राजुका लागि काठमाडौं एउटा सपनाको कथा जस्तै थियो। जहाँ मान्छेहरू गाडीमा हिँड्छन् अरे, घरमाथि घर उकास्छन् अरे। रंगीचंगी झिलीमिली हुन्छ अरे। सायद राजुको क्षितिज भित्रै पर्दैन्थे यी कुरा किनकि बत्ती र गाडी नै नपुगेको र दुर्गम बाजुराको भूगोलमा जन्मिएको हो राजु।
राजु कर्णालीका तिरैतिर बसेर अक्सर सपनाहरू देख्ने गर्थ्यो, देशको प्रधानमन्त्री हुन पाए, देशको मन्त्री हुन पाए, हाकिम हुन पाए। कहिलेकाहीँ विपद पर्दा गाउँमा हेलिकप्टरमा ओर्लिने ठूला मान्छेहरू देखेर राजुलाई लोभ लाग्थ्यो। आफ्ना परिवारका गुनासा नसुन्ने ती मान्छेहरू देखेर औधि रिस उठ्थ्यो राजुलाई। म पनि यी मान्छेहरूभन्दा कम छैन झैं सोचिबस्थ्यो तर त्यो सोच केहीबेरमा नै कर्णालीको सिरेटोले उडाएर लान्थ्यो। तर भित्रभित्रै अनुभूत हुने दृश्य हराएको भने थिएन।
जसोतसो सदरमुकाम मार्तडीबाट १२ कक्षा पास गरेको राजुलाई ठूलो उडान भर्न मन थियो। गाउँबाट दुई दिन परै रहेको सदरमुकामभन्दा पर पुगेको थिएन राजु। कति दिन पर होलान् धनगढी र काठमाडौं ऊ सोचिबस्थ्यो।
'हिंडेरै गएँ भने नि ५-६ दिनमा त पुग्छु होला नि' ऊ मनमनै कल्पना गर्थ्यो। सदरमुकाममा बसेर १२ सम्म पढ्दाका दुःखहरू नै सगरमाथाभन्दा अग्ला थिए उसको। जसलाई पार गरेर अब धनगढी र काठमाडौं पुग्ने चाहना बढ्यो उसलाई।
बा आमा भन्ने गर्थे, 'हामी परका मान्छेलाई ताती गर्न त आउँदैन, तँ अझ दौडिने कुरा गर्छस्। बालुवा माथिको घर कतिन्जेल टिक्छ र बाबु?'
तर अहँ! राजुले बाआमाको सुनेन। आफूलाई मात्र सुन्यो।
आफ्नो अन्तर मनलाई सुन्यो। बाआमाले सम्पत्तिको नाममा रहेका भेडाहरू बेचे। कर्णालीकै बालुवा खोस्रिकन खाउँला भन्दै घरै रित्तो बनाएर छोरालाई केही पैसा हातमा राखेर पठाए। राजु सदरमुकाम हुँदै धनगढी पुग्यो। त्यहाँ मनले बस्नै मानेन उसको अनि काठमाडौं हानियो। अरू यात्रीका लागि थानकोट कटेपछि गन्तव्य आएजस्तो भाथ्यो तर उसलाई बल्ल गन्तव्यमा पुग्ने पहिलो स्टेसन आएजस्तो भयो। रत्नपार्क, घण्टाघर, ठमेल, न्युरोडका गल्ली गल्ली भौंतारिँदै भौंतारिँदै बितायो कति दिन। न खाने टुंगो, न बस्ने ठाउँको टुंगो। यस सँगै त्रिचन्द्रमा भर्ना भयो स्नातकका लागि।
सूर्यलाई हातले नै टिप्छु झैं गरी काठमाडौं ओर्लिएको राजु आएको एक हप्तामा नै निन्याउरो हुन थाल्यो। कोही नचिनिने सबैका आआफ्ना धुन, कसैले कसैको वास्ता नगर्ने, बेकम्मा हुँदा रैछन् सहरका मान्छेझैं मान्यो।
उसको चैतन्य बल्ल स्फुरण भयो, जब उसले बाजुराकै एक जना साथी क्याम्पसमा भेट्यो। दुवै जना कोठा लिएर मैतीदेवी बस्न थाले। स्नातक पढ्न र खर्च चलाउन समेत केही न केही आर्थिक रूपमा अडेस लाग्ने भित्ता चाहिन्थ्यो। अनि राजुले रोज्यो बेलुका बेलुका न्युरोडमा चिया बेच्दै हिँड्ने जागिर।
'आयो आयो तातो तातो चिया' भन्दै एउटा कुनाबाट अर्को कुनामा पुग्थ्यो राजु। अनि आएको अलि अलि कमाइले बल्ल तल्ल कोठामा भात पाक्थ्यो,जाडोमा सिरक थपिन्थ्यो।
स्नातकका अन्तिम वर्षतिर आइपुग्दै गर्दा बल्ल काठमाडौंमा एडजस्ट हुन सकेको राजुले अब लोक सेवाको तयारी गर्नेतर्फ सोच्यो। गरिबी पिछडिएको आफ्नो हविगत र फेरि मस्तिष्कमा फुलिरहेको सपनाको सुनौलो फूलहरूले बडो दोसाँधमा उभ्याइदिँदो रैछ जिन्दगीलाई। जहाँ सपनाले गौरव हुनुपर्ने छातीहरू कहिलेकाहीँ त्रास र संशयले ढक्क फुल्थे अनि बेचैन गर्थे।
स्नातक राजुले सिद्दायो अब शाखा अधिकृत भएर गाउँको हाकिम भएर बल्ल फर्किने संकल्प पालिरह्यो। किताबहरू किन्यो जहाँ लहराहरू थिए उसका सपनाका। उसले देशको इतिहास बुझ्यो, भूगोल र पहिचान बुझ्यो, व्यवस्था र समाज बुझ्यो, गरिबी र बेरोजगारी पनि बुझ्यो, घोक्यो, लेख्यो। तर आफ्नो स्वंयको गरिबी पिछडापन भने राजुले बुझ्न सकेन वा भुल्न खोज्यो जहाँ तहीँ।
गाउँमा बाआमाको हविगत के होला? कहिलेकाहीँ गाउँकै मास्टर्नी आमैको फोनबाट आउने घरको झ्यारझ्यार आवाजले मनको दियो बल्थ्यो।
'पढ बाबु पढ, हामी दुःख सुख गरेर खाइहाल्छौं' भन्ने ढाडस बाआमाबाट पाउँदा राजुलाई बिना अक्सिजन नै सगरमाथा उक्लिने आँट आउथ्यो।
थर्मसमा चिया बोकेर पछाडि झोलामा किताब बोक्दै ऊ साँझपख फुटपाथमा हिँडिरन्थ्यो। फुटपाथ व्यापारीलाई चिया खुवाउँथ्यो र आफू भने भोकैभोकमा सफलताको प्यासी भएर थकित थकित हिँड्थ्यो।
कतै फुर्सत पाए फुटपाथमा नै थुचुक्क बसेर सडकका पोलका बत्तीहरुमा पढ्थ्यो।ओहोरदोहोर गर्ने गाडीका हर्नहरुले राजुलाई बिझाउँथ्यो तर धेरै बेर बिझाउँन नपाउँदै उ फेरि मनको खम्बामा आफ्नो सपनाको झण्डा फरफराइहाल्थ्यो।
पटक पटक परीक्षा दियो तर हरेक चोटीको परीक्षामा केही न केही पुग्दैन्थ्यो र राजु फेल हुन्थ्यो। पहिलो पत्र मात्र उर्तीण भएर नहुने हरबार पास हुन नस्कदा कहिलेकाहीँ थकाई लाग्थ्यो राजुलाई।पशुपतिको आर्यघाटमा गएर पेटीमा लम्पसार सुत्थ्यो अनि फेरि बेलुका कोठामा आएर पढ्न थाल्थ्यो।
उमेर बढ्दै गयो राजुको जवानी पनि सकिँदै गयो। लोक सेवाको नाममा ऊ कहिल्यै घरमा बाआमा भेट्न गएन न त साथीभाइ आउँदा सुख दुःखका गफ साट्न नै चाहन्थ्यो। लोक सेवाले राजुलाई एकोहोरो बनाइसकेको थियो यहाँसम्म कि उही मैतीदेवीको गुफाजस्तो कोठामा ऊ हमेशा घोत्लिरहेको हुन्थ्यो।
फेरि फर्म खुल्यो लोक सेवाको। उमेरहद ३५ वर्षका कारण राजुका लागि यो अन्तिम मौका थियो। भगवान जति सबै पुकार्यो। मगजका मैदानहरूमा खेलिरहेका असंख्य सम्भावना र दुर्भावनालाई पन्छाउँदै राजु परीक्षामा सामेल भयो। सबै पेपर राम्रो गर्यो राजुले। त्यसैले पनि नतिजा सोचेजस्तै आयो। लिखितमा पास भयो राजु अर्थात् अब अन्तर्वार्तामा सामेल हुन पायो। यी ढोकाहरू खोलिन त्यति सजिलो कहाँ थियो र अन्तिम बिन्दुमा पुगिसक्दा समेत फेरि जहाँको त्यही भुइँमा पछारिने डर कायमै रहन्थ्यो।
अन्तर्वार्ताका दिन शैशव सपनाहरूमा सजिँदै चटक्क भएर पुग्यो राजु। तर अन्तर्वार्ता उसले सोचेजस्तो गर्न सकेन। सायद टाई सर्ट र पाइन्टमा बाँधियो राजु र खुल्न सकेन। खाली खुट्टै हाफ जांगेमा हिमाली गाउँका चट्टान भीर पाखाहरू खेली हिँडेको राजुले उत्तर फर्काउनै सकेन।
अन्तिम प्रश्न सोधिएको थियो उसलाई, 'यदि यो पटक पनि लोक सेवामा तपाईं छनोट हुनुभएन भने के गर्नुहुन्छ?'
'म गाउँमै गएर शिक्षाको ज्योति बाल्छु, त्यहीँको स्कुलमा पढाउँछु र आफूजस्तै पिछडिएका बालबच्चाहरूका लागि सपनाको गोरेटो देखाउनेछु।'
उसले जवाफ दिएको थियो। जुन एकदम बनावटी थियो किनकि उसलाई हाकिम बनेरभन्दा बाहेक अरू पेशामा गाउँ फर्किने रहरै थिएन।
आशैआशमा थियो राजु तर चुचुरोमा पुग्नै लाग्दा हिमपहिरोको सिकार भयो र फेरि निकै तल बेसक्याम्प पुग्ने गरी पछारियो। अर्थात् अन्तर्वार्ताको रिजल्ट आउँदा उसको नाम थिएन। यसपटक नराम्ररी घाइते थियो मनैदेखि राजु।
यसो भनौं न अब राजुसँग फेरि शिखर चढ्ने न साहस हिम्मत थियो न त उमेर थियो। अब मात्र बेसक्याम्पबाट तल झर्ने अनुमति उसलाई थियो चढ्ने योग्यता गुमाइसकेको थियो। कस्तो हुन्छ होला यो पीडा जब एउटा आरोही चुम्दै नचुमी शिखर, ओरालो लागिरहेको छ, घर फर्किरहेको छ। राजु धेरै दिन कोठाबाट बाहिर निस्किएन। साथीभाइ सम्झाउन आए तर पनि सम्झिएन।
तर एक रात उसले देश छोड्ने प्रतीज्ञा लियो।
आफूमा सकारात्मकता भर्न, असफल भएकाहरूको कथा पढ्यो। सोची पनि बस्यो, 'हामीलाई सधैं सफल भनिएकाहरूको कथा पढाएर एकोहोरो बनाइने रहेछ। खासमा सफल हुने भन्दा नहुने सम्भावना कयौं ज्यादा प्रबल हुनेरहेछ। जिन्दगीको एउटा हिस्सा रहेछ जागिर, जे गर्दा पनि खुसी हुन सकियो भने त्यो जस्तो ठुलो कुरा अरू केही हुनेरहेनछ। चाहेका सबै र सोचेका सबै पुरा हुने भए आखिर भगवान केका लागि त?
जिन्दगीमा कहिल्यै ढाँट्न नजानेको मैले, अन्तर्वार्ताको अन्तिम प्रश्नमा ढाँटेको थिएँ। सायद त्यसैको प्रतिफल आज भोग्दैछु। सरासर विदेश जान्छु घरको आर्थिक अवस्था सुधार्नु छ-भनेको भए सायद प्राकृतिक सुनिन्थ्यो। र उनीहरू पनि आश्वस्त हुन्थे। तर हविगत अर्कै बोकेर मैले धेरै आदर्श बोलेँ र पछुताएँ।'
हाकिम हुने सपनाका पोका रूपी किताबहरूलाई सस्तो भाउमा कवाडीमा बेचेर ऋण गरिवरी अरब उड्यो राजु। र केही वर्षमा नै राजुले पैसा पठाउन थाल्यो। धनगढीमा घर किन्यो र बाआमालाई त्यतै सिफ्ट गर्यो। बिहे पनि गर्यो अनि बालबच्चाको बाबु बनेर खुसीका साथ जिन्दगी बिताइरह्यो।
कहिलेकाहीँ काठमाडौं आउँदा लोक सेवाका कोचिङ सेन्टरतर्फ यसो आँखा सोझ्याउँछ राजु। जहाँ आफू जस्तै सपनाका भारी बोकेका टाउकोहरू ओहोरदोहोर गरेको देख्छ। ती सबैलाई एकछिन टक्क अड्याएर राजु भन्न चाहन्छ- 'हतार नगर प्रिय भाइबहिनी हो, जिन्दगी लामो छ। ढुक्कका साथ आफ्नो मेहनत दिएर पढ। यसमा भएन भने खत्तमै हुन्छु भन्ने भान पालेर पढ्यौ भने जिन्दगीको लक्ष्य त्यही त्रासले पोलेर खाइदिन्छ। भए राम्रै छ नभए पनि म बाँचिहाल्छु नि। जता पनि आफ्नो खुसीशी भेट्टाउन सकिहाल्छु नि भनेर पढ। सबै चिज आफ्नो हातमा हुँदैनन् र सफल भनेर देखिएका मान्छेहरू मात्र खुसीले बाँचेका हुँदैनन्।'
तर राजु केही बोल्दैन। बस हेरिबस्छ। एकछिन नोस्टालजियामा पुग्छ र फेरि वर्तमानमा ओर्लिएर अघि बढ्छ।
(लेखकका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्।)