कविता
यी सम्बन्धहरूको मलाई भर लाग्दैन।
जब,
जब कोही मान्छे कसैसँग सम्बन्धमा बस्छ।
अनि बग्न थाल्छ सम्बन्धका छालहरू।
केही छाल पुग्छन् समुन्द्रसम्म
केही अड्किन्छन् खोल्सोमा नै।
किनकी खोल्सो समुन्द्रको सुरूआत हो।
अनि खोल्सोको अन्तिम गन्तव्य समुन्द्र,
यस्तै हुन सम्बन्ध पनि,
खोल्सो र समुन्द्र जस्तै।
साँच्चै सम्बन्धको सुरूआत पनि खोल्सोजस्तै हो।
कहाँसम्म पुग्छ भन्ने भर नहुने।
'स' बाट सुरू भएको सम्बन्ध
'अ' मा पुगेर अन्त हुन समय नै नलाग्ने।
आमा सँगको सम्बन्ध छोराले टुटाउन सक्छ।
सम्बन्धकै कारणले घरबार फुटाउन सक्छ।
बाहिर देख्न अरूलाई राम्रो भए पनि,
भित्रभित्रै सम्बन्धले मन लुटाउन सक्छ।
जसरी मिलेका थिए शिव र पार्वती
हो त्यसरी नै,
किन मिल्दैनन् आजभोलिका सम्बन्धहरू?
प्रश्न ती गाँसिएका सम्बन्धहरूलाई
तर उत्तर छुट्टिएका बिछोडहरूको।
किनकी हर हार बिछोडमा हुन्छन्।
बिछोडहरू बिर्सिन सक्दैनन्।
केबल बिछोड हुन्छन् त विस्फोट।
नहुँदा केही नभएजस्तो,
हुँदा केही बढी भएजस्तो,
पाउँदा केही नचाहेर पनि पाएजस्तो,
नपाउँदा केही चाहेर पनि नपाएजस्तो,
सोच्दासोच्दै अनि भोग्दाभोग्दै
सकिन्छ जस्तो,
खै सम्बन्धहरू कस्तो कस्तो!