कविता
नाङ्गो पैताला दौडिएर
छिचोलेर चुपचाप चुपचाप
विपन्नताका बगरहरू,
दु:खका दण्डकवजहरू!
उ- सखारै फुलेको एक थुङ्गा सयपत्री,
भर्खरै टेक्नपुगेको थियो
राजधानीको सडक।
काँधमा बोक्न मिल्नेगरी
बोकिल्याएको थियो--
दीनहीन पिताले छोडी गएका
पत्र पत्र कर्तव्यहरू,
असहाय माताका करूण क्रन्दन,
भाइबैनीका अश्रुपुरित नयनदहमा
पौडिरहेका रहरहरू,
वयसँगै वृद्धि हुन गएका
आफ्नै रूमानी सपनाहरू!
अभावको आरनमा
खप्दै खप्दै अगणित चोटहरू
र सिउँदै तुन्दै
जीर्ण भोटोजस्तो जिन्दगी
सम्हाल्दै बतासजस्तो मन
झुल्किएको हो राज्यको आँगनमा
गरिखाने मेलो खोज्न
सपनाहरू सत्य पार्ने
श्रमको बाटो खोज्न!
मागिरहेको थिएन कसैसँग
एक सुको भिख
बरू, खोजी रहेको हो
एक झिल्को उज्यालो!
पश्चिम क्षितिजको जूनझैं निश्छल,
कालीगंगा किनारको शालिग्रामझैं निर्मल,
उसलाई, थाहा थिएन कि-
निष्पट्ट अँध्यारोमा उज्यालो खोज्नु,
मार्ग खोजी हिँड्दा आवाज गर्नु,
अपराध ठहरिने छ!
अतः शमशानतन्त्रले ठान्यो
आफ्नो जग धर्मराएको
अनि, फरमान गर्यो-
निमोठिदिनु फुल्न खोज्ने फूल!
निभाइदिनु बल्न खोज्ने दियो!
र, यसरी एक दिउँसो
राज्यले मन्चन गर्यो, र
दुनियाँले नजर गर्नुपर्यो
एक सपनाको अवसान!