प्यारो छोरा,
धेरै सम्झना अनि आशीर्वाद!
परदेशको माटोमा समयको गतिमा दौडन संघर्ष गरिरहेको भएर होला बाबु तिमीसँग फोनमा कुरा नभएको पनि हप्ता-दिनभन्दा बढी भइसकेछ। मसँग दुवै छन्, फुर्सद अनि कुरा। तँसँग खै के भएन, त्यही सोचेर कुनै समय त फुर्सद निस्किएला तेरो अनि कसो नपढ्ला भनेर छिमेकी एउटा बाबुको सहारामा यो पत्र लेख्दै छु।
यहाँ हामी त्यति धेरै बिरामी छैनौं बस् त्योभन्दा अलिकति धेरै एक्लोपन र थकानले सताउँछ। आशा छ तिमीहरू विशाल देश क्यानडामा कुशल मंगल नै छौ होला।
बाबु, समय कति छिटो बित्ने है! अस्तिभर्खर जस्तो लाग्छ तँ जन्मेको। हेर् त, तँ हुर्किएर पनि परदेशी भएको नौ वर्ष पुगेर १० वर्षमा टेकेछ। बाबु, यो समय थाहा छैन कसरी बित्यो तर सम्झनामा र आशामा यसरी बित्यो कि तँ बुढेसकालमा हामीसँगै हुनेछस्। आज हेर् त, तँलाई हुर्काएका हामी हाम्रो चाउरिँदै गएको छालाको साक्षी पनि तँ बन्न सकिनस्।
बाबु उमेर ढल्किँदै गएपछि के-के सोच आउने रहेछ। अनायसै बेरंग हुनेरहेछन् समयहरू। खाएर पनि नखाए जस्तो। सुतेर पनि ननिदाए जस्तो। सुनेर पनि नसुने जस्तो। सानोमा तैंले भन्थिस् नि हाम्रा बा संसारको सबैभन्दा बलियो भनेर। तर आज म तेरा ७८ वर्षका बा जस्तो कमजोर कोही देख्दिनँ। बस् एउटा कुनामा टोलाइरहनु हुन्छ। खोकिरहनु हुन्छ।
म आफूलाई मजस्तो रोगी अरु कोही देख्दिनँ। शरीरमा नगल्ने ठाउँ कतै भेट्दिनँ। जिन्दगीको सहारा भनेको नै त एक्लो छोरो तँ होस् नि। तर खै यो उमेरमा बेरंग बेआकारको छायाको सहारा खोजिरहेछौं। कसको फोन आयो भनेर हेर्न नजान्ने म, फोनको सिसामा तेरो फोन आउँछ कि भनेर हरेक समय पर्खिरहन्छु। पर्खनु भनेको साह्रै गाह्रो हुनेरहेछ। छोरा, बाबुआमा पनि यति बिरानो बन्नसक्छन् र?
बाबु तेरो विदेशको भिसा लागेको दिन अझै याद छ। सायद मैले हामी बुढेसकालमा एक्लै हुन्छौं भन्ने पनि बिर्सिएर सारा छिमेकलाई लड्डु बाढ्दै हिँडेको थिएँ। कसैले सुन्दैनन् कि भनेर सबैलाई गर्वका साथ सुनाउँदै कुदेको थिएँ। यो पत्र लेखिरहेको बाबुलाई यो त नेपालमै बस्ने त हो, मेरो छोरो त ठूलो देशमा जाने हो भन्दै कति खिस्सी गरेको थिएँ।
आज हेर् त बाबु तँलाई खबर पठाउन यही बाबुको सहारा लिँदैछु। बाबु, कति टाढा हो यो दूरी? कति बिरानो हो यो परिवेश? तँ पनि डलरको सट्टा रुपैयाँ नै कमाउँछु भनेको भए यही बाबुजस्तै यतै हुन्थिस् होला है, हाम्रो लठ्ठी बन्थिस् होला है? त्यसैले सोच्छु रुपैयाँ ठूलो कि डलर?
तँ गएदेखि एकचोटि आइस्। त्यो पनि ५ वर्ष बढी भएछ। उता घर किन्ने पैसा नपुगेर यहाँको गैरी खेत बेच्न आइथिस्। बुवा रिसाउनु भएको थियो त्यो बेला आफ्नो देश रित्याएर विदेश भर्ने यो कस्तो चलन भनेर। फकाएँ बुवालाई छोराबुहारीको खुसी भन्दै।
बाबु साँच्चै नै घर रित्तिएको छ, गाउँ रित्तिएको छ, देश रित्तिएको छ। यो मेरो मात्रै होइन सबै आमाहरूको कथा हो। व्यथा हो। देशले के दियो भन्नेहरूले देशलाई चाहिँ के दिए त?
नाति जन्मँदा त्यहाँ आएको पनि ६ वर्ष बढी भइसकेछ। तेल भिसामा गएको भनेर जिस्काएका थिए छिमेकीले त्यतिबेला। मुख फुलाएर जवाफ फर्काएकी थिएँ- मेरा छोराबुहारी विदेश छन् र त जान्छु, तिमीहरू गएका छौ? तर बाबु साँच्चै हरेक बाबुआमालाई विदेश जान तेल भिसा नै कुर्नुपर्ने हो र? जाने इच्छा पनि होइन, बस् तँ, बुहारी अनि नातीलाई यही माटोमा देख्ने रहर छ। त्यो विदेशमा न आफ्नोपन छ न त आफ्नो माटोको सुगन्ध। सायद यही भएर त होला यो ६ वर्षमा हजुरआमा भन्न पनि नातीले नसिकेको। अब त्यो चाहिँ सिकाउनू है बाबु।
बाबु, यो आफ्नो माटो भन्दैमा नहुने रहेछ। आफ्नै माटोमा बुढेसकालमा बाँच्न पनि आफ्नाहरू भए सजिलो हुने रहेछ। यही सोच्छु र बुवालाई सोध्छु- मलेसिया गएको पल्लाघरे ठूलीको छोरो हरेक वर्ष, दुई वर्षमा आउँछ। हाम्रो छोरो किन आउँदैन? तेरा बा भन्नुहुन्छ ठूलीको छोरो कमाउन गएको हो, तेरो छोरो भविष्य बनाउन।
साँच्चै भविष्य त्यहा आस्ट्रेलिया, अमेरिका, क्यानाडा जस्ता देशहरूमा बन्छ नि? फेरि तिमीहरूको बुढेसकालमा तिमीहरूको छोरो भविष्य बनाउने भन्दै तिमीहरूलाई एक्लै छोडेर त्यहाँबाट पनि अर्को देश जानु पर्दैन नि? छोराछोरी बुढेसकालमा साथमा नहुँदा धेरै गाह्रो हुनेरहेछ।
बाबु, उमेरसँगै कमजोर बन्दै जानुपर्ने रहेछ। गल्दै जानुपर्ने रहेछ। हामी त डुब्न लागेको घाम न परियो। बस् कुन बेला अस्ताउनु पर्छ भनेर घडी हेर्दैछौं। मिलेसम्म आउनू, सम्झनू। अरु त के भनौं पैसा, भविष्य भन्दै गर्दा समयलाई पनि ख्याल गर्नू। बस् एउटा अनुरोध हाम्रो अन्तिम सास भेट्न चाहिँ आइपुग्नू। त्यो पनि सकिएन भने हाम्रो लासलाई चाहिँ धेरै नकुराइदिनू है बाबु।
धेरै माया अनि आशीर्वाद। बुहारी र नातिलाई पनि सम्झना सुनाइदिनू।
बुढेसकालले गल्दै गरेकी,
तिम्री आमा।