कहाँ छ हौ खुसी
मलाई पनि भन न
विरक्तिएर भड्किँदै
रूमल्लिया छु रन न
निकै दिएँ दागबत्ती
सपना ती मरेकालाई
घाँटी थिचेँ ती रहरको
दोधारमा परेकालाई
आशा हरू हराई गए
म सँग घिन मानेर
उराठ मेरो जीवन हुन्छ
ध्रुब सत्य जानेर
इच्छा अब छैन मेरो
सबै रित्तो भै सक्यो
मन बुझाउने कुरै छैन
एक एक गर्दै गै सक्यो
पन्छिदैछन् मेरा हर्ष
टाढा टाढा जाँदैछन्
हिम्मतहरू सेलाउँदैछन्
अहिले हरेश खाँदैछ्न्
उमंगको कुरै छोडुम्
उहिले पराई भएका
बस्दिनँ है अब भन्दै
मलाई छाडी गएका
उल्लासहरू आँखा छल्दै
अन्तै बसाइ सर्न गए
हाँसोहरू ओठबाट
आत्महत्या गर्न गए
आनन्दले आज सम्म
मेरो डेरा भेट्या छैन
दागहरू यो छातीको
क्यै गरी नि मेट्या छैन
रमाइलोले बिर्सिएछ
निम्तो मैले दिएको
आँसुले फेरि सम्झिँदै छ
मन रुँदै मैले पिएको
ऊर्जाहरू निस्ठुरी छन्
यो शरीरमा आएनन्
सफलताको बाटो जाम भो
म सम्म आउनै पाएनन्
अपमानले बेरेको छ
तिरस्कारले घेरेको छ
यत्रो आँखा उघारेर
घृणाले नि हेरेको छ
लामो सास फेरेको छ
घाउहरूले केरेको छ
चिन्ताले नि आदेश दिन्छ
पीरले फेरि टेरेको छ
प्राप्तिको झन् के कुरा
परिवर्तन छैन पूरा
बेइमानीले रिसाउँदै
हानिराछ मलाई छुरा
भूतले आँसु बर्साउँछ
वर्तमानले फर्साउँछ
आम्मा मा मा राम राम
भविष्यले तर्साउँछ
इज्जतको त नामै छैन
गर्व किन्ने दामै छैन
म मूलाको के काम
आत्मसम्मान कामै छैन
व्यथाहरू धेरै भो
जीवन मेरो केरै भो
चोटहरूको के कुरा
त्यो त पेवा मेरै हो
हित केही भाकै छैन
सुख आजकाल पाकै छैन
पूरा हुन्नन थाहै छ
त्यै भर कसम भाकै छैन
म त मान्छे हुनु पाप हो
कुलङ्गारको छाप हो
यस्तै पारा भयो भनी
जिन्दगानी सखाप हो
काटिने म नाप हो
म पश्चाताप हो
घरी घरी सोच्ने गर्छु
म पनि सराप हो
निकै तल खसी राछु
मात्र कलम घसी राछु
अलि अलि गर्दा गर्दै
दलदलमा धसिराछु
अँध्यारोमा पसिराछु
भूमरीमा फसिराछु
कहिले आउछौ यमराज
तिम्रो बाटो हेर्दै बसिराछु