कविता
त्यो निस्वार्थ मायाको सहारामा रमाउन सिकेको हिजो जस्तो लाग्छ,
हरेक पल पलको सहारामा बाँच्न तिमीले सिकाएको हिजो जस्तो लाग्छ।
न त कुनै भोक छ, न त कुनै शोक छ, छ त केवल सन्तानको खुसी,
त्यही खुसीमा आफ्नो जीवनमा भोगेका दु:ख कष्टको कहानी छ।
तिम्रो जीवनका संघर्ष केलाउँदा कहीँ कतै देखिएनन् सहज क्षण,
जति दु:खकष्ट आइलागे पनि तिमीले कोर्न सफल भएका ती पल।
जीवनमा धेरै आँधी आए गए तर कहिल्यै देखाएनौ तिम्रो आँसुको अंश,
जस्तो दु:ख आइलाग्दा पनि नआत्तिने तिम्रो मनलाई गर्छु मुक्तकण्ठले प्रशंसा।
हिजो जस्तै लाग्छ, गहभरी आँसु पारी हल्लाएको तिमीले हात,
दसैंमा छिट्टै आऊ है बाबु भनी बिछोडका त्यो अन्तिम साथ।
दसैं आयो, तिहार पनि आयोे तर तिमी कहिल्यै आएनौ।
घरमा हामी आयौं भित्र हेर्यौं तर तिमीलाई कतै देखेनौं।
समय हो र त समयसँगै हरेक कालखण्ड परिवर्तन हुँदो रहेछ,
यहाँ साथ दिनेहरू भन्दा माथ दिनेहरूको कमी नहुने रैछ।
स्वार्थ बिनाको माया कल्पनाको सपनामा रमाउनु जस्तै हो,
कि त्यो अजम्बरी माया हो या त्यो मात्र आमाको माया हो।