कविता
त्यहीँ किनारबाट सम्झना छ तिमीलाई
जहाँ तिम्रो पुरानो सर्टको खल्ती छुटेको थियो।
त्यहीँ किनार,
जहाँ जवान सूर्यले तिम्रो शरीरमा
मिराजको कलिलो स्केच बनाइरहेको हुन्थ्यो
त्यहीँ किनार,
जहाँ तिमी दुनियाँका विषादीजस्ता भ्रमबाट मुक्त थियौ।
त्यहीँ किनार
जहाँ
ढुङ्गाहरूसँग दु:ख साट्न मिल्थ्यो
बगरहरूमाथि खुसी बिछ्याउन मिल्थ्यो
ईश्वरसँग प्रतिवाद गर्न पाइन्थ्यो
चेतनाको पेचकसले विचारहरू खुकुला बनाउन
सकिन्थ्यो
जहाँ फोहोरी अनुभूतिहरू सूर्के झोलामा
कैद गर्न मिल्थ्यो।
त्यहीँ किनारबाट सम्झना छ तिमीलाई,
जहाँ रित्तिएकाहरूसँग रित्तिन मिल्थ्यो
जहाँ पोखिएकाहरूसँग पोखिन मिल्थ्यो।
त्यहीँ किनारबाट सम्झना छ तिमीलाई,
जहाँ आँखाभित्र हराएका पुराना एल्बमहरू
आँखाबाटै निकालेर
तिनमा लागेको मुलायम धूलोमाथि
बेला - बेला स्पर्श गर्न मिल्थ्यो ।
त्यहीँ किनारबाट सम्झना छ तिमीलाई,
जहाँ श्रम पनि फुर्सद जस्तो थियो
जहाँ सुख्खा ओठ र मुखको विभाजनलाई
मन्थन गर्न सकिन्थ्यो।
त्यहीँ किनारबाट सम्झना छ तिमीलाई
जहाँ बसेर हामी मृत्यु नजिक पुगेका मान्छेहरूलाई
चुम्बन गरेर निको बनाउन सक्थ्यौं।
तर तिमी अहिले पुगेका छौ, अर्कै किनारमा
जहाँ आधुनिकताको नाममा हुँदैछ मान्छेको
यान्त्रीकरण
स्खलित विचारहरूको किनारमा
अघाउनु पनि भोक लाग्नु जत्तिको सुन्दर नहुन सक्छ।