कविता
मेरा हात गोडा सग्लै छन्, मेरो शरीरमा कुनै ठूलो चोट छैन
मेरा हत्केलाले तातो पानीको बेला उठाउँदा हात थरथरी काप्छ
मैले आगो फुक्न झुक्दा मेरो टाउको घनले हानेझैं दुख्छ
म डाँडाबारीको खरबारीमा सखारै घाँस काट्न जान्छु, मैले बोकेको डोकोले मलाई सहारा दिन्छ
मेरा गोडा त्यो ओरालो हिँड्दा लगलगी हल्लन्छन्
मेरा गोडा कामेको देखेर बिहानीको सूर्यलाई माया लाग्दो हो, यस्सो रापले सेकिदिन्छ
तर यो सबै पीडा तिमीले बाहेक यहाँ कसले पो देखिदिन्छ?
मैले डोको बोकेर उठ्न खोज्दा मेरो सहारा बनेको हातको हँसियाले मलाई आधार दिन्छ
यति धारिलो हँसियाले देखेको मेरो बिमार मलाई माया गर्नेहरूले किन देख्दैनन् आमा?
तिम्रो आँखाको अलिकति ज्योति यी पापीहरूलाई बाँड्न मिल्दैन?
तिमीले गर्ने मायाको करोड भागको एक भाग यी गिद्दहरूलाई दिन मिल्दैन?
मैले मेरो फुटेको खप्परमा तिमीले जाडोमा ओढ्न दिएको पछ्यौरी बाँधेर बिहानको आगो फुक्छु
म गलेकी छु आमा, बिहान पिँढी लिप्दा लिप्दै थचक्कै बस्छु
तिमी यहाँ भए मेरो हातको पोतो खोसेर मलाई आराम गर्न पठाउँदी हौ!
तिम्रो हातले अक्षता धजा मन्छ्याएर लगन भूत बोक्सी सबै भगाउँदी हौ!
तिमीले टकारेको तातो पानी एक मुठ्ठी खान पाए
तिमी सँगै देउरालीको सानो औषधि पसलमा जँचाउन जान पाए
बाटोभरि सुनाउँथें आमा, कसैकी बुहारी नभएर तिम्रै मात्र छोरी बनेर रून पाए
आमा, सपनामा आएर एक पटक नाडी छामिदिनु न
आमा सपनामा आएर एकपटक निधार छामिदिनु न
मेरो नाडीमा तिम्रो स्याहारको मिठो राग अझै भेटिन्छ होला है?
मेरो निधारमा तिमीले लगाइदिएको गाजलको कालो दाग अझै भेटिन्छ होला है?
म सन्चै छु आमा पीर नगरे!
मलाई केही कुराको अभाव छैन, सुर्ता नगरे
मलाई मेरा कोठीका भित्ताले रातभरी सन्चो बिसन्चो सोधिरहन्छन्
मेरो सिरानीले मलाई तिमीले जत्तिकै माया गर्छ आमा, आँसु सबै सोसिदिन्छ
बिहान आँगनमा चराहरू आएर मलाई मीठो गीत सुनाउँछन्
तिम्रो मधुरो बोलीको नियास्रो सबै मेटाइदिन्छन्
के कसुर गरौं आमा ताकि जुनीभरी तिम्रो आँखाको वरिपरि नाच्न पाऊँ?
के अपराध गरौं आमा ताकि जुनीभरी तिम्रै काखमा जन्मकैद लिएर बाँच्न पाऊँ?
सुन्छु बजारमा खुसीको अभाव छ रे
मसँग भएको सबै खुसी बेच्छु नि आमा, तिमी सँगै बसेर जुनीभरी रून पाइने भए!
मसँग भएको सबै सपना बेच्छु नि आमा, फेरि तिम्री छोरी मात्रै हुन पाइने भए!