'सार्वभौमसत्ता सम्पन्न जनता, जनताको सरकार, मानव अधिकार, कानुनी राज्य...।'
राजनीतिक परिवर्तनसँगै अधिकार प्राप्तीका गगनभेदी स्वर बुलन्द हुन थाले देशमा।
परिवर्तन आफैंमा प्रगतिशील आयाम हो। जो अपार सम्भावना बोकेर आएको हुन्छ – आशावादी बन्दै गएँ म पनि।
कमैया मुक्ति – राजनीतिज्ञहरूका लागि बलियो नारा; पत्रकारहरूका लागि गतिलो खुराक; मानव अधिकारवादीहरूका लागि बहसको सर्वोत्तम विषय मिल्यो।
सडक तात्यो, क्रमशः सदन पनि।
कमैयाहरू समेतको सहभागितामा विभिन्न सभा, सम्मेलन भए, गरिए।
'विधिको शासनमा कोही सानो, ठूलो हुँदैन। आजको २१ औं शताब्दीमा समेत मानिसले मानिसकै दास बन्नुपर्ने, बँधुवा बस्नु पर्ने? यस्ता कुरीतिको अन्त्य गर्नेछौं हामी। कमैयाहरूलाई मुक्त गर्नेछौं,' मञ्चबाट घोषणा गर्यो कसैले।
सभास्थलमा तालीको गड्गडाहट गुञ्जियो। उसका अभिव्यक्ति हुबहु सदर गयो भिडले।
सरकार बिउँझियो सायद। कमैयाहरूको स्थलगत अध्ययनका लागि आयोग गठन गर्यो। सुझावसहित प्रतिवेदन पेस गर्ने जिम्मेवारी सुम्पियो।
आयोगले निर्दिष्ट समयावधिभित्रै आफ्नो जिम्मेवारी पूरा गर्यो। अध्ययन प्रतिवेदन पेस गर्यो।
'स्वतन्त्रता मानिसको नैसर्गिक अधिकार हो। समानता कानुनी राज्यको अवधारणा। आजको सभ्य समाजका लागि बँधुवा प्रथा कदापी स्वीकार्य छैन। देशभर जो जो बँधुवा राखिएका छन्, आजकै मितिदेखि मुक्त भएको घोषणा गरिन्छ' – रेडियो, टेलिभिजनले सरकारको घोषणा पढे।
अखबारहरूले त्यही लेखे।
राजनीतिज्ञ, मानवअधिकारवादी, पत्रकार, स्वतन्त्र बुद्धिजीवी सबै सबैले यसलाई आफूहरूको समेत जीत ठाने। हर्षित देखिए। हामी मुक्त कमैया हर्षित नहुने कुरै भएन।
जमिनदारहरूका पञ्जाबाट फुत्कियौं हामी। बेग्लै संसार देखे नयनहरूले पर, सुदूरमा। अत्यन्त सुन्दर। काल्पनिक। जीवनमा पहिलो पटक उन्मुक्त सास फेर्यौं हामी कमैयाहरूले। यसो भनौं, मुक्त कमैयाहरूले।
स्वतन्त्रताका गीत गायौं। समानताका गीत गायौं। मुक्तिका गीत गायौं। हो, आफ्ना गीत गायौं। उत्सव मनायौं।
***
सदाझैं राप्ती किनारमा साँझ ओर्लियो। छिप्पिँदै गयो क्रमशः।
बेलुकी के खाने? खै ओत लाग्ने ठाउँ? – छिप्पिँदो साँझसँगै छानो र मानोको वास्तविकताले चिमोट्यो हामीलाई।
न हाम्रो छानो थियो, न मानो। मुक्तिपछिको पहिलो रात चौतारोको बर पीपलमुनि बितायौं हामीले, भोकभोकै।
उमेर पुगेका आफूजस्तै नवयौवनाहरूलाई हेरेँ मैले। अनि विद्यालय जाने उमेरका कलिला नानीहरूलाई। अँध्यारो वर्तमानले नराम्ररी चिमोट्यो मलाई।
खै कमाइ गर्ने जमिन? भोको पेट कसरी पाल्ने? दैनिक गर्जो कसरी टार्ने? औषधि उपचार कसरी गर्ने? – परेलीका डिलहरू भरिएर आए। पुछेँ, कसैले नदेख्ने गरी।
खै हाम्रा लागि आयआर्जनका वैकल्पिक व्यवस्था? खै जीविकोपार्जन अनि पुनःस्थापनाका योजना? – दिनहरू कष्टपूर्ण बनेर बित्दै गए, खुला आकाशमुनि। अभावबीच। असुरक्षाबीच।
हामीले वर्षौंदेखि खनजोत गरेका जग्गामा लाग्ने मोहियानी हक खै? यी सब सुनिश्चित गर्ने दायित्व कसको? खै सरकार कहाँ छ? यो घोषणाबाट कमैयाहरू लाभान्वित भए, या सामन्तहरू? यो गरिबहरूको उत्थान हो, या सामन्तहरूको? के यो सब सामन्तहरूलाई उन्मुक्ति दिने प्रपञ्च हो, षड्यन्त्र? यो राजनीति हो या कूटनीति? यस्ता अंकगणित कसरी बुझ्नु मैले?
वैकल्पिक व्यवस्थाबिनाको यो मुक्ति स्वीकार गर्ने कि, पुनः जमिनदारहरूकै जग्गा कमाइ गर्न फर्किने? दासत्व स्वीकार गर्ने? गाँस, बाँस, कपासले पिरोल्यो हामीलाई। मुक्तिसँगै। स्वतन्त्रतासँगै। फेरि।
पर जमिनदारहरूको बस्तीतिर दौडिए नजरहरू। देखेँ, सिंगो बस्ती निदाएको छ, हाम्रा पीडादेखि बेखबर।
मन बेचैन बन्दै गयो, अस्थिर। दुख्यो। घाइते नजरहरू आकाशतिर उचालिए। दिनमा निर्मल निलो देखिने आकाश कालो देखिएको छ यतिखेर, मायावी।
आकाशको छातीमा टाँसिएको त्यो चन्द्रमा हेर, कति निरीह!
अत्यास भरिएर आयो भित्रैदेखि।
राप्ती किनारमा बिहान पोखियो। उषाको लाली बग्दै गयो, कतै साँघुरो त कतै फराकिलो बनेर।
हर परिस्थिति चिर्दै चलायमान हुनु नै जीवनको सर्त हो, सायद। सौन्दर्य – सोचेछ मनले।
जीवनमा कहिल्यै ठूला सपना देखिनँ मैले। हर सुख, दुःखमा निःशर्त साथ दिने पति मिलोस्। बस्, यत्ति थिए जीवनका सपना।
के गरिबीले सपनाहरूको समेत नियोजन गर्छ, बन्ध्याकरण?
बीस वर्ष पूरा भएकी मात्र थिएँ। पल्लो गाउँको युवकसँग बिहे गाँसियो। गरिबीले थिचिएका हामीलाई एकअर्काका आलिंगनमा बेरिएर स्वप्नील संसारमा हराउने शौभाग्य कहाँ? मजदुरी गर्न निस्किन्थ्यौं सबेरै।
दिनहरू बित्दै गए। मध्य भदौ। झरी केही मत्थर भए पनि रोकिएको छैन।
ससुराबा अकस्मात बिरामी पर्नुभयो। नजिकको अस्पताल लगियो।
हृदयाघात भएको रहेछ, जाँच पड्तालपछि थाहा लाग्यो। डाक्टरले मृत घोषित गरे।
हाम्रो छहारी ढल्यो, गर्ल्यामगुर्लुम्मै।
***
मानिसहरूको आवतजावत बढ्न थालेको छ घरमा, अचेल। श्रीमानको भेटघाट बाक्लिँदो छ।
नव आगन्तुकहरू अभाव, बेरोजगारी निर्मूल पार्ने कुरा गर्थे। वर्गीय विभेद, असमानता हटाउने कुरा गर्थे। आर्थिक, सामाजिक, सांस्कृतिक समानताको कुरा गर्थे। राजनैतिक जागरणको कुरा गर्थे।
जनताको शासन व्यवस्था स्थापित गर्ने कसम खान्थे। दमन, शोषण, उत्पीडनरहित समाज निर्माण गर्ने प्रण गर्थे। शान्ति, सुव्यवस्था प्रत्याभूतिका कुरा गर्थे। अमनचयनका कुरा गर्थे।
उनीहरूका संवाद मेरा कानसम्म आएर ठोक्किन्थे। जसको गहिराई बुझ्ने सामर्थ्य ममा कहाँ?
'नयाँ मानिस आउन थालेका छन् घरमा, कहिल्यै नदेखेका। को हुन् ती?' खाना खाइवरी सुत्ने बेलामा श्रीमानलाई सोधेँ एकदिन।
'साथीहरू हुन्। राजनीतिक भेटघाटका लागि आएका,' छोटो उत्तर दिनुभयो उहाँले।
दिनहरू बित्दै गए। म दुई जीउकी थिएँ।
चैतको उखरमाउलो गर्मी। आकाश बैरागी देखियो, गेरू रङको। घाम क्षितिजपारि ओर्लियो, बिस्तारै। छेकियो।
उहाँ घर आइपुग्नुभएको थिएन। आँगनमा टहलिँदै थिएँ म।
विष्फोटनको ध्वनी गुञ्जियो आकाशमा, अचानक। धरती काँपिन्। शृंखलाबद्ध विष्फोट सुनिए, चारैतिर। मेरो मुटु हल्लियो, ठाउँ छोड्यो। हातगोडा लल्याकलुलुक भए, गले। ओठतालु सुक्यो।
पिँढी खाँबोमा अडेस लगाएर बसेँ।
देखेँ, पर प्रहरी चौकी गगनचुम्बी ज्वालामा परिणत हुँदै थियो। अझै पर जमिनदारहरूको बस्ती देखियो आगाका ज्वालामा लपेटिँदै गएको।
बस्तीहरू क्रमशः ध्वस्त हुँदै गएको हेरिरहेँ मैले। खरानी हुँदै गएको। निरीहतापूर्वक।
हातगोडा काँपिरहेकै थिए।
क्षणभरमै आगाका फिलिंगा मिल्किइरहेका देखिए, एकार्काका विपरीत दिशातिर। ती गोली हुनुपर्छ, सायद।
मानिसहरूको चित्कार सुनियो। जो बढ्दै गयो क्रमशः।
उहाँ अझै आइपुग्नुभएन।
'हे भगवान...', छट्पटी बढ्न थाल्यो। लाग्यो – मभित्रबाट प्राण निस्केर जाँदैछ।
राती ढोका ढकढकायो कसैले। तन्द्राबाट बिउँझिएँ। मुटु काँप्यो, हल्लियो। शिथिल हुँदै गएँ म।
'को हो?' मेरो कम्पित आवाज बोलेछ, थाहा पाएँ।
'म हो,' प्रतिउत्तरमा काँपेकै स्वर आयो। जो उहाँकै थियो।
दैलो खोलेँ।
मझेरीमा उभिएको मानिस देख्छु, रूप अर्कै छ। एकपत्र धूलोमा पुरिनुभएको थियो उहाँ। गोडाहरू काँपिरहेका थिए, भयानक सुनामीमा लपेटिएको बिरूवा जस्तै। आँखाहरूमा एकतमासको त्रास दौडिइरहेको।
खै ओठहरूमा फुल्ने त्यो मुस्कुराहट – मेरा परेलीका डिल भरिएर आए। पोखिए।
'के भयो हजुरलाई?' उहाँलाई समात्न पुगेछु।
उहाँका कम्पन मभित्र सरे, क्रमशः।
'बजारतिर थिएँ। विद्रोहीहरूले प्रहरी चौकीमा आक्रमण गरेछन्। जमिनदारहरूको बस्ती जलाइदिएछन्,' एकै सासमा बोल्नुभयो।
'समय यस्तो छ। हामी घर बस्नेलाई सधैंको पिर। बेलामा घर आउनुपर्छ,' यत्ति त भनेछु।
खाना खान के रूच्थ्यो? खाए जस्तोमात्र गरियो। त्रासबीचै कति बेला निदाइएछ।
सधैं जस्तै केवलपुर गाउँमा बिहान खस्यो। तर यो बिहान खुसी बोकेर आएन। उत्साह, उमंग ल्याएन।
जमिनदारहरूको बस्ती देखियो पर, आगोले मक्किएको। घरका भित्ताहरू ढल्दै गरेका देखिए। भत्केका छानाहरू झुन्डरहेका थिए, तुर्लुंग। भग्नावशेषबाट धुँवा निस्किरहेको थियो, निरन्तर, अकासिँदै गइरहेको थियो। धुँवासँगै डढेका वस्तु उडिरहेका थिए केवलपुरको आकाशमा।
समग्रमा एउटा दारूण तस्वीर देखियो सामुन्नेमा। मेरो मुटु चिसिँदै गयो। जम्दै गयो, बिस्तारै–बिस्तारै।
गाउँमा हतियारधारीहरूको मार्चपास देखिन थाल्यो, अप्रत्यासित। सिंगो बस्ती दिनप्रतिदिन आतंकित बन्दै गयो।
गाउँलेहरू रक्ताम्य हुने गरी कुटिन थाले। यातनाको शृंखला बढ्दै गयो। पक्ष-विपक्षका बिल्ला भिराएर निर्दोष मानिसहरूको इहलिला समाप्त गरियो।
गाउँलेहरू निस्सासिएका देखिन्थे, अत्यन्त चिसा, निरीह। आँखाहरूमा एकतमासको भय नाचिरहेको देखिन्थ्यो, द्वन्द्वको भय। मानिसहरू सम्साँझै घरभित्र छिर्थे। अघोषित कर्फ्युको त्रास जो व्याप्त थियो सबैतिर।
मान्छेले मान्छेसँगै त्रसित बन्नुपर्ने? खै एकअर्काप्रति भरोसा, विश्वास? कस्तो मुलुक, कस्तो बन्यो? समय किन यति अविश्वसनीय? मानिस किन यति सन्देहास्पद लाग्न थालेका?
खाना खाने समय भएको थियो, साँझ। आँगनमा मानिसहरूको पदचाप सुनियो। कान थापेँ मैले। पदचापहरू आँगनको मध्य भागनेर रोकिए। केही पदचाप क्रमशः छाप्रोको दायाँतिर मोडिए, केही बायाँतिर। केही मूलढोकातिर लम्किए। कानहरूले चाल पाए।
लाग्यो, हाम्रो छाप्रो उनीहरूको घेराबन्दीमा छ।
ढोकामा हान्यो कसैले। लात्तीले, सायद। मेरो मुटुमै लाग्यो, दुख्यो। ढोका ढप्काइएको मात्र थियो। खुल्यो। लगत्तै केही पदचाप गुटुटुटु भित्र छिरे। एउटा सशस्त्र समूह देखियो अगाडि।
मेरो शरीरभरि काँडा उम्रिए। कम्पन छुट्यो क्रमशः।
'सुखीराम भन्ने तपाईं नै हो?' श्रीमानतिर सोझिए तिनका नजर।
हाम्रो बोली जमिसकेछ, फुटेन। श्रीमानतिर हेरेँ मैले। उहाँको अनुहारमा भयको बादल पोतिइसकेको रहेछ।
'तपाईंसँग काम छ। हिँड्नुस् हामीसँग।'
उहाँलाई समात्न आइपुग्यो एउटा, यान्त्रिक गतिमा।
'बिन्ती उहाँलाई नलैजानुस्। छोडिदिनुस्,' याचना गरेँ मैले। बुढीआमा पाउ पर्नुभयो।
हाम्रा पुकारा कसले सुन्ने?
'उहाँसँग केही सोधपुछ गर्नु छ। सोधपुछपछि, एक-दुईदिनमै फर्काइदिन्छौं,' जाँदा जाँदै बोल्यो कोही।
उहाँलाई लगेको निरीहतापूर्वक हेरिरह्यौं हामीले। भरिएका आँखाले दृश्यहरू धमिला देखे। आमाले पनि धमिलै देख्नुभयो कि सायद।
दिन, हप्ता गर्दै महिना बिते। उहाँ फर्केर आउनुभएन। न उहाँको खबर नै आयो।
पर्खाइका पलहरू कति कठोर हुन्छन्, भोग्नेलाई बाहेक अरूलाई के थाहा?
डाँडामाथिको घाम बनिसकेकी बुढी आमा। उदास अनुहार, विक्षिप्त। जीर्ण शरीर दिनप्रतिदिन गल्दै गइरहेको थियो।
छोरो बेपत्ता भएको तेस्रो महिनामा अन्तिम सास फेर्नुभयो आमाले। बाँकी बँचेको मेरो एक मात्र छहारी खोसियो। सहारा खोसियो। बाँच्ने आधार खोसियो।
एकपछि अर्को गर्दै मेरो जीवनका लय खोसिए। गति खोसिए। रङ खोसिए। ऊर्जा खोसिए।
घटनाक्रमहरू किन यति बिघ्न अनपेक्षित? जीवन किन यति अत्यासलाग्दो, नीरस? किन यति अवोधगम्य, दुरूह?
गहिरो अवसादबाट गुज्रिँदै गएँ म।
यस्तो अनिश्चित जीवन बाँच्नुको के अर्थ? खण्डहर। वीभत्स – सोच्थेँ घरीघरी।
मर्न पनि त कहाँ सकिँदो रहेछ र? लाचार म सम्झौता गर्दै गएँ, समयसँग। आफैंसँग। मृत्युसँग।
आवाजविहीनहरूका लागि भनिएको क्रान्ति, उनीहरूकै आवाज किन दमित फेरि? हाम्रा पीडा कसले बोलिदिने? आवाज कसले बुलन्द गरिदिने? खै, हाम्रा सुस्केरा बिसाउने ठाउँ? मुटुमा परेको गाँठो फुकाउने ठाउँ?
'उत्तर कोसँग मागूँ?
***
उहाँ बेपत्ता भएको पनि चार महिना बितेछ।
प्रसूतिको समय नजिकिँदै थियो। उहाँको आवश्यकता अझ बढी महसुस हुन थाल्यो। एकातिर उहाँको अभाव, अर्कोतिर भोलि जन्मिने शिशुको जिम्मेवारी। लाग्थ्यो, म उठ्नै नसक्ने गरी थिचिँदैछु।
जीवन अँध्यारो लाग्थ्यो, निस्पट्ट।
अँध्यारोमै पनि त मानिस बाँच्दो रहेछ, आँशु पिएर। समय बलवान रहेछ। घटनाक्रमहरूलाई अँगाल्दै गएँ, विवशतापूर्वक। अझ यसो भनुँ, अभ्यस्त बन्दै गएँ।
उज्यालो भइसकेको थिएन। भाले बासेको सुनियो, पर। पेट दुखे जस्तो भयो।
'दिदी...' चिच्याएछु, रनाहामा।
'के भयो कान्छी?' ठूली दिदी आइन्, पल्लो घरकी।
'बेथा लागेछ,' मेरो छट्पटी देखेर आफैंसँग बोलिन् दिदी।
सुनेँ।
छट्पटी बढ्दै गयो। आफैंसँग संघर्षरत तन। सासै रोकिएला जस्तो हुने, फुत्किएला जस्तो। यो शृंखला चलिरह्यो, अत्यन्त पीडादायी बनेर।
अब बाँचिन्न कि – पटक पटक सोच्यो मनले। ज्यानको आश मार्यो।
'दिदी...' जोडसँग चिच्याएछु, छट्पटीबीचै। संघर्षकै दौरान।
शरीर एक्कासि शान्त भयो, शिथिल, स्थिर। लाग्यो, समय टक्क अडिएको छ। जहाँको त्यहीँ रोकिएको छ।
'छोरो जन्मियो,' दिदी बोलेको सुनेँ।
शिशुको पहिलो रोदन गुञ्जियो कानमा। परेली भरिएर आए। बगे। आँखा चिम्लिएँ। आँशुका भेल के छेकिन्थे, बगिरहे।
दैलोबाट छिरेको घामले न्यानो पोख्यो, तनभरि। आँखाहरू डुलाएँ, वरिपरि। दृश्य परिदृश्य स्पष्ट देखिँदै गए, उज्याला।
आज उहाँ हुनुभएको भए – श्रीमानको अभाव अझ बढी महसुस गर्यो मनले।
सन्तान प्राप्तीको खुसी उहाँसँग साट्न पाइनँ मैले। प्रसव पीडा भुलेर मुस्कुराउन पाइनँ। उहाँको अँगालोमा बेरिन पाइनँ। हाम्रो प्रेमको निशानी उहाँको काखमा राखिदिन पाइनँ, सुम्पिन पाइनँ।
दिनहरू बित्दै गए।
छोराको मायामा हराउँदै गएँ म। आफैंलाई भुल्दै गएँ। उसको निश्छल मुस्कानमा आफ्ना जीजिविषा अंकुराउँदै गएका देख्न थालेँ।
सुखद सम्बन्धहरू नै त रहेछन्, सायद, मानिसभित्र आशा जगाउने। बाँच्न उत्प्रेरित गर्ने। मभित्र बाँच्ने चाह पुनः पलाउन थाले। सलबलाउन थाले। हो, सजीव बन्दै गए।
***
उहाँ बेपत्ता भएकै वर्ष जन्मेको छोरो बाइसौं बसन्तमा हिँड्दैछ आज। युवक भएको छ।
हरेक वर्ष जस्तै यस वर्ष पनि विश्व बेपत्ता विरूद्धको दिवस आयो, पीडा बोकेर। तर, उहाँ आउनुभएन।
उहाँ बेपत्ता भएपछिका कुनै वर्ष हाम्रा आँगनमा दसैं आएन, तिहार झरेन। हर्ष, उल्लास छाएन। छायो त केवल विस्मातको तुँवालो मात्र।
आज पनि यो मन उस्तै छ, दुखेको। बिह्वल। भिजेका परेलीहरूले उहाँको बाटो हेर्न छोडेका छैनन्। घरतर्फ बढ्दै गरेका हरेक मानिसमा उहाँको प्रतिबिम्ब खोज्न छोडेका छैनन्।
उहाँको सम्झना बोकेर छट्पटाइरह्यौं हामी, सदैव। आज पर्यन्त। एउटा अत्यासलाग्दो जिन्दगी बाँच्न अभिशप्त भयौं, उजाड। विशादपूर्ण। न खुला हावामा सास फेर्न सक्यौं, न निर्धक्क निदाउन।
उहाँ अब फर्किनु हुन्न भन्ने कुरा हाम्रा मनले अझै पनि पत्याउन मानेका छैनन्। पत्याउन पनि कसरी? उहाँ न बेपत्ताको सूचीमा हुनु हुन्थ्यो, न सहिदको सूचीमा।
सन्तापको यो भूमरीमा आखिर कहिलेसम्म पिल्सिइरहने, पीडा बोकेर? अनिश्चितताबीच कहिलेसम्म तड्पिइरहने, चोट खेपेर? मेरो श्रीमानको के गल्ती थियो? मैले आजसम्म बुझ्न सकेकी छैन।
हामीले जीवनको सहारा गुमायौं। आखिर के पायौं? जीवन कष्टपूर्ण बनेर बित्यो, अभावै अभावबीच।
व्यवस्था त फेरियो। तर, खै आम नागरिकको अवस्था फेरिएको?
देख्छु, आज पनि हिजोका समस्या जस्ताको त्यस्तै छन्। रोग, भोक, गरिबी, अभाव, बेरोजगारी उस्तै छ। विभेद, असमानता ज्युँकात्युँ छन्।
खै साधनस्रोत, अवसर र अधिकारको न्यायोचित वितरण? स्वास्थ्य, शिक्षा जस्ता आधारभूत आवश्यकतामा आमनागरिकको पहुँच कहिले पुग्ने? उपचारको अभावमा मानिसहरूले कहिलेसम्म अकाल मृत्युवरण गरिरहनुपर्ने? लोकतन्त्रको फल सीमित व्यक्तिहरुको घेरा बाहिर पुग्ने कहिले? जनताको सर्वोच्चता कायम हुने कहिले? आमनागरिकको जीवनस्तरमा सुधार आउने कहिले? परिवर्तनको अनुभूति गर्न कहिले पाउने?
जनजीवन किन झन्झन् असहज बन्दै गइरहेको, दुष्कर? बिग्रिन, भत्किन अब केही बाँकी छ देशमा? तमाम निराशा एवम् वितृष्णाको सम्बोधन गर्ने दायित्व कसको? राज्य किन यति अनुत्तरदायी, किन कानमा तेल हालेर बसेको? खै विधिको शासन?
के राज्य संयन्त्र निस्प्रभावी बन्दै गइरहेको हो?
खोक्रा आश्वासन, उत्तेजक भाषण बाहेक अरू के दिए राजनीतिज्ञ भनिएकाहरूले? विपक्षी दलको सत्तोसराप गर्नु मात्रै उनीहरूको राजनीतिक अभिष्ट हो?
दलहरू किन यति विद्रुप बन्दै गइरहेका? कुरूप? फोहोरी? खै देश विकासको स्पष्ट नीति, खाका, योजना, रणनीति?
खै निःश्वार्थ राजनीतिक संस्कार? संस्कृति? पद्धति?
कोमाथि आश गर्ने यहाँ? कसको विश्वास गर्ने?
हेर, विश्वासको क्षयीकरण।
के हजारौं सपुतहरूको बलिदानी खेर गएको हो? लोकतन्त्रका लागि बलिदान हुन लालायित लाखौं योद्धाहरूको मानमर्दन भएको हो? अझै कतिको बलिदानी खोजेको?
राजनीतिलाई किन फोहोरी खेल भनिएको, बुझ्दै छु अचेल, बल्ल।
आज यस्तो लाग्दैछ, राजनैतिक वृत्तमा जनप्रतिनिधि होइन, नयाँ शासक आए। हामी उनैबाट शासित हुन अभिशप्त भयौं, फेरि। प्रयुक्त भयौं। सत्ताप्राप्तीका भर्याङ बन्यौं।
जीवनको यस मोडमा आइपुग्दा लाग्यो, मानिस स्वयं आफ्नो भाग्य निर्माता रहेछ। कोही कसैले हाम्रो जीवनमा समृद्धि ल्याउने होइन रहेछ। लगन, सत्कर्म, दृढ इच्छाशक्ति समृद्धिका मूल मन्त्र रहेछन्। आत्मबल लक्ष्यसम्म डोर्याउने सारथि रहेछ, शक्ति।
जीवनका कठिन मोडहरूमा समेत मैले हिम्मत हारिनँ। आत्मबल कमजोर हुन दिइनँ। मनोबल गिर्न दिइनँ। धर्म छोडिनँ। सत्कर्म छोडिनँ।
नियतिले डामिएकी मैले दुःखको पहाड थामेरै छोरो हुर्काएँ, बढाएँ। पढाएँ।
मै कमजोर बनेको भए छोराको के हविगत हुन्थ्यो? भविष्य के हुन्थ्यो?
छोरोले आफू जन्मेको माटोलाई समृद्ध बनाउने अठोट लिएको छ। हो, उद्यमशील बनेको छ। कृषि कर्मलाई आफ्नो पेसा बनाएको छ। तरकारी खेतीसँगै कुखुरा, माछा, बंगुरपालनलाई व्यावसायिक आकार दिएको छ। आफू जस्तै द्वन्द्वपीडितहरूलाई रोजगारी दिएको छ।
ऊ भन्ने गर्छ –
'क्रमभंगता नै क्रान्तिको पहिलो खुड्किलो हो। क्रमिकतालाई चुनौती दिने मान्छे खोजेको छ आज समयले, समाजले। यो जिम्मेवारी हामी युवाले नलिए कसले लिने?
मानिसले आफू उभिएको धरातललाई प्रेम गर्नुपर्छ। गर्व गर्नुपर्छ। आफ्नै माटो समृद्ध बनाउने संकल्प गर्नुपर्छ। त्यहीँ सपना रोप्नुपर्छ। फुलाउनुपर्छ, फलाउनुपर्छ।
माटो समृद्ध बने जनता समृद्ध बन्छन्। जनता समृद्ध बने समाज समृद्ध बन्छ। गरिबी, अभाव, बेरोजगारी स्वतः परास्त हुन्छन्, पराजित। देश समृद्धिको यात्रामा लम्किन्छ।
साँचो अर्थमा, यही नै क्रान्ति हो, नयाँ युगको सुरूआत। यसैमा सम्पन्नता फुल्छ, फक्रिन्छ। नयाँ बिहानी उदाउँछ, आशाका किरण बोकेर!'
छोराभित्रको देशप्रेम देखेर मेरा परेलीहरू छचल्किए।
खुसीका आँशु विजयी मनोविज्ञान हो – सोचेँ, लगत्तै।
एकल आमाका लागि योभन्दा अर्को सन्तुष्टि कुनै हुन सक्ला? गर्वको क्षण हुन सक्ला?
अगाडि उभिएको छोरालाई हेरेँ। मेरा अश्रुपुरित नेत्रहरूले उसलाई क्रमशः एकबाट दुई देखे, दुईबाट चार। चारबाट आठ। आठबाट सोह्र हुँदै असंख्य प्रतिरूपहरूमा देखे।
हेर्दाहेर्दै ती प्रतिरूप एकको पछि अर्को गर्दै लामबद्ध हुँदै गए। उद्यमशील युवाहरूको लामो लर्को देखियो परपरसम्म, आँखाका परिधिमा समेटिएसम्म। स्वदेशमै केही गर्नुपर्छ भन्ने ऊर्जाशील यी युवाहरू आ–आफ्नो तहमा रोजगारी सिर्जना गर्दै गरेका देखिए।
हो, मातृभूमिलाई समृद्ध बनाउने महान अभियानमा एक-एकवटा इँटा थप्दै गरेका देखिए।