म यशोधरा, शाक्य साम्राज्यकी कुल बधु, साम्राज्ञी
कोइली घरानाकी राजकुमारी
एउटी सफल विणा वादिका।
मैले भर्खरै जन्माएकी छु
तिलौराकोटको भविष्य
कोलीय ग्राम देवदहकी राजकुमारीले
गौतम साम्राज्यको युवराज्ञी स्विकारेर
भर्खरै जन्माएकी छु नयाँ राजकुमार।
यसले ठूलो भएपछि ठुलै अक्षरमा लेख्नेछ
बाउको नाम– सिद्धार्थ गौतम
यसकी आमा म हुँ भनेर थोरैले चिन्ने छन्
र पनि ममा कुनै लोभ छैन।
जब सिद्धार्थले बुद्ध बन्ने बाटो रोजे
मेले पहिले देखाइनँ राजसी तामझाम र नोकझोक
मलाई थाहा थियो युवराज्ञीको अधिकार
जब आफ्नै लोग्ने राजा बन्न खोजेनन्
तब पहिल्यै मन लागेन मलाई आफू रानी बन्न
तर पनि अजीव हुँदो रहेछ स्नेह, इख र जिम्मेवारी
मलाई जसै बनाउनु थियो राहुललाई तिलौराकोटको महाराजधिराज।
मैले सम्झिरहेकी छु त्यो साँझ
जब कन्थकलाई तयार गरेर छन्दकले मेरो खोपी सन्देश लिएर आए
मुक्तिमार्गको खोजीमा गृहत्याग गरी वनप्रस्थान गर्नुअघि सिद्धार्थ
आफ्नो छोराको दर्शन र आशिष वचनको लागि आउँदैछन्
मैले जानीजानी हत्केलामाथि आँचल राखेर छेकेकी हुँ राहुलको अनुहार
नदेखून् भनेर उसको बाउले
सिद्धार्थलाई बुद्ध बन्ने मार्गमा विचलन नआओस् भनी
मैले बुद्धलाइ भोग्न नपाए पनि मनग्गे भोगेकी हुँ सिद्धार्थलाई
मैले जहाँ भए पनि प्रेम गरिरहें उनलाई
उनले जंगलमा तपस्या गरे
मैले दरबारमा गरें
उनले जस्तै एक छाक खाएँ
भुइँमा सुतेँ
चिवर लगाएँ
म उनीसँग थिइनँ तर उनीसँगै थिएँ
उही धराकी यशोधरा
पति वियोगका योगहरूले पुरिँदै गएँ
खै किन-किन पछि-पछि
मन बिग्रिँदै गयो
बुद्ध बनेका आफ्नै पतिलाई भेट्न मन लागेन
सुन्नै मन लागेन धर्म देशना।
महाराज शुद्धोधन आज एउटा राज आज्ञा जारी गर्नूस्
अब उप्रान्त यस राज्यभित्रका
कुनै पनि लोग्ने मान्छेलाई
बुद्ध बन्न राहुल त्याग्ने अधिकार हुने छैन।