‘हेल्लो!! के छ खबर? किन अघिदेखि फोन नउठाएको?,’ अत्तालिएको आवाजमा समिन बोल्छन्।
‘म मोबाइल घरमै छोडेर एकछिन बाहिर निस्केको थिएँ,’
उताबाट प्रियाको उत्तर आउँछ।
‘अनि आज दिनमा भेटेर सँगै खाजा खाने भनेको हैन त?’
‘भनेको त हो, तर मेरो एकछिन निस्किन नमिल्ने छ, घरमा पाहुना आउनुभएको छ।’
‘मलाई अरू थाहा छैन, हामी सधैं बस्ने रेस्टुरेन्टको त्यही टेबलमा गएर तिमीलाई पर्खेर बस्छु।’
यति भनेपछि उताको रिप्लाई आउनुअघि फोन काटिसकेका हुन्छन् समिनले।
‘दाइ नमस्कार, आराम हुनुहुन्छ? अनि धेरै दिनमा आउनुभयो कहाँ हुनुहुन्थ्यो?,’ रेस्टुरेण्टको वेटर भाइले देख्नेबित्तिकै सोध्न थाले।
‘हजुर नमस्कार भाइ, ठिकै छु, धेरै दिन भएछ है? अनि तिम्रो के छ त?’
‘दाइ मेरो पनि सबै ठिक छ, अनि आज एक्लै देखेँ, प्रिया दिदी खै त दाइ?’
‘आउँदै छिन्, अनि हाम्रो टेबल खाली छ हैन त?’
‘दाइ मान्छे हुनुहुन्छ, तर निस्किने तरखरमा हुनुहुन्छ। केहीबेर यतै बस्नु, म सफा गरेपछि भन्छु हजुरलाई। दाइ पानी लिँदै गर्नुस्, अरू खाजा हजुरको टेबलमा गएर प्रिया दिदी आएपछि ल्याउँला।’
टेबल सफा गरिसकेपछि उनी गएर बस्छन्।
केही हतारहतार गर्दै आएकी प्रियालाई परैबाट चिन्छन् समिन।
‘खै हाम्रो खाजा आएको छैन यतिबेलासम्म?’ भन्दै आउँछिन् प्रिया।
‘दाइ खाजा सधैं जे खानुहुन्छ त्यही त होला हैन?’ प्रियालाई नमस्ते भन्दै पानी राख्छन् वेटर।
‘हुन्छ, बरू अलि चाँडो गर्दिनु है भाइ आज अलि हतार छ।’
‘अनि को पाहुना हुन् घरमा आएका?’ सोध्छन् समिन।
‘मामामाइजू हुनुहुन्छ, चिया बनाएर निस्केको एकैछिन काम छ भनेर फर्किहाल्नु पर्छ।’
‘चिया? कतै तिम्रो लागि कुनै सम्बन्ध लिएर आएका त होइनन्?’
‘होइन, होइन, मामामाइजू निस्किने भन्नुभएको छ, खाजा बनाएर खुवाउनु छ।’
छिटोछिटो खाजा खाएर अर्कोदिन भेट्नेगरी छुटिन्छन् उनीहरू।
कलेजमा पढ्दा भेट भएका क्लासमेट उनीहरू कलेज सकिएपछिको ग्यापमा छन् अहिले।
भर्खर ब्याचलर अन्तिम सेमेस्टरको परीक्षा दिएर बसेका उनीहरूको सम्बन्ध अन्यभन्दा केही खास छ।
प्रियाको बहिनी प्रिन्साले थोरै सुइँको पाएदेखि समिनसँग फेसबुकमा साथी भएकी छे।
कहिलेकाहीँ के छ कसो छ सोध्ने गर्छिन्।
कहिलेकाहीँ उनी नभेटिँदा, फोन नउठाउँदा बहिनीलाई मेसेज गरेर सोध्ने गर्छन् समिन।
प्रिन्सा साँच्चै मेसेन्जर नै भएकी छिन्। कहिलेकाहीँ उनी रिसाउँदा फोन उठेन भने प्रिन्सालाई मेसेज गरेर के गर्दै छिन्, उता थाहा नपाउने गरी सोध्ने गर्छन्।
दिनमा प्रियासँग भेट्ने बिहानै सल्लाह भएअनुसार निर्धारित समयभन्दा दस मिनेट पहिला नै पुगेका उनी प्रियाको पर्खाइमा हुन्छन्।
‘दाइ आज केही स्पेसल छ जस्तो छ नि?’ रेष्टुरेण्टको भाइले पानी लिएर राख्दै सोध्छन्।
‘त्यस्तो केही हैन भाइ, आज उनको जन्मदिन हो, आउँदै होलिन्।’
‘ए ए हजुर दाइ ल उहाँलाई जन्मदिनको शुभकामना, अब त मनको कुरा भन्नु दाइ, फेरि ढिला होला नि।’
‘त्यस्तो केही हैन भाइ, हामी मिल्ने साथी मात्रै हौं।
यति भनेर उनी आफ्नो टेबलमा गएर प्रियाको प्रतिक्षामा बसिरहेका हुन्छन्, आतिएझैं मोबाइल निकालेर समय हेर्छन्, अब त आउनुपर्ने हो।
टाढाबाट प्रिया आउँदै गरेको देख्छन्। अन्य दिनभन्दा आज उनलाई प्रिया अझै राम्री लाग्छ।
उनको दिमागमा वेटर भाइले भनेको कुरा खेलिरहन्छ। भेट्नेबित्तिकै आफूले ल्याएको उपहार दिँदै जन्मदिन शुभकामना दिन्छन्, खुसी हुँदै सरप्राइज गिफ्ट खोल्न थाल्छिन् प्रिया। वेटरले उताबाट केक लिएर आउँछ, ‘ल दिदी जन्मदिनको शुभकामना, हजुरलाई यो हाम्रो तर्फबाट!!’
‘धन्यवाद’ भनेर केक काटेपछि अघि समिनले दिएको गिफ्ट खोल्न थाल्छिन उनी।
‘ओहो घडी पो? ल धन्यवाद!!’
‘तिमीलाई थाहा छ प्रिया? कसैले तिमीलाई घडी उपहार दिन्छ भने सम्झनु उसले तिम्रो समय मागिरहेको छ।’
‘तिमीलाई समय दिइरहेकै थिएँ त।’
‘मलाई तिम्रो अझै धेरै समय चाहियो प्रिया।
खाजा खाँदै धेरैबेर गफ गरेर बस्छन् उनीहरू।
‘अब हामीले आफ्नो भविष्यको बारेमा सोच्नुपर्छ, परिवारलाई हाम्रो बारेमा भन्ने हो कि’, गफकै सिलसिलामा भन्छन् समिन।
‘हुँदैन, थोरै समय लिनुपर्छ अझै’, आत्तिएको आवाज आउँछ प्रियाको।
‘अब कहिले भेट्ने?’ छुटिने बेला सोध्छन् समिन।
‘खै दुई तीन दिन थोरै व्यस्त छु, त्यसपछि कुरा गरौंला।’
बेलुका मेसेज गर्छन् समिन।
‘जन्मदिनको फेरि पनि शुभकामना प्रिया’, उताबाट मेसेज सिन हुन्छ तर रिप्लाइ आउँदैन।
भोलिपल्ट बिहान उठेर गुड मर्निङ मेसेज गर्छन्, दिनसम्म पनि मेसेज सिन हुन्छ तर रिप्लाई आउँदैन। कल गर्छन्, फोन उताबाट काटिन्छ, फेरि कल गर्छन्, फेरि काटिन्छ। साँझ मेसेज गर्छन् समिन, बिहानसम्म पनि रिप्लाई आउँदैन, प्रिन्सालाई मेसेज गर्छन् समिन।
‘हेल्लो प्रिन्सा के छ खबर? तिम्रो दिदीलाई के भएको छ? दुई तीन दिनदेखि मेसेज सिन गरेर रिप्लाइ गरेकी छैनन्।
साँझ रिप्लाई आउँछ प्रिन्साको ‘खै दिदी अलि दिनदेखि अलि टेन्सनमा भएझैं लाग्छ, घरमा नि खासै कसैसँग कुरा गर्नुहुन्न, घरबाट बाहिर पनि निस्किनुहुन्न म के रैछ बुझ्छु अनि खबर गर्छु है।’
प्रिन्साको रिप्लाइ पर्सिपल्ट मात्रै आउँछ।
‘दिदिले केही भन्नुभएन के भएको भनेर तर तँ पनि नबोल ऊसँग भनेर रिसाउनु भएको छ।’
यतिका दिनदेखि समिन अनलाइन देख्नैपिच्छे मेसेज गरिरहेका छन्, मेसेज केही समयपछि हेरिन्छ तर रिप्लाइ आउँदैन। एकोहोरो मेसेज धेरै भैसकेको हुन्छ समिनबाट।
उताबाट भने मेसेज सिन भए पनि रिप्लाइ आउँदैन। टेक्स्ट मेसेजहरू पनि थुप्रै पठाइसकेका हुन्छन् समिनले, सबैतिर रिप्लाइ आउन छोडेपछि बेलाबेला प्रिन्सासँग प्रियाको बारेमा सोध्ने गर्छन्।
सबै ठिकै भएको भन्दै समिनको कुरा गर्यो भने कि त कुरा बटार्ने, कि त झर्किने भएकोले कुरा गर्न अप्ठ्यारो भएको रिप्लाइ आउँछ।
अब उनीहरूबीच कुरा हुन छोडेको पनि लगभग महिना दिन पुग्छ।
भोलि समिनको जन्मदिन, सधैंजसो रातिको ठ्याक्कै १२ बजे फोन या मेसेज गरेर शुभकामना वीस गर्ने उनको बानीले गर्दा कतै आज पनि कल मेसेज आइहाल्छ कि भनेर बसेका हुन्छन् उनी।
१ बजिसक्दा पनि कुनै कल/मेसेज नआएपछि न्यास्रो मान्दै निदाउन कोसिस गर्छन् उनी।
बेलाबेला उनको मेसेज आएझैं झस्किन्छन्, बिहान ब्युझँदा खाता भएको दुई तीन बैंकको जन्मदिन शुभकामना मेसेज आएको हुन्छ। नेट खोलेर मेसेज चेक गर्न थाल्छन्, कतै प्रियाको मेसेज पो आएको छ कि भनेर, दुई घण्टा अगाडि एक्टिभ देखाउँछ, अनि एकोहोरो मेसेजमा अर्को एउटा गुड मर्निङ मेसेज थप्छन् समिन, अब भने मेसेज सिन हुन पनि छोडिसकेको हुन्छ।
५/७ जनाको जन्मदिन शुभकामना मेसेज आएको हुन्छ, फेसबुकको धेरै नोटिफिकेसनआएकोले फेसबुक खोल्छन्, बिहान राखेको दाइको शुभकामना पोस्टमा धेरैजनाको शुभकामना कमेन्ट आएको हुन्छ, यी सबै हुँदा पनि समिनलाई भने एउटै शुभकामना मेसेजको पर्खाइ हुन्छ।
भर्खर खाना खाएर बसिरहेका समिनको बेलाबेला मोबाइल बजिरहन्छ, हत्तपत्त खोलेर हेरिरहे पनि प्रियाको कल मेसेज केही आएको हुँदैन।
‘जन्मदिनको शुभकामना हजुरलाई,’ प्रिन्साको मेसेज हुन्छ।
‘धन्यवाद’ भनेर रिप्लाइ गर्छन् तर उनलाई प्रियाको बारेमा सोध्ने आँट गर्दैनन्।
साँझ खाना खाएर सुत्ने बेलामा मोबाइल चलाइरहँदा अडिओ मेसेज आएको नोटिफिकेसन आउँछ, प्रियाको अडिओ मेसेज हुन्छ, १ मिनेट ०६ सेकेन्डको त्यो अडिओ बज्न थाल्छ।
‘जन्मदिनको शुभकामना समिन, हामी त्यो दिन नभेट्नु थियो, भेट्नु नै सबैभन्दा ठूलो गल्ती भयो, मैले तिमीबाट त्यस्तो खालको अपेक्षा राखेको थिइनँ। हामीबीच त्यो दिन के भयो मलाई त्यति याद पनि छैन र सम्झन पनि चाहन्नँ, अब हामी फेरि कहिल्यै भेट्ने छैनौं, मलाई कल मेसेज गर्ने कोसिस नगर्नू, तिमीलाई बाँकी जीवनको सफलताको शुभकामना। जन्मदिनको फेरि पनि हार्दिक शुभकामना।’
अडिओ सुन्नेबित्तिकै मेसेन्जरमा कल गर्छन् समिन। कल उठ्दैन, फेरि गर्छन्, फेरि पनि उठ्दैन कल, फोनमा कल गर्छन् फोन काटिन्छ। रिप्लाइ लेख्न थाल्छन् लामो समयदेखिको गुनासो समेटेर, मेसेज सिन हुँदैन। दिक्क मानेर अडिओ मेसेज प्रिन्सालाई पठाएर तिम्रो दिदीको मेसेज भनेर लेख्छन्।
भोलिपल्ट बिहान प्रिन्साको रिप्लाइ आउँछ।
‘आजकल दिदी अलि फरक हुनुभएको छ। हजुरको प्रसंग जोड्न खोज्दा कि रिसाउनु हुन्छ कि कुरा बटार्न खोज्नुहुन्छ। हजुरहरूबीच के भएको मलाई थाहा छैन, तर अबदेखि दिदीलाई मेसेज नगर्नु, हजुरहरू त्यति मन मिल्ने मान्छे एक्कासि यस्तो हुँदा बीचमा केही कारण त पक्कै छ। उहाँलाई ठीक लागेको दिनमा आफैंले गर्नुहोला। हजुर उहाँको खुसी चाहनुहुन्छ भने अब मेसेज नगर्नू।’
‘म यतिका दिनदेखि तिम्रो दिदीलाई यही कुरा त सोधिरहेको छु, मैले के गल्ती गरेँ पनि भन्दिनन्, अनि बोल्न पनि छोडिन्,’ समिन रिप्लाइ गर्छन्। प्रिन्सा मेसेज सिन गरेर प्रतिक्रिया दिन्नन्।
पछिल्लो समय उताबाट रिप्लाइ आउन छोडेपछि मेसेन्जरको माथि बोल्ने हरियो बत्तीले उनी सन्चै छिन् भनिरहेजस्तो मान्छन् समिन।
दुई तीन दिनदेखि अनलाइनको हरियो बत्ती देख्न छोडेपछि उनको प्रोफाइल खोजेर हेर्दा थाहा हुन्छ समिनलाई उताबाट अनफ्रेन्ड गरेको कुरा। समिनलाई निकै दु:ख लाग्छ।
उनले मेसेजमा बारम्बार ‘मैले गल्ती के गरेको हो भनिदिनु’ भनेर मेसेज गर्दा पनि रेस्पोन्स नभएर अन्तिममा अनफ्रेन्ड नै भएपछि प्रिन्सालाई मेसेज गर्छन् समिन।
‘तिम्रो दिदीले अनफ्रेन्ड नै गरिछन्, मलाई गल्ती के गरेको पनि भनिनन्, तिमीले अन्तिमपटक मलाई थोरै समयको लागि भेट्न समय मिलाइदेऊ न प्लिज।’
‘सरी, हजुरहरूको इन्टिमेसी हुँदा मैले केही भनेको थिइनँ, उहाँ अहिले थोरै डिस्टर्ब हुनुहुन्छ, हजुरजस्तो बुझ्ने मान्छेले अलिकति उहाँलाई समय दिनु, केही कारण भएरै होला यसरी उपेक्षा गर्नुभएको पछि आफैंले भन्नुहोला नि।’ यति भनेपछि प्रिन्साले पनि त्यति मेसेज गर्न छोड्छिन्।
केही समय बित्छ, समिन हरेक दिन उनको प्रोफाइल खोलेर हेर्छन्।
नयाँ परिवर्तन केही देख्दैनन्, बेलाबेला प्रिन्सालाई मेसेज गर्छन् उनको खबर के छ भनेर।
उताबाट ठीकै छ भन्ने मेसेजमात्रै आउँछ। यसरी नै लगभग दुई महिना बितिसक्दा पनि केही रेस्पोन्स आएको हुँदैन।
एकदिन साँझ फेसबुक स्क्रोल गरिरहेको बेला अचानक प्रिन्सालाई ट्याग गरेको एउटा पोस्ट आउँछ।
‘पोखरामा स्कुटर र माइक्रो बस ठक्कर खाँदा स्कुटरमा सवार यात्रीलाई गम्भीर चोट’, हत्तपत्त लिंक खोलेर हेर्छन्। बुद्धचोकमा घटेको घटना अनि घाइतेलाई मणिपाल हस्पिटलको आइसियुमा लगेको। हाल परिवार सम्पर्कमा आइसकेको अनि यात्रीको नाम खुलिसकेको भनेर खबर पढ्दै जाँदा नाम देख्छन् प्रिया!
एक्कासि यस्तो खबरले उनी अवाक हुन्छन्। आत्तिँदै प्रिन्सालाई मेसेज गर्छन्।
‘प्रिन्सा दिदीलाई के भएको हो? कस्तो छ अहिले? उताबाट कतै केही रिप्लाइ आउँदैन। जसले प्रिन्सालाई ट्याग गरेको हो उनको फेसबुक खोलेर मेसेन्जरमा मेसेज गर्छन्।
‘नमस्कार म प्रियाको साथी, प्रियालाई अहिले कस्तो छ भनिदिनु न प्लिज।’
एक डेढ घन्टापछि उताबाट रिप्लाइ आउँछ।
‘नमस्कार, अवस्था गम्भीर छ, अहिले केही भन्न सकिने अवस्था छैन।’
‘म हजुरलाई बेलाबेला प्रियाको स्वास्थ्य अवस्थाबारे बुझ्छु है।’
उताबाट मेसेज सिन हुन्छ तर रिप्लाइ आउँदैन।
यसबीचमा प्रिन्सालाई धेरै मेसेज गरिसक्दा पनि रिप्लाइ आएको हुँदैन।
दुई दिनपछि फेरि उही मान्छेलाई मेसेज गर्छन्, ‘नमस्कार अहिले प्रियाको अवस्था कस्तो छ?’
‘अस्तिभन्दा केही सुधार भएको छ, तर राम्रोसँग होस भने आएको छैन।’
अर्को दिन प्रिन्साको रिप्लाइ आउँछ, ‘थोरै सुधार छ, मान्छे बल्लतल्ल चिन्नुहुन्छ, दिमागमा गहिरो चोट छ भन्छन्।’
फेरि अर्को तीन दिनपछि प्रिन्सालाई मेसेज गर्छन्, ‘अहिले कस्तो छ प्रियालाई?’
‘थोरै सुधार छ, अब केही दिनमा वार्डमा सार्छ होला, पूरा रिकभर हुन समय लाग्छ,’ प्रिन्साको रिप्लाइ आउँछ।
‘अनि तिमी हस्पिटलमा हो?’
‘नाइँ म अहिले घरमै छु, बाबा हुनुहुन्छ हस्पिटलमा।’
‘प्रिन्सा, प्रियालाई वार्डमा सारेपछि छोटो समयलाई भेट्न आउँछु नि प्लिज।’
‘हजुरले अवस्था बुझ्नुभएकै छ, सानोतिनो कुराले धेरै डिस्टर्ब हुनुभएको छ, अवस्था सामान्य अझै भैसकेको छैन। म हजुरलाई बेलाबेला अपडेट गराइरहन्छु, तर हजुर उहाँको खुसी चाहनुहुन्छ भने अहिले यस्तो कुरा नगर्नुस् प्लिज।’
केही दिनमा प्रिन्साको मेसेज आउँछ, ‘दिदीलाई आज घर लिएर आएको, अझै दुई तीन महिना बेड रेस्ट गर्नुपर्ने भनेको छ।’
‘धन्यवाद, मलाई एकपटक छोटो भेटको लागि समय मिलाइदेऊ न प्लिज, म केही कुरा नगरी यसो भेटेर फर्किहाल्छु।’
‘हजुरलाई मैले अस्ति पनि भनेको थिएँ, अवस्था अझै सहज छैन। सानोतिनो कुराले गाह्रो हुन्छ दिदीलाई, उहाँको खुसी चाहनुहुन्छ भने भेट्छु भनेर नभन्नु।’
दुई तीन दिनमा सोधिरहन्छन समिन प्रिन्सालाई मेसेज गरेर, हल्का सुधार हुँदैछ, हस्पिटल गएर फर्केको, यस्तै यस्तै रिप्लाइ आइरहेको हुन्छ।
कलेजको साथी भएको हिसाबले उनले कलेज पढ्दाका केही साथीहरूलाई मेसेज गर्छन्, साथीहरू मिलेर एकदिन प्रियालाई भेट्न जाऊँ भनेर, सोहीअनुसार तीन चार जना मिलेर शुक्रबारको समय मिलाउँछन् र प्रियाको घर पुग्छन्।
प्रिन्साले समिनलाई देखेर प्रियाको कोठा पुग्नु अगाडि रोक्छिन्।
‘हजुरलाई यो सबै कुरा भनेर पनि फेरि भेट्न आउने? मैले अपडेट गराइरहेको थिएँ त हजुरलाई!’
‘अनि मनै मानेन, एकपटक भए पनि यसो देखेर फर्किहाल्छु,’ लाचार आवाजमा समिन बोल्छन्।
‘हैन प्लिज, हजुरले अवस्था बुझ्नुपर्छ, हजुरजस्तो मान्छेले यस्तो नबुझ्ने कुरा गर्ने? अवस्था सामान्य अथवा हजुरहरूको सम्बन्ध पुरानै भएको भए केही समस्या थिएन, अहिले हजुरलाई देख्दा उहाँलाई झनै स्ट्रेस फिल हुन्छ। त्यसैले प्लिज हजुर यहीँबाट फर्किनू,’ प्रिन्सा रिक्वेस्ट गर्छिन्।
‘आइसकेको छु, केही बोल्दिनँ, कम्तीमा एकपटक हेर्न त देऊ।’
प्रिन्सा दिदी भएको कोठामा ढोकाबाट यसो चियाएर प्रिया उता फर्केको मेसो पारेर ‘ल यसो हेर्नू अनि निस्किहाल्नु’ भन्छिन्।
जाली ढोकाबाट भित्र चियाउँछन्, उनको आँखा पहिला नै धमिलो भैसकेको हुन्छ। आँखा पुछेर ढोकाबाट हेर्दा उनी उता फर्केर पल्टिरहेको देख्छन्, मुटु भक्कानिएर आउँछ अनि कसैसँग आँखा नजुधाइ त्यहाँदेखि निस्केर हिँड्छन्।
‘बाबु चिया त पिएर निस्किनु’, कसैले नजिकै आएर भनेको सुन्छन् समिनले।
‘हैन मलाई हतार भयो, निस्किहाल्नुपर्ने भयो’ भनेर कसले सोधेको हो पनि नहेरी निस्किएर गन्तव्यहीन भएर बेलाबेला रसाइरहेको आँसु पुछेर हिँड्छन्।
समय आफ्नै सुरमा चलिरहेको हुन्छ, नेपथ्यमा गाडी ओहोरदोहोर गरिरहेको आवाज हुन्छ, मोबाइल बज्छ, कसको हो नहेरी फोन उठाउँछन्,सँगै भेट्न गएको साथीमध्ये एकको हुन्छ, ‘किन भित्र नपसी निस्केको?’...