नशामा मग्न छ साँझ आज
मियो हराएको हलोजस्तै
जथाभावी मग्न बनिरहेछ
जीवन भुलेको रागजस्तै
कस्तो मग्न छ गगन आज
नशामा उम्लिएको भान जस्तो।
अनुभव छैन, अनुभूति छैन
जीवन हराएको रागजस्तै
साँझ आज उन्मत्त मात्तिएछ
जवानीमा उम्लेको वैँशजस्तै
जीवन के हो सम्बन्ध के हो
नशामा चुर छ साँझ आज।
प्रेम र व्यथा अनुभव छैन
संसारको कुनै अनुभूत छैन
नशा छ केवल मध्य साँझमा
अनन्त जीवनको मध्य नशा
आफैमा पुलुकित छ जीवन
साँझ नशामा मग्न छ जीवन।
नशा हो साँझ नशामा छ जीवन
साँझ मस्त मग्न बनिरहेछ नशामा
नशाझैं नयाँ बनिरहेछ हरेक साँझ
न कुनै चिन्ह छ, न कुनै पदचाँप
सब मग्न मदन छ मस्त साँझ
निराकार निर्वाण छ आज साँझ।
न कुनै आवाज छ आज, न त स्वार्थ
न कुनै पीडा छ, न कुनै प्रतिस्पर्धा
न त खुसी छ, न त कुनै चिन्ता छ
न कुनै छ प्राप्ति, न कुनै छ त्याग
स्वच्छन्द छ साँझ आज नशामा
आफैमा मग्न छ हरपल उत्सर्गमा।
नशामा उम्लिएको छ साँझ आज
जीवनशैलीको एउटा स्वतन्त्र नशामा
हरपल समयसँग जीवन जुधिरहेछ
मानौं जीवन आफैंमा प्रश्नहरूको नशामा
समयसँग लम्पसार उत्तरहरू खोजिरहेछ
सम्बन्धहरूको नशामा मग्न छ साँझ आज।