जीवनको उत्तरार्धको
चिसो दिन
मधुरो सूर्यको तापमुनि
एकोहोरो सम्झनामा
फनफनी घुमिरहेको अतीत
सम्झनै सम्झनाको भेल
गडगडाएर बहिरहेछ
आखिर जीवन
सम्झनै सम्झनाको जालो त रहेछ नि
जति छुटाउन खोज्यो
उति नै जेलिँदै जाने।
साथीसँग पेट मिचिमिची हाँसेको सम्झना
असाध्यै मन दुखेर पनि
बाहिर अर्कै 'म' लाई जन्माएर
सिर्जेको सुन्दर सृष्टीको सम्झना
मनको कुनाबाट टुसाएको प्रेमको सम्झना
सम्झनै सम्झनाको सागरबीच
मुस्कुराएको कमलको सम्झना
निलो सागरमा तैरिरहेको प्रेमको सम्झना
सुनौलो किरणमा पोतिएको
स्निग्ध मुहारको सम्झना।
लाग्छ जीवन
सुन्दर, असुन्दर,
रमाइला, विरक्त लाग्दा
सम्झनाहरूको श्रृंखला त रहेछ नि
सम्झनाकै आकाश
सम्झनाकै तारापुञ्ज
सम्झनाकै धर्ती
सम्झनाकै नदी
सम्झनाकै दिव्यपुञ्ज
सम्झनाहरूको सुन्दर
सगरमाथा त रहेछ नि।
सम्झनाकै पोखरीमा
डुबुल्की मार्दा
चरम आनन्दको अनुभूति
इतिहास बनेको समय
सम्झन मात्र त सकिने
भोगाइको प्रतिबिम्ब
झल्किरहने आजै जस्तो
अनुभव त कता-कता छुटिसकेछ
समयले नेटो काटिसकेछ
हजारौं सूर्य उदाएर
गोधुलीमा बम्हलीन भइसकेछन्
आफ्नो प्रतिबिम्ब आफैं भित्र
साटिए झैं लाग्न थालेछ
जीवन-समाधी, समाधी भएछ।