कयौंको रहरले गर्दा
सहर भरिएको छ
तर छैनन् ती रहरमा भरिएका नहरहरू
कोही कामको खोजीमा भौतारिरहेका छन्
कोही दामको खोजीमा दौँतरिरहेका छन्
सहरको भर मानेर आएकाहरू
आज उहीँ सहरमा आफ्नो रहर पूरा नहुँदा
राखेर गाउँघरमा बाँझो आफ्नो खेतबारी
पलायन हुँदैछन् उहीँ खाडी
हो त्यहीँ खाडीमा आफ्नो नाडीले थेग्न नसक्ने
बोझ उठाउँदै
सुम्सुम्याइरहेछन् आफ्नो पुर्पुरो
मन गाउँ जाउँ भन्छ
बसौं भन्छ सँगै बुबाआमासँग
समाउँ भन्छ तातेताते गर्दै छोराछोरीको हात
शृंगारुँ भन्छ दिएर श्रीमतीलाई साथ
तर ऊ कसरी आआोस् गाउँ?
राखेर आफ्नो सपना अधुरो।
मसँगै हुर्केका, बढेकाहरू
संगै लेखपढ गरेकाहरू
आज छैनन् यो गाउँमा
आफू र आफ्नो जन्मेको ठाउँमा
मर्दा छैनन् लास उठाउने
बिरामी पर्दा छैनन् सास जुटाउने
विदेश गई सपना बुन्नेहरूले गर्दा
आजभोलि गाउँ शून्य छ
घर छ, नचुहिने छानो छ
गरे खेत कयौं मानो छ
उता ठूला महल होलान्
सपना देख्नेहरूलाई
यता एक तलाको घर सानो छ।