सानी टार गाउँमा म शिक्षकको रूपमा वि.सं. २०६५ सालमा गएको थिएँ। सानो गाउँ सानी टार। वरिपरि पहाड। प्राकृतिक रूपले भरिपूर्ण गाउँ।
आफ्नो घरबाट टाढा आएर शिक्षण गर्दा कुनै अपसोच हुन दिएन यो गाउँले।
यो गाउँमा दिनहरू बित्दै थिए। वि.सं. २०७६ सालको एक दिन सानी टार गाउँमा एक्कासि होहल्ला चल्यो। केटाकेटी कराइरहेको सुनिन्थ्यो। म शनिबारको बिदाको दिन कटाउन मेलो पहिल्याउन लाग्दै थिएँ।
यसैबीच होहल्लाले अलि ठूलो रूप लिन लाग्यो। मानिसहरू आ-आफ्नो काम छोडेर होहल्ला भएको ठाउँतिर लाग्न थाले। बार्दलीबाट हेरेँ। राम काका गैरी खेतमा जोत्दै हुनुहुन्थ्यो। हेर्दाहेर्दै राम काका पनि जोत्न छाडेर होहल्ला भएतिर जानुभयो। म पनि राम काकाको पछिपछि लागेँ। जति हामी होहल्ला भएको ठाउँमा पुग्दै थियौँ, उति चर्को आवाज सुनिन थाल्यो। कोही भन्दै थिए 'ए ए! नचला त्यो। ए ए! छुनु हुँदैन, छोइस् भनेँ पर्लास् नि फन्दामा।' कोही भन्दै थिए प्रहरीलाई बोलाउनु पर्छ होला। हामी होहल्ला भएको स्थानमा पुग्यौँ।
खासमा त्यहाँ केटाकेटीहरूले खेल्ने क्रममा कसैले कंकाल भेट्टाएका रहेछन्। त्यो तारे भीरमा कसको कंकाल पुग्यो होला? कसरी पुग्यो होला? मनमा अनेक कुरा खेल्न थाले। विचित्र त के भने कंकाल गाडिएको वरिपरि फूल अक्षता धूप थिए। लाग्थ्यो कोही यहाँ आएर दैनिक पूजा गर्थ्यो। अचम्म कोही किन यसो गरी रहेछ। मनमा प्रश्नहरू सलबलाउन लाग्दै थिए, छेवैमा रहेका राम काकालाई हेरेँ काकाको अनुहार मलिन थियो। हेर्दाहेर्दै काका कसैले थाहा पाउलाझैं गरेर सुटुक्क नजानिँदो गरी एक एक कदम चाल्दै घरतिर लाग्नु भयो।
लाग्यो, एकैछिन म पनि राम काकाको पछिपछि लाग्नु पर्यो तर यहाँको माहौल के हुँदो रहेछ भनेर त्यही महौलमा झुमिन थालेँ। एकै छिनमा धेरै मानिस जम्मा भइसकेका थिए।
यसैबीच कसैको खबर पाएर पुलिसहरू आइपुगे। उनीहरूले आफ्नो प्रक्रिया अनुरूप फोटो खिच्ने तथा उत्खनन गर्ने कार्य गरे। उनीहरूले त्यहाँबाट एक कंकाल निकाले। मानिसहरू मुखामुख गर्न लागे। एकमाथि एक कुराहरू थप्दै थिए मानिसहरू तर ती कुरामा ध्यान नदिएर पुलिसहरूले आफ्नो काम गरी करिब दुई घण्टा लाएर मुचुल्कासहित त्यो कंकाल लिएर गए। मानिसहरू त्यसपछि तितरवितर भए गाइँगुइँ गर्दै। म पनि लागे आफ्नो कोठातिर। त्यहाँबाट मेरो कोठा पुग्न करिव एक घण्टा हिँड्नु पर्थ्यो। त्यो दूरीमा मनभित्र अनेकौँ सवालहरू दौडिए तर मलाई अझै राम काकाको व्यवहारले असमञ्जस पारिराखेको थियो। अनि सोचेँ राम काकाको घरतिर जाऊँ कि के हो भनेर तर राम काका दिउँसो घरमा बस्ने मान्छे होइन कहिले कता कहिले कता जानु हुन्थ्यो काम गर्न।
यसो सोचे राम काकालाई भेट्ने उचित मौका त बेलुकीपख नै हो त्यसैले बेलुका नै राम काकाको घर जानु पर्ला भन्दै म आफ्नो कोठामा लागेँ।
मलाई दिउँसोको सवालले घोची नै रहेको हुँदा म बेलुका सात बजेतिर राम काकाको घर ओरालो झरेँ।
राम काकाको घरको आँगन पुगेपछि मैलै काकालाई बोलाउँदै भनेँ, 'राम काका, राम काका को हुनुहुन्छ घरमा?'
घरभित्रबाट उत्तर आयो 'को हो बाबु भित्रै आउनु न काका त तल गोठमा दूध दुन जानु भएको छ।'
'ए ए' भन्दै म घरभित्र छिरेँ।
काकी भन्दै हुनुहुन्थ्यो 'निहुरे र है बाबु दलिन होंचो छ ठोकिएला।'
मैले भनेँ 'हैन म आइरहने मान्छे थाहा छ नि त्यति त।'
काकीले आश्चर्य मान्दै भन्नुभयो 'ए! को पो रहेछ भनेको बाबु पो। बस्नु न त्यही गुन्द्रीमा' काकीले अँगेना छेउको गुन्द्रीमा बस्न आग्रह गर्नु भयो।
'बाबु ममाथि सरिताकोमा अर्सा हाल्दिन जानु छ, छोरालाई काठमाडौं पठाउने रे, बाबु बस्दै गर्नु है काका आइहाल्नु हुन्छ' भन्दै काकी निस्कनु भयो।
म पनि काकालाई कुर्दै आगो ताप्दै गुन्द्रीमा बसेँ।
एकैछिनपछि बाहिर खोकीको आवाज आयो चिन्न गारो भएन राम काका नै हो भनेर। काका आउनु भयो। कुँडेमा दूध खनाउँदै काकाले भन्नुभयो 'ए बाबु पो आउनु भएछ यति राति।'
म काकाको घर त्यति राति गएको सम्झना छैन त्यसैले होला काकाले त्यति राति भन्नु भएको। अनि भन्नुभयो 'दूध पनि कम दियो आज दिउँसो घाँस दिन पनि पाइएन।' पिरा तानेर काका अँगेनाको छेउमा बस्नुभयो। अँगेना रापिलो थियो दूध तात्दै थियो।
काकाले भन्नुभयो 'केही थियो कि बाबु।'
मैले मनलाई ढाडस दिँदै भनेँ 'खासै त्यस्तो त केही थिएन यसो काकासँग दुःख सुखका कुरा गरौँ भनेर नि।'
काकाले भन्नुभयो 'यो दुःखीसँग भन्ने के कुरा छ र त्यस्तो।'
मलाई कसरी कुरा सुरू गरौं भनी मनमा छटपट भइरहेको थियो। बिस्तारै कुरा उक्काउँदै मैले भनेँ 'दिउँसो नि काका' यति के भनेको थिएँ काकाले मेरो कुरा पूरा हुन नपाउँदै भन्नुभयो 'अँ साँची के रहेछ बाबु। म त कामले छिट्टै हिँडें।'
हुन त काकालाई के थियो भन्ने थाहा थियो तै पनि मैले यसरी मान्छेको कंकाल भेटियो पुलिसले लिएर गएको छ भनेँ।
'हो बाबु अब के हुन्छ?' मलाई प्रश्न राख्नु भयो।
'अब मुचुल्का उठाएका छन् शायद कसको कंकाल हो भनी पत्ता लगाउने कोसिस होला' मैले भनेँ।
काकाले भन्नुभो 'पत्ता लाग्ला त बाबु?'
अँगेनोमा दाउरा हाल्दै काकाले भन्नुभयो 'यत्रो समय पत्ता नलागेको पत्ता लगाउलान् त मलाई त विश्वास छैन बाबुलाई के छ कुन्नि।'
खास विषय भन्न नसकेर म छटपटी रहेको थिएँ। सोचे सिधै सोधूँ, 'किन काका तपाईं हस्याङफस्याङ गर्दै त्यहाँ जानुभयो र कसैले थाहा नपाउने गरी चुपचाप आफ्नो बाटो लाग्नु भयो।' फेरि लाग्यो यसरी सोधें भनेँ त रहस्यको कुरा बाहिर नआउन सक्छ। त्यसैले मैले भनेँ 'थाहा छ काका म पनि तपाईंको पछिपछि त्यहाँ गाएको थिएँ नि।'
'ए हो र बाबु' मैले त याद नै गरिनँ।
अनि मैले भनेँ 'तपाईं त्यहाँबाट हिँडेको पनि मैले याद गरेको थिएँ।'
यसो भने पछि काकाले अलि हडबडाउँदै भन्नुभयो 'बाबु अरूले पनि थाहा पाए कि के हो?' मैले भनेँ 'त्यस्तो त मलाई लागेन काका। तर मलाई तपाईंको त्यो बेलाको मलिन अनुहार केही बोल्न खोज्दै छ जस्तो लाग्यो कतै म गलत त थिइनँ काका मैले भारी मनले प्रश्न तेर्साएँ।
डाडुले दूध चलाउँदै काकाले भन्नुभयो 'खै बाबु के भनूँ। काकाले यसो भनेपछि मलाई लाग्यो केही त छ। ढुङ्ग्रीले आगो फुक्दै मैले भनेँ 'हैन काका हजुरले अप्ठ्यारो नमान्दा हुन्छ। त्यस्तो केही छ भनेँ मलाई भन्दा हुन्छ नि। काकाले आफ्नो हृदयलाई कठोर पार्नुभयो र भन्नुभयो 'सुन्छौ त बाबु। एक बुवाको पीडा। एक हृदय टुटेको पीडा। एक जीवन छुटेको पीडा।'
उम्लिएको दूधलाई अँगेनोबाट झिक्दै काकाले भन्नुभयो 'सुन्छौ त बाबु?'
मेरो पनि मन गह्रुँगो भयो। 'हुन्छ नि काका सुनाउन भनेँ।
काकाले गिलासमा दूध दिँदै भन्नुभयो 'यो पनि खाऊ है यता राखिदिन्छु।'
'हुन्छ नि काका' मैले भनेँ। काकाले एक गिलासभरी दूध मेरो अगाडि राखिदिनु भयो र पीडादायक कहानी सुनाउन थाल्नुभयो।
बाबु मेरो छोरा विमल एक मात्र छोरो थियो। पढाइमा अब्बल नै थियो। एसएलसी पनि राम्रो नम्बर ल्याएर पास गर्यो। हामीले दुःख सुख गरेर उसलाई काठमाडौँ नै पढाउने निर्णय गर्यौँ। मलाई याद छ त्यो दिन जुन दिन ऊ काठमाडौँ जाँदै थियो। ऊ एकदम उत्साहित थियो। आँखा टिलपिल पार्दै उसले हामीबाट बिदा माग्दा हामी भाव विभोर भएका थियौँ। ऊ गएको बाटो हामीले कति हेरी रह्यौँ त्यो दिन। यसरी ऊ काठमाडौँमा पढ्दै थियो। सब ठीकै थियो। ऊ काठमाडौँ गएको नि दुई वर्ष हुन लाग्दा हामीले यो दसैंमा त जसरी पनि आउनु पर्छ है बाबु भनेका थियौँ। उसले भइहाल्छ नि गाउँ नआएको नि धेरै भयो। यो दसैंमा म आउँछु भन्यो र त्यो साल दसैंमा ऊ आयो। यही बखत द्वन्द्वकालले हाम्रो गाउँलाई पनि गाँज्न सुरू गरेको थियो।
ऊ आयो हाम्रो दसैं सारै रमाइलो गरी बित्यो। तिहार आयो। तिहार पनि खुब रमाइलो गरी बित्यो। यहीबीच मेरो छोराको चिनजान विद्रोही सेनासँग भएछ। तिहार सकिएको दुई हप्तापछि नि उसले काठमाडौं जाने सुर नकसेपछि एक रात मैले उसलाई भनेँ बाबु अब काठमाडौँ कहिले लाग्ने त। मलाई आश्चर्यमा पार्दै उसले भन्यो बुबा म अब काठमाडौं जान्न। उसले भन्यो 'मेरो मन विद्रोही सेनातिर आकर्षित भइसक्यो। अब म विद्रोही सेना हुन्छु उसले भन्यो।
म अवाक् भएँ। दिन यसरी नै बित्दै थियो। आखिर एक दिन ऊ केही कपडा लिएर विद्रोही सेनासँग गयो। हामीलाई के गरूँ कसो गरूँ भयो तर उसको भलो होस् भन्नु बाहेक विकल्प भएन। त्यसरी हामी दुई दिन काट्दै थियौं। ऊ गएको नि छ महिना बित्यो। कहिलेकाहीँ घर आउनुबाहेक उसँग सम्पर्क थिएन। यही छ महिनाबीचमा त्यो दिन कालो दिन आयो बाबु हाम्रो जीवन समाप्त पार्ने कालो दिन।
त्यो दिन बिहानीपख म सदाझैं गोठमा गाईभैंसीलाई खोले तयार गर्दै थिएँ। मेरो दाजुको छोरो भतिजो हस्याङफस्याङ गर्दै दौडिएर आयो। 'काका ए काका' उसले बोलाउँदै भन्यो।
'ए रमेश पो म यता छु यतै आइज के भन्न आइस्।' उसको सास फुलेको थियो भन्न सकिरहेको थिएन।
उसले जोड बल गर्दै भन्यो 'काका थाहा पाउनु भयो हिजो छहरे खोलामा दुई पक्षीय भिडन्त भयो रे नि।'
यति भन्ने बित्तिकै म उभिएको जमिन भासिए जस्तो भयो। उसले भन्यो 'त्यहाँ विमल दाइ पनि हुनुहुन्थ्यो रे।' अब मलाई काँप छुट्न लाग्यो।
'हो र तँलाई कसले भनेको?' मैले शंकाको नजरले हेर्दै भनेँ।
'तल काजीमानले उ पनि थियो रे दुई पक्षीय झडपपछि सबै तितरबितर भएको रे अनि ऊ लुक्नलाई आफ्नै घर आएको रहेछ।' मेरो मुटु काँप्न लाग्यो। म ढल्छु झैँ भयो। मैले हतार हतार सोधें- 'अनि दाइ विमल कता छ रे त?'
'त्यो त थाहा छैन काका।' मन बिरक्तियो र कस्तो कस्तो कल्पना गर्न लाग्यो। नाडी मत्थर हुन लागे।
'ल रमेश म घर लागें त्यो खोलेको आगो निभाइ दे है' मैले भनेँ।
उसले भन्यो 'पख्नु न काका सँगै जाम' भन्दै आगो निभायो।
काँपेको जीउ गलेको खुट्टा लिँदै हामी घरतिर लाग्यौं। अब विमलकी आमालाई कसरी सुनाउने भन्ने सोच्दै थिएँ घर पुग्ने बित्तिकै रमेशले भन्यो 'काकी काकी थाहा पाउनु भयो हिजो भिडन्त भएछ नि।'
'के भन्छ यो? यसले भनेको के हो साँच्चै हो?' मैले भनेँ 'भित्र हिँड न मलाई उभिन गाह्रो भो।'
हामी भित्र लाग्यौँ। गुन्द्रीमा खुइय गर्दै तीनै जना बस्यौँ।
'खै यो रमेश त त्यसै भन्छ तर के भयो पूरा जानकारी थाहा छैन रे! पीर नगर केही भएको छैन होला' ढाडस दिने बहानामा अनायासै मैले भनेँ।
त्यो दिन त्यसरी शङ्कै शङ्कामा बित्यो। के-के सोचियो। भिडन्त भएको तीन दिनपछि काजीमान दुई जना साथीसहित आयो जुन खबर सुन्न नपरोस् भनेर हामी भागिरहेका थियौँ। त्यही खबर सुनाउन ऊ आयो।
उसलाई देख्ने वित्तिकै विमलकी आमाले भनी 'खै त विमल। खै कता छ?'
काजीमानले थकित मुद्रामा भन्यो 'आमा हाम्रा सबै साथीहरू सम्पर्कमा आए विमल आएको छैन।' यति भन्ने बित्तिकै त्यहाँ विलापको माहौल बन्यो। कति रोइयो त्यसको पत्तो भएन। अझै निश्चित नभएकोले विमल फर्किएला भन्दै काजीमानहरू बाटो लागे। त्यसपछि हाम्रो दिन रात आँसुमा बित्न थाले। झिनो आशा लिएर कति बाच्यौँ। समय घर्किंदै गयो। एक महिना भयो, छ महिना भयो, एक वर्ष भयो तर ऊ आएन।
एक दिन शान्ति सम्झौता भयो युद्ध सकियो तर पनि ऊ आएन। ऊ नआएपछि मलाई असाध्यै खटपटी भयो। अब म दिनमा घरको काम र रातमा विमल खोज्न थाले।
मलाई के थाहा थियो भने विमल छहरे खोलाको भिडन्तमा थियो। म एक्लै एउटा टर्च तथा झोला बोकेर हिँड्न थालेँ। ती पहराका एक एक माटोसँग म खेल्न थालेँ। मैले छ महिना यसरी नै बिताएँ। त्यहाँका प्रत्येक कुना प्रत्येक रूख प्रत्येक ढुङ्गा खोस्रिएँ बाबु। एक दिन खोज्दै थिए पहराको एक रूख मुनी मेरो कुटीले केही महसुस गर्यो। मेरा हात काँप्न थाले। म ध्यान दिएर खन्न पट्टी लागेँ। जति खन्दै गए उति डराउँदै गएँ। खाल्डोको केही तल पुगेपछि मैले छ महिनादेखि खोजेको चिज पाएँ। म त्यही कुटी फालेर रोएँ। कति रोएँ। शायद आँसु सकिएपछि मैले भएभरको बल लगाएँ निकाले मान्छेको कंकाल। लाग्यो परिचित छु यससँग।
अब सम्हालेर झोलामा हाल्नुबाहेक विकल्प देखिनँ। म यसलाई यस्तो स्थानमा राख्न चाहन्थें, त्यो ठाउँ मलाई मात्र थाहा होस्, म दिनहुँ त्यहाँ पूजा गर्न जान सकूँ। यस्तै सोचले एक एक गरी मैले कंकाल संकलन गरे र झोलामा हालेँ। जतन गरेको मेरो मुटुका टुक्रालाई एक एक गरी। अनि पाइला बढाएँ। मेरो पाइला घरतिर बढेन मेरो पाइला तारे भीर तिरै बढ्यो त्यही आज होहल्ला भएको ठाउँमा। मैले विमललाई शान्तिसँग बस्न मिल्ने गरी राखेर आएँ घरमा। बाबु म त्यो ठाउँ दिनहुँ जान्थें दिनहुँ मनको भारी बिसाउँथें, पूजा गर्थें। यसबारेमा विमलकी आमालाई केही थाहा छैन।
ऊ त छोरो आउने आसमै छ अझै पनि उसको आस मार्न दिनु छैन मलाई किनकि उसलाई जिउन दिनुछ। यति भनी सक्दा काका आँखा भिजिसकेका थिए। आँखा पुछ्दै काकाले भन्नुभयो 'बाबुले त दूध खान नि बिर्सिनु भएछ चिसो भयो होला तताइदिऊँ?' काकाले भन्नुभयो।
'पर्दैन काका पर्दैन यसले भइहाल्छ नि!' भन्दै मैले दूध पिएँ।
एकैछिन काकालाई ढाडस दिने कुरा गरेँ।
करिब नौ बज्न लागेको थियो। रात पनि छिप्पिन लाग्यो 'बाबु आज यतै बस्नु' काकाले भन्नु भयो।
'हैन भोलि बिहानदेखिकै क्लास छ म जान्छु काका' भन्दै भारी मन लिएर म कोठातिर लागें।
बाटा भरी काकाको पीडालाई महसुस गर्ने कोसिस गरेँ। हुनत काकाको पीडा जति महसुस गरे पनि पर्नेलाई जति त गर्न सकिँदैन यस्तै सोच्दा सोच्दै कोठा आइपुग्यो। र म त्यो दिन केही नखाइ सुतें सोच्दै खै यस्ता पीडामा मलम कसरी लाग्ला खै!