असारको महिना, आकाश घरी उज्यालिन्थ्यो त घरी बादलले धुम्म पारिहाल्थे। फिरफिर पानी परेर एकैछिनमा पुनः सूर्यको चमक चम्किहाल्थे। हरिया झारहरूले घेरेका बाटोहरू हिलाम्य थिए। खरका छानाले बारेका बस्ती असारको मेलोमा पारी खेततिरै व्यस्त थियो।
५/६ वर्षको बालक घरको पिँढीमा एक्लै खेलिरहेको छ। माइली छोरो सानेलाई घरमै छोडेर बिहानै मेला गर्न गएकी थिइन्। सानेले बिहानै आमाले राखिदिएको खाना खाएर एक्लै गट्टा खेल्दै बसेको छ।
गोलो घर, खरले बारेको। अगाडि माटोले लिपेको पिँढी। अझ अगाडि गोलाकार आँगन। आँगनको डिलमुनि बारीमा खुर्सानीका स-साना बोट्यान छन्।
साने आजकल प्रायः घरमा दिउँसो एक्लै हुन्छ। उस्की आमा माइलीलाई मेलो गर्न जान भ्याई नभ्याई थियो।
माइली उमेरले चालिस कटिन्। उनको खास नाम पार्वती परियार हो, माइलासँग बिहे गरेपछि उनी पनि माइली भइन्। उनको छोरो साने बिहे भएको पन्ध्र वर्षपछि जन्मियो। माइलाले गाउँमा दाउरा चिर्ने र खेत जोत्ने काम गरेर परिवारको गुजारा टारिरहेका थिए। माइलीले पनि अर्मपर्म गर्थिन्।
चरम गरिबीमा यो परिवार चलिरहेको थियो। माइला पटक-पटक मुग्लान जान्छु भनेर माइलीलाई भन्ने गर्थे। माइलीले जसो तसो यहीँ गुजारा गर्ने तर मुग्लान जाने कुरा नगर्नुस् भनेर जिद्दी गरेपछि माइलाले मुग्लान जाने कुरा गर्न छाडेका थिए।
एकदिन बिहानीको झिसमिसेमै घरको ढोका खुल्यो। माइली निद्रामा मस्त थिइन्। माइला सुटुक्क ढोका बाहिर निस्किए, उनको हातमा एउटा बाकस झुण्डिएको थियो। एकपटक माइलाले घरलाई चारैतिरबाट नियाले र परबाट आइरहेको उज्यालोतिर विलीन भए।
त्यही बेलामा माइलीको पेटमा साने थियो। माइलीले एक्लै सानेलाई जन्माइन् र हुर्काइन्। छ वर्ष भयो न माइला आउँछन् न उनको खबर आउँछ। कैयौं रात माइलीले श्रीमान सम्झिएर आँसुको भेल बगाइन्। उनको लागि सारा संसार माइला नै थिए। उनी बिनाको जीवन अन्धकार थियो।
पेटमा भएको बच्चातर्फ हेरिन् र अब आफ्नो बाँच्ने आधार यहीँ कोखलाई बनाउने निश्चय गरिन्। बेलाबेलामा पतिको याद आइरहन्थ्यो त्यही बीचमा साने जन्मियो। निकै कष्ट गरेर सानेलाई हुर्काइन्। माइलीलाई अब पतिको आश मरिसकेको थियो। सानेलाई नै जिउने आधार बनाएर बसेकी थिइन्।
साने ढुङ्गाको गट्टा खेलिरहेको छ। ऊ खेल्दाखेल्दै पट्टार मान्छ र पिँढीको कुनामा भएको जातोमा पुगेर पिसे जस्तो गर्न लाग्छ। भारी जातो चलाउन नसकेपछि पुन: अर्को कुनामा राखेको ढिकीनेर पुग्छ र आफ्ना साना खुट्टा ढिकीमाथि राख्छ। जति जोड गरे पनि मुसल भने हल्लिदैन। आँगनको माटो घरीघरी परेको पानीले सिथिल बनाएको थियो।
साने बिहानैदेखि आमालाई पर्खेर बसेको छ।
आज एकाबिहानै बस्तुलाई घाँस काटेर सानेलाई खाना बनाएर माइली मेला गएकी हुन्। कहिलेकाहीँ साने आमासँग मेलामा जान्थ्यो। पानीले रुझेर बिरामी हुन्छ भनेर माइलीले सानेलाई घरमै छाडेर गएकी थिइन्।
बादलको आकार र रङको परिवर्तनसँगै सेताम्य आँगन राताम्य हुँदै कालो भैसकेको थियो। मध्यान्नको पानी पर्नु पूर्वको चिसो हावासँगै सानेको मन पनि चिसो भयो। आमा अब त आउनु पर्ने उस्को पर्खाइ अब पट्यारलाग्दो थियो। पेट कटक्क भएर आयो तर यतिबेला कस्ले के पकाएर खान दिने? सानेलाई आफ्नी आमाप्रति रिस पनि उठ्यो। कति बज्यो? सानेलाई थाहा छैन उस्ले घडी हेर्न नजानेर हैन घरमा घडी नै छैन।
एकातिर हुर्किंदै आइरहेको अँध्यारो, अर्कोतिर भयंकर पानी पर्ने संकेत गर्दै चम्किरहेका बिजुली, पेटभरिको भोक अनि मनभरिको रिस सानेलाई अबको आमाको प्रतीक्षा उच्चाट लाग्दो थियो।
'आमा म पनि हजुरसंगै जान्छु,' सानेले बिहानै ढिपी कसेको थियो।
'हुन्न आज खोलापारि मेला गर्न जानपर्छ। फर्किने बेला पानी पर्यो भने गाह्रो हुन्छ। मैले घाँसको डोको बोक्ने कि तँलाई बोक्ने? घरमै ज्ञानी भएर बस्नू,' माइलीले सम्झाएर गएकी थिइन्।
एक्कासी चट्टान परेजस्तो गरेर गड्याङ्ग गर्यो। साने तर्सियो। हत्तपत्त कान थुन्यो तर उस्का साना औंलाले कति नै आवाज रोक्न सक्थे र? हिजोअस्ती भएको भए आमाको पछ्यौरीभित्र लुकिहाल्थ्यो। आमाले केही हुँदैन भनेर ढाडमा धपधपाउँदै गालामा म्वाई खाइदिन्थिन्। साने आमाले सबैलाई जित्नुहुन्छ भनेर निर्धक्क बन्थ्यो।
अब पानीका थोपा छिटपुटबाट मुसलधारेमा परिवर्तन भैसकेको थियो।
साने पिँढीको डिलको खावाँमा अडेस लगाएर आमाको प्रतीक्षामा छ। झट्ट उसले सम्झिन्छ कतै आमा गाउँमा आएर काइली बज्यैकोमा त गफ गर्न बस्नु भएन? कहिलेकाहीँ साने आमासँग फर्किंदा आमा काइली बज्यैकोमा पस्नुहुन्थ्यो र चिया पिउँदै बात मार्नु हुन्थ्यो। उमेरले धेरै अन्तर भए पनि काइली बज्यै माइलीको दुःखसुख साट्ने हितैसी थिइन्।
अब भने सानेलाई झन रिस उठ्न लाग्यो। छोरोलाई एक्लै घर छोडेर जाने अनि अन्तै बसेर गफ लाउने पख् म देखाउँछु अब भन्ने भान भयो। बेस्सरी सास रोकेर राख्यो तर के सक्थ्यो एकैछिनमा फुस्स नाकबाट सास निस्किहाल्यो।
साँझ छिप्पिसकेको छ। सानेको मुटु चिसोले, भोकले र डरले काँपिरहेको। मान्छे भने अजङ्गको छ जेसुकै होस मनमा राख्छ, दाह्रा किट्छ तर अहँ आँखाबाट एक थोपा आँसु झार्दैन।
फेरि गोठबाट बस्तुभाउ जोडजोडले कराउँछन्। जबजब गोठबाट आवाज आउँछ सानेको गह्रौ मन आशाको त्यान्द्रोले हलुका बन्दै जान्छ। यसरी कोही आयो होला भनेर आश गरेको आज यो तेस्रो पटक थियो।
यो पटक भने साँच्चीकै कोही आएको थियो। साने आमा आउनु भयो भनेर ढुक्क बन्छ। तर त्यो मान्छे छाता ओड्दै आउदै थियो। सानेले सम्झिन्छ आमाले त छाता ओड्नुहुन्न, मन नभएर होइन घरमा छाता नभएर।
त्यो छातासहितको आकृति सानेको नजिकै आउँछ। साने पिँढीबाट जुरुक्क उठ्छ। उस्ले एकछिनमा ठम्याउँछ छातावाला तल्ला घरे कान्छा बा पो रैछन। सानेलाई थाहा छ उनी आमासँगै बाउसे जाने गर्छन। कान्छा बाको एउटा हातमा छाता र अर्को हातमा प्लास्टिकको पोको थियो।
'आमा खोइ?' सानेले सोध्यो।
कान्छा बा मौन रहन्छन्।
एकैछिनमा त्यहाँ अरु मान्छेहरू पनि आइपुग्छन्।
हल्लाखल्ला बढ्दै जान्छ। सानेले केही बुझ्दैन, त्यो भिडमा आमाको खोजी मात्र रहन्छ।
'माइली मेलो सकेपछि छोरो भोकायो भनेर हतारमा निस्किइन्। फर्किंदा पानीले खोलो बढिसकेको थियो। घाँसको डोकोसहित आएकी खोलो तर्न लाग्दा चिप्लो ढुङ्गामा टेक्न पुगिछन। हुत्तेको पानीले घचेटिहाल्यो नि तल जलबिरेको रहबाट उनको लास निकालियो। '
कसैलाई भिडलाई घटनाबारे बताइरहेको थियो।
'लौ बाबु यो खाऊ, अब जानुपर्छ' कान्छा बा हातमा राखेको प्लास्टिकको पोको सानेतिर बढाउँछन्।
साने पिँढीमा थुचुक्क बसेको थियो। उसका दुवै आँखाबाट बरर आँसु खसेका थिए।
अब ऊ आमाको कहिल्यै नसकिने प्रतीक्षामा थियो।