कविता
विश्वको जुनसुकै
वैज्ञानिकलाई आग्रह गर
उसले सक्ने छैन कसैलाई जीवन दिन
विश्वको जस्तो सुकै चित्रकारलाई खोज
उसले सक्ने छैन जीवनको रंग भर्न
मैले त प्रकृतिबाट पाएको यो जीवन लिला
मलाई त अस्तित्वले दिएको यो मानव चोला
म जन्मिँदा त थिएँ केवल मानव
तिम्रै समाजले बनायो मलाई महिला
मैले पाएको यो अमूल्य जीवन छाउपडी
गोठ भित्र मर्न होइन
मेरो अतूल्य अस्तित्व कसैको घरभित्र दाइजो
भर्न होइन
किनेर किन्न नसकिने मेरो जिन्दगी
राख्न नखोज यसलाई बन्दगी
म त निलो निरभ्र आकाश भई फैलिन चाहन्छु
तर साँघुरो भैदिन्छ तिमीले मलाई दिएको संसार
म त सूर्यको किरण सापटी लिई चम्किन चाहन्छु
तर मधूरो भैदिन्छ तिमीले मलाई दिएको प्रकाश
म उड्नलाई तयार छु
छेक्न नआऊ मेरो बाटो
म फूल्नलाई तयार छु
पत्थरिलो नबनाई देऊ यो माटो
एक एक पल जिउनु छ मलाई
प्रत्येक स्वास बाँच्नु छ मलाई
तिमीले भने झैं अभागी हुँदै होइन म
तिमीले सोचे झैं अबला हुँदै होइन म