गाउँको विद्यालयबाट स्कुले पढाइ सकेपछि उच्च शिक्षाको लागि दाइ र मलाई बजार पठाइयो। कोठा लिएर बजारमै बस्न थाल्यौं।
बजार र गाउँको माहोल आकाश जमिन फरक थियो। सुन्दर र शान्त गाउँ छोडेर बजार बस्नु पर्दा सुरू सुरूमा मलाई पटक्कै रुचेको थिएन। गाउँमा हाम्रो घर एकान्तमा थियो। दिनभर ढोका खुल्लै राखे पनि कुनै फरक नपर्ने। बजार ठिकविपरीत। एउटै घरमा बस्नेहरूका बीचमा बोलचाल र चिनजानसम्म नहुने। सहर बजारमा मानवता हराउँदो रहेछ। लिलाम र गुलाम हुँदो रहेछ। मैले पहिलो पटक त्यो अनुभूति गरेकी थिएँ। एक दिन त्यस्तै भयो। मेरो कोठामा चोरी भयो।
कसैले प्रहरीलाई खबर गरिदिएछ। प्रहरी आउँदै गरेको देखेर एक जना मलाई दिदी भन्ने छिमेकी भाइ सुटुक्क भाग्यो। पैसाभन्दा पनि मलाई आमाले दिएको सुनको सिक्री चोरी भएकोमा नमज्जा लागिरहेको थियो। प्रहरी आएको देखेर आसपासका मानिसहरू आए। साता दिन बित्दा पनि चोर पत्ता लगाउन प्रहरीले सकेन।
त्यही बीचमा एक दिन कलेजबाट फर्किंदै गर्दा बाटोमा एक जना युवकले आफूले चोर चिनेको र तीन दिनभित्रै सिक्री फिर्ता ल्याइदिने वाचा गरे। उनको कुराले म खुसी नहुने कुरै भएन। भनेको समयभित्र उनले सिक्री ल्याएर दिन सकेनन्। मैले ठानेँ उनी 'चिटर' रहेछन्। अर्को एक भेटमा मैले सोझै त्यो कुरा भनिदिएँ।
‘तपाईं कस्तो झुट बोल्नु हुने रहेछ, तपाईं चिटर हो कि, भनेको वाचा पूरा नगर्ने कमजोर वा लाचर।’ मैले त्यतिभन्दा उसको अनुहारमा बादल छाएको थियो।
रिसाउँदै उसले भनेको थियो – ‘नभ्याएर मात्रै हो, कसम भोलि बिहान दश बजेभित्रै दिन सकिनँ भने मेरो नाम प्रेम भएन।’
त्यो दिन उसले मेरो फोन नम्बर पनि मागेको थियो।
त्यो शुक्रबारको दिन थियो। चामल सकिनै लागेको हुँदा दाइ गाउँ गएको थियो। म कोठामा एक्लै थिएँ। राति साढे नौं बजेतिर नयाँ नम्बरबाट फोन आयो।
फोनमा बोल्ने मान्छेले एकाएक सुनको सिक्री आफूले त्यो केटाबाट लिएर राखेको कुरा भन्यो। जो त्यही प्रेम थियो। त्यो सुनेर म खुसी नहुने कुरै थिएन। मैले भनेँ –सिक्री भर्खरै ल्याइदिन सक्नु हुन्छ? एकछिनको मौनतापछि ऊ बोल्यो 'हुन्छ'।
मैले आफ्नो लोकेसन दिएँ। उसले पाँच मिनेटमै आउँछु भन्यो। नभन्दै ऊ आइपुग्यो। सिक्री दिएपछि मैले उसलाई धन्यवाद भनेँ। ऊ मुसुक्क हाँस्यो। ऊ फर्किन खोज्दै थियो। मैले त्यति सहयोग गर्ने मान्छेप्रति थोरै शिष्टाचार र सम्मान गर्नुपर्छ भन्ने ठानेर पानी पिएर जानु होला भने पछि ऊ कोठासम्म पुग्यो।
उसलाई मैले आफैंले खान राखेको कुरौनी खुवाएँ। उसले खुबै तारिफ गर्यो। मैले 'धन्यवाद' भनेँ। केहीबेरमा ऊ पानी पिएर निस्कियो। मैले बिदाइका हातहरू हल्लाएँ।
ऊ कोठामा पुग्दा मलाई जीवनमै पहिलो पटक अनौठो अनुभूति भएको थियो।
आफैं भित्र कस्तो उकुसमुकुसको हुन्डरी चल्यो। त्यही कारण चोर को थियो? कसरी त्यो सिक्री फिर्ता ल्याउन सम्भव भयो? भन्ने जस्ता कुराहरू सोध्नै भुलेको कुरामा थकथकी लाग्यो। कोठामा पल्टेपछि एकपटक सिक्रीलाई नियालेँ, त्यो त्यही मम्मीले दिएको सिक्री थियो। खुसीले सिक्रीलाई चुम्बन गरेँ। प्रेम गइसकेको भए पनि उसको प्रेमको परछायाले मलाई छोइसकेको रहेछ। त्यो त्यही घुमिरह्यो। उसको मधुर बोली गुञ्जिरह्यो।
‘नभ्याएर मात्रै हो, कसम, भोलि बिहान दश बजेभित्रै दिन सकिनँ भने मेरो नाम प्रेम भएन।’ खाटमा पल्टिएकी म सिलिङमाथि उसैलाई देख्न थालेँ। आफैंलाई थाहाँ थिएन के भइरहेको थियो। निन्द्रा पटक्कै लागेन। घरी यता घरी उता कोल्टो फेरिरहेँ। जति रात शान्त बन्दै गयो ऊ झनझन कलेजीको नजिक पुग्यो। यस्तो छटपटी बढ्यो कि त्यतिखेरै ऊ कहाँ चरी झैं भुरूरू... उडेर गयो। मन न हो। उठेर मुख पखालेँ। आफैंलाई ठूलो ऐना अगाडि पेश गरेँ। आफ्नै अंगहरू देखेर आफैंलाई काउकुती लाग्यो।
मनले भन्यो – पग्ली अब जीवन साथी खोज र त्यो प्रेम तेरो लागि उपयुक्त छ।
फेरि पल्टिएँ। यतिखेर बत्ती निभाइनँ।
टेबलको मोबाइल नियालेँ बिहानको ४ बजिसकेको थियो। बेचैन मनले मानेन। उसले गरेको फोन नम्बरको पनि माया लाग्यो। त्यो नम्बर हेर्दै गर्दा औंलाहरू आफैं रिडाइल गर्न सल्बलाइसकेका थिए। उता रिङ गएपछि आफैं झस्किएर काटेँ। उताबाट तत्कालै कलब्याक आयो।
'के भयो? यति राति किन कल गरेको?' मैले आफ्नो बचाउ गरेँ।
'साथीलाई उठाएर मर्निङ वाक जाऊँ भन्न खोजेँ कि, झुक्किए छु।' उसले पनि 'हस्', भन्दै फोन राखिदियो।
बिहान ७ बजेपछि प्रेमले फेरि फोन गर्यो। म बिस्तारामै थिएँ। सिक्री कसरी भेट्टियो र त्यो को थियो? भन्ने कुरा बेलिविस्तार लगायो।
मलाई अब ती सब कुराको भन्दा उसकै आवाजको चासो हुँदै थियो। दादा कोठामा नहुँदा लुकीछिपी दिनहुँ कुराहरू हुन थाले। उसले एक दिन सोध्यो– तिमी फेसबुकमा छैनौ। मैले आइडी नै नखोलेको र आफूसँग फेसबुक चलाउन मिल्ने मोबाइल पनि नरहेको कुरा गरे।
दोस्रो दिन उसले कलेजबाट फर्किंदै गर्दा बाटोमा भेटेर गिफ्ट भन्दै एक र्यापिङ वस्तु हातमा थमाइ मोटरसाइकलबाटै नझरी गुडिहाल्यो।
यो के हो, किन दिएको वा म लाँदिनँ भन्न समेत पाइनँ। कोठामा पुग्नासाथ हतार हतार खोली हेरेँ। फोल्डिङवाला रेड कलरको क्या दामी मोबाइल देखेर एक पटक उफ्रिँदै चुम्मा खाएँ र तत्कालै प्रेमलाई फोन गरेँ।
'यो के हो? र कसको लागि हो?'
उसले भन्यो– तिम्रो लागि हो। मेरो गिफ्ट। यति भनेर फोन काटिदियो। केहीबेरमा दादा कोठामा आउने वाला थियो। उसलाई के भन्ने ? डर लागि रहेको थियो। यही जिज्ञासा प्रेमलाई गरेँ – उसले एक शब्दमै भनिदियो – कलेजबाट फर्किंदा बाटोमा भेट्टाएको भनिदेऊ।
दादा आउँदा मैले त्यसै गरेँ। मतलब अब प्रेमले मेरो छातीमा आफ्नो प्रेमको झण्डा फहराइसकेको थियो। उसकै आग्रहमा मैले फेसबुक आइडी खोलेँ। त्यसपछिका हरेक शनिबार म बाबा मम्मीलाई भेट्न गाउँ गइनँ। दादा मात्रै जान्थ्यो। बाबा मम्मी नै मलाई भेट्न आउनु हुन्थ्यो। मन प्रेमप्रति एकोहोरो भइसकेको थियो। बाबा मम्मीको प्यार भुल्ने ‘निष्ठुरी’ भइसक्दा मलाई पत्तै भएन।
पागलपनको हदले यति सीमा नाघेको थियो कि, दादा नभएको दिन रातभर हामी गफिन्थ्यौं। एक रात शनिबार ऊ कोठामा सुटुक्क आयो।
मैले हिरा मोति झैं उस्लाई छिपाएर राखेँ। सुरूमा एकले अर्कोलाई नछुने र आपसमा गफिने मात्रै सर्त बनाएका थियौं। कहाँ हुन्थ्यो, आगो र घिउसँगै। मन नौनी भइसकेथ्यो। एक घन्टापछि समय यस्तो आइदियो कि, हामी एकाएक चुम्बकले फलाम तानिएजस्तै बन्यौं। अनि मैले बेहोसीमै आफूलाई उसको लागि सुम्पिसकेकी थिएँ। मैले नै उसलाई बिहानै भाग्न प्रस्ताव गरेँ।
उसले हुन्छ भावमा मुन्टो हल्लायो। मलाई केहीबेर नियाल्दै डराए झैं बिस्तारै बोल्यो,’–‘म दलितको छोरा हुँ, तिम्लाई गाह्रो होला नि।’
अब एक सज्जन नारीका लागि बाँकी के नै बचेको थियो र ? ‘आँसु पुछ्दै मैले भनेकी थिएँ, 'अब मेरो मुटु तिम्रो हातमा छ, जसरी सम्हाल्छौ सम्हाल, जहाँ लग्छौं लैजाऊ, अभाव होला , समयले दबाब देला तर मलाई कहिल्यै नराम्रो नगर, मैले तिम्रो लागि ठूलो त्याग गर्दैछु।’
योजना अनुसार झिसमिसेमै म प्रेमको पछि लागेर निस्किएकी थिएँ। निस्कँदा एउटा नोट छोडेकी थिएँ।
दादा साँझ रूममा आएर त्यो नोट देखेपछि घरमा खबर पुग्यो। मेरो खोजी सुरू भयो। फोन तारन्तार आइरहे पनि डरले मैले फोन उठाउन सकिनँ। पछि प्रेमले नै स्वीच अफ गरिदियो। हप्ता दिन बसेर हामी दाङ फर्कियौं। वास्तवमा ऊ ट्रक चालक रहेछ। उसले मलाई पहाडको नजिक विकट भूमिको घर पुर्यायो। विधिअनुरूप बिहे भयो। मैले दलितसँग बिहे गरेको खबर गाउँ घरमा सनसनी बन्यो।
‘जातै फाली, नाकै काटी र हाम्रो लागि छोरी मरी’ भन्दै रोएछन्। त्यो सनसनीपूर्ण हुरी अवधिभर बुवामम्मी महिना दिन अपराधीझैं बसे। गाउँ घर कसैको दैलो नटेको कुरा गाउँले साथीले भनेकी थिई। मलाई मन पराउनेहरू स्कुल कलेजमा पनि धेरै थिए। केही त घरमै माग्न पुगेका थिए। उहाँहरू मलाई सोध्नु हुन्थ्यो। मैले जहिल्यै थप पढ्छु भन्दै टार्दै आएकी थिएँ। किनकी उनीहरू कसैप्रति मेरो प्रेम जागेकै थिएन।
प्रेमसँगको बिहे आफैंले रोजेको यात्रा थियो। कसैलाई दोषारोपन गर्नु बेकार हुन्थ्यो। जे जस्तो भए पनि खेप्नु र सहनुको विकल्प थिएन। जबकी मैले माइतीघरमा कहिल्यै काम गर्नु परेन। आफ्नो भाग्य यस्तै रहेछ भन्दै चित्त बुझाउँथेँ। कामको जति दुःख भए पनि प्रेमले मलाई कहिल्यै नराम्रो व्यवहार गरेनन्। त्यसैले मेरो खुसीहरू फुल्दै थिए।
बिहेको ६ महिना बित्दै थियो, किनमेलका लागि तुलसीपुर बजार गएका बखत मम्मीसँग भेट भयो। मम्मी खुबै रूनुभयो। मम्मीले एकछिन दादाको कोठामा जान धेरै पुकार गर्नु भयो। मैले मम्मीको बचन टार्न सकिनँ। कोठामा पुग्नासाथ मम्मीले मलाई लछारपछार पार्दै कोठमा हुल्नु भो। मोबाइल खोस्नु भो। दादालाई भनेर गाडी बुक गरी जबरजस्ती घर लैजानु भयो।
अब भने मेरो माइती घर मेरा लागि नजरबन्दमा राखिएको बन्दी समान कठोर बनेको थियो। इच्छा अनुसार बाहिर निस्कन, शौच जान सबै कुराहरू प्रतिबन्ध थिए। त्यो थाहा पाएर मेरो प्रेम पनि जान सकेन। ऊ पुगेको भए सायद ठूलो आक्रमण हुन सक्थ्यो। त्यो धम्की र तयारी मलाई सुनाउँथे। उनीहरूको अगाडि जातपात बेकोर हो भनेर सम्झाउन खोज्नु सबै भन्दा ठूलो मुर्खता थियो भन्नेमा म स्पष्ट भइसकेकी थिएँ। त्यसैले उनीहरूले जे जस्तो भने सबै मानेँ।
आफूले गल्ती गरेको र फेरि अब त्यो गल्ती नदोहोर्याउने वाचा गरेँ। मेरो वाचाको दुई महिनापछि बिस्तारै माइती घर खुला सुधार गृह जस्तो हुन थाल्यो। शारीरिक यातना लगभग अन्त्य भइसकेको थियो। अब यसले प्रेमलाई त्यागी भन्ने महसुस गरेपछि उनीहरूले घरमा शुद्ध शान्ति कार्यक्रम आयोजना गरे। पुरेत राखेर मलाई चोख्याएको भ्रम समाजमा छर्न खोजेँ। सुन पानीले नुहाइदिए। त्यति गर्दैमा मभित्रको चोखो प्रेम कसरी मथ्र्यौ र? मनमनै मैले वैशाख जेठको बबईको अन्दाजा गरिसकेकी थिएँ। निन्द्रा कालको दोस्रो रूप। केही घन्टाको लागि ब्रेन सट डाउन।
मैले त्यो कुरा सबैको कोठासम्म पुगेर सूक्ष्म विश्लेषण गरेँ। चप्पलसम्म नलगाई मध्यरातमा मान्छे गाड्ने चिहानको बाटो हुँदै फेरि प्रेमको खोजीमा निस्किएँ। साँच्चि प्रेममा अचम्मको शक्ति हुँदो रहेछ। त्यसपछि मेरो माइती घरको ढोका सदाका लागि बन्द भएको छ।
तीज, तिहार जस्ता पर्वहरूमा नियास्रो लाग्दा म प्राय: त्यही अग्लो पहाडमा पुगेर माइती घरको त्यही ढोका नियाल्ने गर्छु। बुवा मम्मी सानो छँदा त मैले तिम्रा नातिलाई मामाको घर चन्द्रमामा छ भनेर आकाश देखाउँथेँ। तर, आज ऊ आफैं जान्ने भइसकेको छ।
एक दिन उसले म भित्रको सबै कुरा व्यक्त गर्दै सान्त्वनाका मल्हमहरू लगायो। सन्तोषले मलाई नै सम्झाउँदै भनेको थियो, ‘आमा तिमी कति त्यागकी प्रतिमूर्ति रूपी एक महान देवी सरह हौ’ भन्दै ढाडस दिएको थियो।
हो – म खुला आँखाले ढोंगी समाज नियाल्छु। कति मेरा आफन्त आज मलाई देख्दा नदेखझैं गर्छन्। मुन्टो बटार्छन्। जोसँग धन छ, जो शक्तिमा छ, ऊ दलित भए पनि कुनै फरक छैन। विभेद छैन। शक्तिमा रहेका र धनी दलितकै घरमा जाने, सँगै बस्ने खाने कथित उच्च जातिका भनाउँदाहरू उनैले गरिब र पछाडि पारिएका दलितप्रति व्यवहार देख्दा उदेक लाग्छ।
कानुनका किताबमा जे सुखै लेखिएको होस, गाउँ घरमा जातका आधारमा गरिने व्यवहार अझै हटेको छैन। जो कानुनको बर्खिलाप हो। जबकि मेरै दादा विदेशमा छ। म उस्लाई सोध्न चाहन्छु, के त्यहाँ यस्तै विभेद छ? उसले एक जना दलितकी छोरीलाई धोका दिएको कुरा मलाई थाहा छैन र? बाबा– मम्मी लाखौं पैसा तिरेर गर्भ फाल्न दबाब दिनु उचित थियो? त्यति बेला, के तिम्रो छोरा बिटुलो भएन? बुवा, मम्मी अमेरिका पुगेको तिम्रो एक्लो छोरा फर्किएन भने अन्तिम अवस्थामा मेरै हातको पानी खुवाउन पाऊँ!