'यो रेडियो नेपाल हो। अब गोपाल बस्नेतबाट समाचार सुन्नुहोस्, भारत सरकारले उपहार स्वरूप दिएको १५ वटा मुर्रा राँगा नेपाल आइपुगेका छन्।'
काइँला बाले खुइँय गर्दै रेडियो बन्द गरे र काइँली आमालाई हेर्दै भने, 'हाम्रो राहतको सामान कहिले आइपुग्ने हो खै?'
काइँली आमा सान्त्वनाको भावमा भन्दै थिइन्, 'आउला नि, भारत र चीनले त्यत्रो करोडौंको सामान दिएका छन् त। किन चिन्ता लिनुहुन्छ?'
काइँला बाले मायालाग्दो स्वरमा भने, 'मलाई मेरोभन्दा बढी तेरो चिन्ताले सताउँछ काइँली। भूकम्पले हाम्रो घर सँगसँगै हाम्रो खुसी पनि लग्यो। त्यहीँ माथि चिसो पनि दिनदिनै बढिरहेको छ। तँलाई खोकीले बढी समात्न थालेको छ। तँलाई केही भयो भने म एक्लै यो संसारमा के गर्नु?'
'नचाहिने कुरा सोचेर किन दिमाग खराब गर्नु? सरकारले केही त गर्ला नि हाम्रो लागि। धेरै जना डाक्टरहरू पनि हाम्रो उद्धारको लागि आउँदै छन् रे। उनीहरू आएसी मेरो खोकीको उपचार पनि गर्देलान् नि।' काइँली आमाको आँखामा आशाको किरण झल्किन्थ्यो।
एउटै पालमुनि १० जनाको समूह थियो। त्यही समूहमा थिए काइँला बा र काइँली आमा। भीम बहादुरको घर आधा मात्र नष्ट भएको थियो र उनको घरको रेडियो सकुसल भएका कारण सबै जना दिनभरि त्यही रेडियो सुनेर बस्थे।
अलि तल अर्को समूह थियो र त्यही समूहका एक जना मानिस आत्तिँदै आए र भन्न थालेँ, 'तपाईंहरूले समाचार सुन्नुभयो?'
उनी निकै तनावमा देखिन्थे। काइँला बाले सोधिहाले, 'हैन किन यति विधि आत्तिएको? के भयो?'
'एकचोटि रेडियो खोल्नुस् न अनि आफैं थाहा पाउनु हुन्छ', उनले भने।
काइँला बा हतारिँदै रेडियोतिर लम्के र त्यहाँ एउटा समाचार आइरहेको थियो, 'जाजरकोटमा भूकम्प आएसँगै त्यहाँको जनजीवन अस्तव्यस्त बनेको छ। राहत सामग्रीको अभावसँगै मानिसहरूलाई चिसोबाट जोगिन गाह्रो भइरहेको छ। चिसोका कारण मानिसहरूको मृत्यु पनि हुन थालेको छ। सरकारले यो समस्याको समाधान छिट्टै निकाल्न आवश्यक देखिन्छ।'
यो सुनेर त्यहाँ बसेका मानिसहरूको मनमा अझ धेरै भय थपियो।
'भूकम्पबाट त जोगियौं अब यो चिसोबाट कसरी जोगिनु खै? खानको लागि जसोतसो जोहो गरिँदै छ तर चिसोबाट जोगिन हामीसँग लत्ता कपडा केही छैन। यो पालको मुनि कहिलेसम्म बस्नु पर्ने हो? हरे शिव, बरू भूकम्पले लगेको भए पनि हुन्थ्यो!' यति भन्दै ती मानिस आफ्नै समूहतिर फर्किए।
काइँली आमालाई दिन प्रतिदिन खोकीले च्याप्दै थियो। उनी पहिल्यैदेखि दमको रोगी भएका कारण उनलाई चिसोले छिट्टै भेट्थ्यो। काइँली आमाको अवस्था देखेर काइँला बा निकै चिन्तित देखिन्थे। चिसोबाट जोगाउन उनीसँग बाक्लो ओढ्ने ओछ्याउने पनि थिएन।
धेरै दिनको पर्खाइपश्चात् एक दिन स्वास्थ्यकर्मीको समूह त्यस गाउँमा आयो। गाउँलेहरूको मुहारमा हर्षको चम्किलो प्रकाश देखिन्थ्यो।
काइँला बाहरूको पालमा आएका स्वास्थ्यकर्मीलाई काइँला बाले आफ्नी श्रीमतीको स्वास्थ्य अवस्थाबारे जानकारी दिए। स्वास्थ्यकर्मीले जाँच गरिसकेपछि भने, 'उहाँको दम धेरै बढेको छ। चिसोबाट जोगिनु भएन भने अवस्था अझै बिग्रन सक्छ। अब केही दिनमा हजुरहरूलाई लत्ता कपडाको व्यवस्था पनि हुनेछ। हामीले केही खानेकुराहरू ल्याएका छौं। उहाँलाई तातो खानेकुराहरू खान दिनुहोला।'
काइँली आमाले खोक्दै भनिन्, 'किन बढी चिन्ता लिनुहुन्छ? मलाई केही हुँदैन। स्वास्थ्यकर्मी बाबुले भन्नुभयो त अरू सामान पनि छिट्टै आउँछ भनेर। त्यतिन्जेल यही पालले चिसो छेकम्ला नि।'
काइँला बा त्यही दिनको पर्खाइमा थिए। उनलाई रेडियो सुन्न पनि मन लाग्न छोड्यो। उनी दिनभर काइँली आमालाई हेर्दै टोलाएर बस्थे।
एकरात अचानक काइँला बालाई पानी पानी भनेर कसैले कराएको आवाज आयो। उनी निद्राबाट ब्युँझिए र उठेर हेरे। त्यो आवाज अरू कसैको नभएर काइँली आमाको थियो।
उनलाई सास फेर्न एकदम गाह्रो भइरहेको थियो र सकीनसकी पानी मागिरहेकी थिइन्। काइँला बाको सातो गयो। उनले हतार हतार तातो पानी ल्याएर दिए र त्यहाँ सुतिरहेका अरू मान्छेहरूलाई पनि ब्युँझाए।
सबै जना उठेर काइँली आमाको नजिकै आएर बसे। उनीहरूले आफूले ओढिरहेको कपडा सबै भेला पारेर काइँली आमालाई ओढाए।
काइँली आमा सकी नसकी बोल्न खोजिरहेकी थिइन्, 'काइँला बा अब म बाँच्दिनँ जस्तो छ। मलाई निकै गाह्रो भइरहेको छ। म मरेँ भने तपाईं धेरै चिन्ता नलिनु होला। सरकारले फेरि हाम्रो घर बनाइदियो भने त्यसमा खुसी भएर बस्नु होला।'
यो सब सुन्दा सुन्दै काइँला बाको आँखाबाट आँसुको धारा बग्न थालेको थियो। उनी काइँली आमाको हात जोडले समातेर बसेका थिए। उनी केही बोल्न सकिरहेका थिएनन्। त्यहाँ भएका अरू मानिसहरूले काइँली आमाको हात र खुट्टा माडिरहेका थिए। उनलाई सकेसम्म तातो बनाउन खोजिरहेका थिए।
जसरी सूर्यको आगमन अगाडि जूनले बिदा माग्छ, त्यसैगरी काइँली आमाको सासले पनि बिदा माग्दै थियो। हेर्दाहेर्दै काइँली आमा संसारबाट बिदा भइन् तर सूर्यको किरणको आगमन कहिले हुने हो?