बिहानीको घामको झुल्कोसँगै प्राप्तिले मलाई याद गर्थी। ऊ सुशिल थिई। मिजासिलो स्वभाव देखाइदिन्थी। देख्दा आकर्षक नभए नि मनको सफा थिई। हरेक सुख दुःखका कुरा सुनाउने गर्थी।
कुनै बेला ऊ साह्रै नजिक हुन खोजेकी थिई। सायद मैले नै उसलाई बुझिनँ। बेवास्ता गरिदिएँ। नजिकिएर ऊ फेरि टाढा भई। मैले नि कहाँ गई खोजिनँ। ऊ मेरो प्राथमिकतामा कहिल्यै थिइनँ।
जिन्दगीको यात्रामा निकै उतारचढाव आए। उसले आफ्ना गुनासा बेलाबेलामा सुनाउँथी। म सुनिदिन्थेँ। मैले आफ्ना गुनासा कहिल्यै सुनाइनँ। खोइ प्राप्ति कस्ती केटी थिई।
निकै वर्षको अन्तरालमा हाम्रो संयोगबस एक दिन भेट भयाे। म हर्षित थिएँ। ऊ मभन्दा धेरै खुसी थिई। म प्रेमको वियोगमा थिएँ। प्राप्तिलाई देखेर अलिक पीडाबाट निस्किएको आभास गर्दै थिएँ।
प्राप्तिको अनुहार मैले पढिनँ। ऊ सधैँ बाहिर मुस्कुराइरहेकी नै हुन्थी। भेट भएको साँझ उसले विश्वासका साथ मेरो कानैमा उसको विगत सुनाई। खोइ किन सुनाइ उसको विगत....
यसो प्राप्तिको अनुहार हेरेँ मलिन थिई। केही सोच्दै थिई होला।
कत्रो पीडा भएछ।असामान्य घटना घट्छ। तर मलाई विश्वासले सुनाउँदै थिई।
अनि भन्दै थिई- अब यस्तो अर्को पीडा म सहन सक्दिनँ।
उसलाई त्यो बेला कति गाह्रो भएको थियो होला, मैले केही मलमपट्टी लगाई दिन सकिनँ। तर पनि प्राप्ति मलाई भेटेर असाध्यै खुसी थिई। उसले संसार बिर्सेकी थिई। मलाई सर्वश्व सम्झेकी थिई।
भेटको दिन उसले सबै पीडा भुलेकी थिई। मानौं उसले विगत अहिलेसम्म कहिल्यै सम्झेकी छैन। जीवन हो, हामी मान्छे हौं। धेरै कुरा हुन्छन्। मैले पनि उसलाई आफ्नो विगत सुनाइदिएँ।
प्राप्तिले सुनिरही। प्राप्तिले आफूले मलाई पहिलेदेखि नै प्रेम गर्ने, मन पराउने कुरा गरी मलाई खासै प्रभाव परेन। किनकि मैले प्राप्तिको प्रेम महसुस गर्न सकेको थिइनँ। मलाई मेरो आफ्नै विगत प्यारो लाग्दै थियो।
अझ प्राप्तिसँग माया प्रेमका कुरा हुँदा म आफ्नो विगत सम्झेर छट्पट गर्थें। उसले मलाई सम्झाउँथी। खोइ के भयो एक दिन मलाई खुब गाली गरी। धेरै गाली गरी। मैले आजसम्म प्राप्तिको गाली कहिल्यै खाएको थिइनँ। त्यति गाली गरी। छुट्ने बेला नमिठो गरेर रोई।
भन्दै थिई म आफ्नै भविष्य सम्झेर रोएकी हुँ भनेर। नरमाइलो लाग्यो मलाई पनि। प्राप्ति सानो सानो कुरालाई धेरै सोच्ने गर्थी।आफ्नो विगत सब भुलेर मसँग जीवन बिताउन चाहन्थी। तर त्यो सम्भव थिएन। मैले प्राप्तिको प्रेम महसुस गर्न सकेको थिइनँ। मैले अतीत बिर्सिसकेको थिइनँ। प्राप्तिसँग बोल्दा झलझली विगतमै पुग्थेँ। झन् गाह्रो हुन्थ्यो मलाई।
प्राप्ति सधैं मलाई प्रेम गर्ने कुरा गर्थी। मलाई गफ लगाउन पाउँदा संसार भुल्थी। खोइ मलाई साँच्चै प्रेम गर्थी कि गर्दिन थिई मैले कहिल्यै महसुस गरिनँ। मसँग खुब दंग हुन्थी। उसका सबै दुःख पीडा बिसाएर जान्थी। खोइ मप्रति कत्रो विश्वास थियो।
म प्राप्तिलाई जबरजस्ती प्रेम गर्न नि सक्दिनँ थिएँ। किनकि प्राप्तिलाई म बिहे गर्न सक्दिन थिएँ। एक दिन त्यही बिहेको कुरा गरेर मलाई पनि खुब रुवाएकी थिई। पछि पछि ऊ आफू कहिल्यै बिहे नगर्ने कुरा सुनाउँथी।
आफ्ना एक्लो जीवनका सपना सुनाउँथी तर मैले कहिल्यै म छु नि तेरो किन एक्लो जीवनका सपना देख्छेस् भन्न सकिनँ।
उसको पीडालाई बुझ्न सकिनँ।
प्राप्ति सधैं मसँग नजिक हुन खोज्थी। अनि ऊदेखि म टाढा।
मलाई कहिल्यै अचम्म लागेन उसले एक्लै जिउने निर्णयहरू सुनाउँदा।
एक्लो जीवन बहुत गाह्रो हो भनेर सम्झाउन सकिनँ। आधा जिन्दगी बाचिसकेकी थिई। धेरै पीडा सही सकेकी थिई। प्रेममा धोका पाइसकेकी थिई। तर नि फेरि मलाई उसको यो पहिलो प्रेम हो झैं गरेर प्रेम गर्थी। स्वार्थ कहिल्यै देखाइन र प्राप्तिले मप्रति कहिल्यै स्वार्थ राखिन पनि।
खोइ जीवन केही बुझेर होला। बुझ्ने केटी जस्तो कुरा नि गर्थी। सबभन्दा अनौठो कुरा उसले आफ्ना सबै विगत मलाई देखेपछि,भेटेपछि भुलेकी थिई। ऊ मसँग असाध्यै खुसी हुन्थी।
मलाई प्राप्तिलाई छोड्न नि गाह्रो थियो। छुट्दाको पीडा भोगेको थिएँ। उसले त मलाई प्रेम गर्थी। तर मैले प्राप्तिसँग आफ्नो भविष्य कहिल्यै देख्न सकिनँ। उसले झैं प्रेम गर्न मन नै लागेन। उसले जस्तो सपना देख्न मन नै लागेन।
मलाई विस्तारै प्राप्तिलाई भुल्नु थियो। प्राप्ति अझ मभित्र हराउँदै थिई। एक दिन बेलुका कुरा नगरी म सुतेँ। भोलिपल्ट गुनासो पोखी। अघिल्लो रात सुत्न नसकेको कुरा सुनाई।
मैले आफ्नो विगत सम्झेर आफूलाई समाल्न सकिनँ। मलाई छोडेर गएको प्रेमकै औधी माया लाग्यो। उसलाई कति गाह्रो भएको थियो होला भन्ने मात्र मेरो दिमागमा आइरह्यो।
खोइ छोडेर जानेहरूको प्रेमले किन सताउँछ। अनि किन छोडेर जाँदा याद छोडिन्छ भन्ने किन सम्झिँदैनन्। किन याद र प्रेम छोडेर नै जान्छन्। म यस्तो भएको छु कि प्राप्तिको प्रेमले मैले आफ्नो पहिलो प्रेम महसुस गरिरहेको छु। मैले कति धेरै पीडा दिएछु भन्ने लागिरहेको छ।
जीवन जगत यस्तै रहेछ। प्राप्ति मलाई सानो सानो कुरा सुनाएर जान्थी। प्रेमका कुरा गर्थी। एकदिन म छिटै सुत्ने तरखरमा थिएँ। उसले रातभर उसका कुरा सुनाएर भुलाई। खोइ के कुरा सम्झी अनि रोए जस्तो गर्दै थिई, म निन्द्रामा थिएँ छुट्याउन सकिनँ।
सायद रोएकी नै थिई होला। आफ्ना कुराहरू सम्झेर। मैले उसलाई सुताउने कोसिस गरिरहेको थिएँ। उसलाई मनपर्ने क्रियाकलाप गर्न आदेश दिइरहेको थिएँ। उसले बेवास्ता गर्दै थिई।
मलिन मलिन आवाजमा बोल्दै थिई। मेरा हरेक कुरामा खुसी हुने प्राप्ति। यो पटक मैले 'आई लभ यू' भन्दा उसले सानो स्वरमा थ्यांक्यू भनेकी थिई।
सधैं मलाई आई लभ यू भन्न कर गर्ने मान्छे आज बिल्कुल फेरिएकी थिई। मलाई थाहा थियो ऊ फेरिँदै गर्दा धेरै मन दह्रो बनाएकी थिई।
बिहान उठेर हेरेँ। केही एसएमएस छोडेकी रहिछे।
नराम्रो नि लाग्यो। सम्झाएर म आफ्नो ड्युटी गएँ।
त्यसपछि प्राप्तिसँग कहिल्यै कुरा भएन। उसले कुरा गर्नै चाहिन। एक दिन दुई दिन गर्दै ऊ टाढा भई। सधैं मलाई तैंले मलाई बाध्यतामा परेर अनि मैले प्रेम गरेपछि जबरजस्ती प्रेम गर्न परेको छ भन्थी। तँ हुन्छ मात्र भन तेरो लागि म जात फेर्न सक्दिनँ सबै कुरा सक्छु भन्थी। खोइ प्राप्तिले मलाई कति प्रेम गर्थी!
जब ऊ सधैंको लागि टाढा भई बल्ल एक्लो भएको महसुस हुन थाल्यो। मेरो जीवनको मलाई बुझ्ने साथी पनि सँगै गएछ। मेरा हरेक कुरा सुन्ने मान्छे नि गएछ। मलाई अब कसले गनगन सुनाउने अब? उसका गनगनले म आफूलाई भुल्ने गर्थें। अब यी सबै कुरा छुटेका थिए।
प्राप्ति मेरो साथी, मलाई बुझ्ने मान्छे अनि प्रेम गर्ने मान्छे पनि रहेछ भन्ने कुरा यो एक्लोपनले बुझाउँदै छ। कस्ती केटी थिई मसँग कति प्रेमको भिख मागी। मैले दिल खुस भएर प्रेम दिन सकिनँ।
सायद सबै कुरा छुटेपछि याद हुने रहेछ। एउटीले प्रेम गरेर गई, प्राप्तिले प्रेम महसुस गराएर गई। प्राप्ति जान्छु पनि नभनी गई।