कविता
वर्षौं पछिको
एक भेटमा
न तिमी सक्यौ
न म नै सकें
सम्हालिन
आँखा अनायासै
खहरे बने
त्यो खुसी थियो
वा
बिछोडको पीडा।
२२ वर्ष अघिको
त्यो कलेज यात्रा
एक गोधुली साँझ
म सुटुक्क पुगें
त्यो खुला चौर
जहाँ म
तिम्रो रापिलो प्रेम
कल्पेर एक्लै
निकै भक्कानिएँ।
त्यो प्रेमिल चौर
आज काँडेतारले
घेरे छौ
सफलता मिलोस् तिम्लाई
तिम्रो अहमता
सैनिक शासन
म माथिका परेडहरू
पड्काइएका बन्दुकहरू
आज पनि गुञ्जिरहन्छन्
रेटिरहन्छ कलेजी
रगतका बाछिटाहरू
सेतो पछेउरीमा
लतपतिएका ती पीडा
कसरी लुकाएँ हुँली ?
जहिलै आशंका
तेर्सिएका प्रश्न
आत्तिएको मन
डगमगाएको
स्वाभिमान
रगताम्मे पछ्यौरीमा
त्यो निश्छल प्रेम
जनतका साथ राख्न
मैले रातदिन सिउन खोज्थें
तिमी उधार्दै लग्थ्यौ।
तिमी हाम्रो प्रेमको गला
रेट्न लागि पर्दा
तिम्रो सामु
मैले घुँडा टेकेर
हात जोडेकी थिएँ
तर, तिमी कसाइँ बनेर
हाँस्दै बध गर्यौ
अनि रगताम्मे तिम्रा
हातका छापहरू
मूल ढोकामाथि छाप्दै
विजय उत्सवको
ढोंङ पिट्यौ।
थाहा छ
आज म एक्लै
दुई सन्तान
निकै स्नेहका साथ
पालिरहेकी छु
उनीहरूलाई
धेरै पढाउनु छ
असल नागरिक बनाउनु छ
तिम्रो जस्तो
हिटलरी हैन
प्रेमिल संसार
बसाउनु छ।