नाराले
गास, बास, कपासको पनि त
उठिबास भो!
सरकार तिमीलाई श्रद्धाञ्जली दिन
कति हतार छ है?
मलाई पनि त्यस्तै हतार थियो
आमाको गुमेको मुस्कान जीवित गराउने
तिमीले मेरो आमालाई पनि
सदाका लागि मार्यौ
हेर सरकार तिम्रो लाचारिता फेरि
श्रद्धाञ्जली भनेर टार्यौ।
काठमाडौं त सपनाको सहर भनी आएँ
ए आमा!
अब पूरा हुन्छ रहर भनी आएँ
आमा मैले तिमीसँग मृत्युको अनुमति
मागे जस्तो भएछ
छोराले नभनी गयो नभन्नु है
मेरो सपनाको हत्यारा
म हुन सक्छु
मेरो काँधको
ऋण जिम्मेवारी र दायित्वको
हत्या यही सरकारले
गरेको त देखेकी छौ नि है?
हाम्रो नाफा-घाटामा त
एक-दुई रुपैयाँ थियो
सरकारले क्षतिपूर्तिको नाममा
मुनाफा देखाएको छ नि है?
आमा म प्रतीक हुँ लाखौं छोराहरूको
फरक यत्ति हो
कि म गोलीले मारिएँ
अरु यही देशका
बेथिती, बिसंगती, भ्रष्टाचार र
साहुको ऋणले
बाँचेरै पनि मरेतुल्य भएका छन्।
म रोजगार खोज्न
हिँडेको हुँ
थाहा थिएन
सरकारले पनि रोजगार नै
पूरा गरेको हो भन्ने
मेरो रोजगारको लक्ष्य साहुको
ऋण तिर्नु
र एकपेट खानु हो भने
सरकारको लक्ष्य
ज्यान लिनु हो रहेछ
फरक रहेछ मेरो लक्ष्य र
सरकारको लक्ष्यमा
ऊ मृत्यको हिसाब गर्छ
म मृत्युभन्दा अगाडि आउने
हिसाबकिताब गर्छु!
आज सबै व्यापार गर्छन्
अखबार पार्टी समाचारको
व्यापार गर्छ
दलले घोषणा पत्रको
सरकारले नागरिकको इच्छाको
अनि देशले
दिनहुँ दिन समस्याको!