कविता
अचम्म लाग्दो देशमा जन्मेँ म
नेपाली हुँ तर नेपाली बोल्न दिएनन् स्कुलमा
अंग्रेजी बोल्न पर्यो मकै भुटेको जस्तो, अझ एक्सेन्टमा
नत्र त बोर्डिङ स्कुल पढेको के फाइदा भयो र!
आखिर आमा बाउले खाई नखाई त्यत्रो फि भरिदिएका छन्।
नेपालीको वीर गाथा सुन्दै हुर्कें म
रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो
हिमाल झैं अटल यो झुकेन यो कहिल्यै
लत्रेन यो कहिले जङ्गी निशान हाम्रो ‘
गीत सुन्दा रगत उम्लन्छ, शरीर सिरिङ्ग हुन्छ।
जसरी पुर्खा अंग्रेजसँग लडे,
त्यसै गरी म पनि लड्न तयार भएँ, अंग्रेजसँग
अमेरिका, अस्ट्रेलियाका भिसाका लागि।
सपना त विदेशकै छ, हरियो डलर कै छ
गाउँको साँहिलादेखि सहरको शाहिलको एउटै सपना, विदेश।
अब दुबई, कतार जाऊँ कि अमेरिका, अस्ट्रेलिया
विदेश नै जाने हो! देशमा गरी खाने त बाटै छैन नि‘
स्कुलमा दिएको स्पीच याद आयो
ब्रेन ड्रेन हुन दिनु हुँदैन, म पढेर नेपाललाई विकसित देश बनाउँछु
तर कसरी बनाउनु वातावरण नै छैन हा‘हा‘
दोष मेरो स्वार्थी विचारको हो वा यो समाजको
विदेश जाने सोच मेरो आफ्नो हो वा जबर्जस्ती देखाइयो मलाई विदेश जाने लोभ
सायद फलाना ढिस्कानाले विदेश गएर कमाएको पैसाले सर्लक्कै निलिदियो
मेरो देशमै बसेर कमाएको इज्जत, मेरो स्वाभिमान र देशप्रेम!
हुन पनि राष्ट्रियता त ‘आई लभ नेपाल’ लेखेको टिसर्ट लाउँदै, सानो नेपाली झन्डा फहराउँदै
विदेशमा बसेर आई मिस नेपाल भनेर सोसियल मिडियामा पोस्ट गर्नुमा पो छ त!
कहाँ नेपालमै बसेर आई लभ नेपाल हुन्छ त'
विदेश जाने रहर र बाध्यताको घेरामा फसेका सबैलाई आखिर
कस्ले देखायो यो रमिता?
विदेशमा भएको पैसाको बोटले, पल्ला घरे छिमेकीले विदेशबाट पठाएको नोटले
देशको अवस्था सुधार्न नसक्ने नेताहरूलाई दिएको हाम्रो भोटले
कि आफ्नै देश पनि आफ्नो जस्तो नहुँदाको चोटले!
आखिर सपना त विदेशकै छ