भनिन्छ प्रेम अनुभूति हुने कुरा हो।
कुनबेला कोसँग प्रेम हुन्छ, प्रेमको अनुभूति हुन्छ स्वयम आफूलाई पनि थाहा हुँदैन। कसैसँग रूपले आकर्षण भइन्छ तब कसैसँग व्यवहारले। कोहीप्रति निस्किने मनको भावना ऊप्रतिको हेराइमा पनि निर्भर रहन्छ। यौवनको उमेरमा जसलाई जोकोही पनि मन पर्न सक्छ।
बाटोमा सँगै हिँडिरहेका, बसमा यात्रा गरिरहेका, नास्ता पसलमा भेटिएका, स्कुल कलेजका सहपाठी सिनियर जुनियर, पुस्तक पसलमा भेटिएका, हाटबजारमा भेटिएका अझ भनौं टिकटकमा देखेका थुप्रै। सबैसँग हेराइका भावना कल्पना मीठा याद बनिदिन्छन् केही छोटो समयको लागि भए पनि । सायद यही त हो यौवनको आकर्षण र मज्जा पनि।
बैंकवाली। नीलो सर्ट, कालो पाइन्ट, लामो कालो कपाल खुला छोडेकी, कानमा झुम्का, निधारमा कालो टिकी, चुच्चो चुच्चो नाक, सुन्दर आँखा, मिलेका आँखीभौं, दाहिने गालामा कोठी, लटम्म मिलेका दाँत, अग्ली पातली, ठूलो निधार मान्छे नै चट्ट अनि आकर्षक। जो कोहीलाई मनपर्ने।
मुक्तिनाथ विकास बैंकमा ऊसँगको पहिलो साक्षात्कारमा मैले नियालेको ऊ। अन्जान र पहिलो हेराइमै पनि ऊ मलाई खुब मन परेकी। सबै चिज सबै सुन्दर नलाग्न सक्छन्, मन नपर्न सक्छन तर मलाई आजसम्म भेटेकी सबभन्दा सुन्दर युवती उही लागि। मनको भ्रम नै सही।
‘चेकको पछाडि फोन नम्बर र दुई वटा साइन गरिदिनु न।’ उसको आग्रह थियो।
सेवाग्राहीलाई मिठो अनुरोध थियो। मलाई उसको बोली सुन्ने मौका थियो।
‘भयो हेर्नु त।’
‘हजुर भयो।’ ऊ कामतिर लागि। म उसलाई हेर्ने कामतिर। घ्यार........र पैसा गन्ने मेसिनमा पैसा राखेर पैसा गनिसकेपछि ‘लिनुस् भनेर’ काउन्टरमा पैसा राखिदिई। ‘धन्यवाद’
भन्दै म आफ्नो बाटो लागेँ। ऊ आफ्नो कामतिर।
उसलाई हेर्ने बहानामा पनि बैंक जाउँजाउँ लाग्थ्यो।
संयोगले मात्रै छिरेको बैंकमा यसरी कोही मनपर्छ भनेर मलाई कल्पनासम्म थिएन।
मैले काम गर्ने कार्यालयको दैनिक राजस्व त्यही बैंकबाट दाखिला गरिदिनुपर्ने थियो। अर्को फाइदा पनि भो काम सँगसँगै उसलाई देख्न पाउने। अब दैनिक भेट पनि हुने भो हाम्रो। यस्तो लाग्न थाल्यो मैले पढेको कुनै सुन्दर कथाको सुन्दर युवतीलाई कथाकै अर्को पात्रले थाहा नै नदिई पछ्याइरहेको जस्तो।
भनिन्छ नि कसैलाई असल हृदयले चाह्यो भने पाइन्छ भनेर। हो ऊ पनि मसँग भेटिई सामाजिक सञ्जाल टिकटकमार्फत्। मुक्तिनाथ विकास बैंकको डिजिटल बैंक भन्ने भिडिओमा। नाम श्रीषा न्यौपाने। ऊ नै थिई जो बैंकमा जाँदा मलाई पहिलो नजरमा नै मन परेकी । फलो गरेँ टिकटक, फेसबुक, इन्स्टा सबैतिर।
मन थियो म यतै छु भनेर कमेन्ट गरिदिऊँ। आँट गरिनँ। उसका सम्पूर्ण टिकटक भिडिओ हेरेँ। जति हेर्यो उति मन पर्दै गई मलाई।
सधैंजसो बैंक जाने भएर होला त्यहाँ गार्ड दाइ, रिसेप्सनका दिदीहरू मसँग परिचित हुँदै गए।
अफिस ड्रेसमा देखेर मेरो काम छिट्टै गरिदिन्थे। विस्तारै ऊ पनि मलाई देखेर मुस्कुराउन थालेकी थिई। फेसबुक, टिकटक, इन्स्टा लगायत उसकै पनि म फलोअर जो भइसकेको थिएँ।
केही महिना पछिको एक साँझ ‘थ्याङ्क्यु यु’ भनेर मेरो पुरानो ‘ह्याप्पी बर्थडे टु यु’ लेखेको म्यासेजको रिप्लाइ आयो उसैको। बल्ल म्यासेन्जरमा कुरा गर्न मिल्ने भो।
‘हेल्लो।’ ‘हाइ।’ ‘चिन्नु भो?’ ‘नचिने जस्तो पनि लागेन।’ ‘हाँसे।’ उताबाट पनि हाँसोकै इमोजी आयो। त्यो दिनदेखि अलिअलि कुरा हुन थाल्यो।
सबै मन परेकाले आफूलाई मन पार्छन् भन्ने हुँदैन फेरि। सबैसँग प्रेम गरौं भन्ने पनि हुँदैन।
एक ऊ थिई जो मलाई बिहे गरौं लागेकी। हुन त जीवनमा कसैको प्रेममा नपरेको पनि होइन। मेरा केही परिधि, बाध्यता, सिमाना, जिम्मेवारी अझ भनौं विचार, भावना नमिलेर यत्तिकै सकियो।
सबैको विगत प्रिय हुँदैन। फेरि म प्रेम केवल मनोरञ्जन, समय व्यतित अझ भनौं यौन सम्बन्ध राख्नको लागि मात्र गर्दिनथेँ र गर्दिनँ पनि। प्रेम गरेकै मान्छेसँग विवाह होस् भन्ने लाग्छ।
ऊ खुला हृदयकी थिई। मिजासिली पनि जिम्मेवार पनि। ‘वाइफ मेटेरियल’ भन्छन् नि हो त्यो ऊ नै हो। ऊसँग बोल्दा समय बितेको पत्तो नहुने।
मलाई मेरो च्वाइस खुब मन परिरहेको थियो। हुन त मैले उसलाई अझैसम्म प्रेम दर्शाउन सकेको छैन। बुझ्न त ऊ पनि बुझेकी होली सायद। नबुझे पनि बुझ्ने छे एकदिन अवश्य।
यस्तै दुई महिनापछि हिजोको कुराकानीमा एक कफी डेटको अफर गरेँ। सुरूमा नमाने जस्तो गरे पनि अन्तिममा भोलि साँझ क्याफेमा भेट्ने कुरा भो। म खुसी भएँ। पहिलो डेटमा के उपहार दिऊँ त? मलाई मन पर्ने सुबिन भट्टराईको पुस्तक मनसुन मेरो मनपर्ने मान्छेलाई दिने निर्णय गरेँ सँगै गुलाफको फूल पनि।
मनमा खुसी हातमा पुस्तक र गुलाफ बोकेर आज म मेरी प्रिय बैंकवालीलाई भेट्न जाँदैछु।