आफैंलाई सम्झाउनु थियो, सम्झाएँ। आज मेरी छोरीको तेस्रो जन्मदिन, बाँचेकी भए ऊ आजसम्म बाबाको हात समाएर सहर घुम्ने भैसकेकी हुन्थी होला। कालले दुई वर्षको उमेरमै चुँडेर लग्यो।
लाग्छ, मेरी छोरी मरेकी छैन।
ऊ यतै-कतै छ, मेरै छेउछाउ छ।
'बाबा मामुले किन हजुरलाई छोडेर गएको' भनेर मलाई सोधिरहेकी छ। म उसको उपस्थिति महसुस गर्न सक्छु, देख्न सक्दिनँ।
म उसको फोटो हेरेर रून्छु, ऊ तोते बोलीमै सम्झाउन खोज्छे - 'बाबा म मरेकी छैन।'
मेरो मनले छोरीको रोदन सुन्छ। कानले सुन्दैन। दुई वर्षमै भौतिक शरीर घुमाएकी छोरीका लागि उसका बाबुका कान बन्द छन्, आँखा फुटिसके।
तर मनले छोरीको कुरा सुन्छ। ऊ भन्छे - बाबा मामु कहिले फर्केर आउनु हुन्छ?
छोरीले मेरो बर्बराहट सुन्छे या सुन्दिन? थाहा छैन। तै पनि उसलाई बुझाउने कोसिस गर्छु।
'आउँदिन पुन्टु! तिम्रो मामु अब कहिल्यै फर्केर आउँदिन, ऊ पनि तिमी जस्तै कहिल्यै नफर्किने बाटो लागेकी हो।'
प्रतीक्षा। मेरी छोरीकी आमा, मेरी जीवनसाथी।
मलाई राम्ररी सम्झना छ। छोरीले संसार छोडेको सात दिनपछि! हृदयघातका कारण प्रतीक्षाले संसार छोडी। छोरीको निधन भएपछि उसले होस घुमाइसकेकी थिई। मध्यरातमा मलाई मेरी छोरी चाहियो भन्दै चिच्याउँथी। म निरीह श्रीमान। उसलाई अंगालोमा कसेर उसकै रोदनमा लय मिलाउनबाहेक केही गर्न सक्दैन थिएँ।
'मेरी मुटुलाई कहाँ गाड्यौ?
मलाई छोरी चाहियो?....'
ऊ छोरीका कपडामा मुख जोतेर रून्थी। रुँदारुँदै अचेत हुन्थी। म महसुस गर्न सक्छु। नौ महिना कोखमा राखेर, दुई वर्षसम्म काखमा खेलाएकी प्राणभन्दा प्यारी छोरीलाई एकाएक कालले खोसेर लैजाँदा एउटी आमाको छाती कति चिरिन्छ होला? आत्मा कति पोल्छ होला? कठै प्रतीक्षा, रुँदारुँदै तिमीले पनि संसार छाड्यौ। मैले केबल हेर्न सकेँ। न छोरीलाई बचाउन सकेँ, न तिमीलाई!
प्रिय प्रतीक्षा,
प्यारी छोरी,
मलाई माफ गर है। मलाई यहाँ चैन छैन। लैजाऊ तिमीहरूकै संसारमा! लैजाऊ!
कहिलेकाहीँ लाग्छ- यसरी बाँच्नुभन्दा बरू मर्नुमा कुनै लज्जा छैन। म मरे भने--के मैले मेरी छोरी र श्रीमतीलाई भेटाउँछु? आफैंलाई सोध्छु। सबथोक गुमाएर सहरका गल्ली-गल्छेडाहरूमा स्मृतिहरूसँग पौठेजोरी खेल्दै हिँड्ने बेसहाराको मस्तिष्कमा विज्ञानका कुरा कसरी आओस्। ज्ञानका कुरा कसरी आओस्। म निरूत्तर हुन्छु।
अब मेरो लक्ष्य के हो? सबै बाटाहरू बन्द भएजस्तो लाग्छ। मलाई म मरेर पनि यो भौतिक संसारमा रूमल्लिरहेको दुखी आत्मा जस्तो लाग्छ। घाम चर्केको कुनै दिन सहरमा चप्पल खियाउन निस्के भने बाटाभरि प्रतीक्षाका स्मृतिहरूसँग चेपिँदै-ठोकिँदै हिँड्नुपर्छ।
कुनै-कुनै स्मृतिहरूले सोध्छन् पनि।
'तँ कहाँ जाँदैछस्? कसलाई खोज्दै छस्?' म हाँसो नसुहाउने मेरो अनुहारमा बनावटी हाँसो ल्याउँदै भन्छु।
'प्रिय स्मृतिहरू, म आर्यघाट जाँदैछु, जीवन खोज्नु छ।'
स्मृतिहरू मसँग झोकिन्छन्।
'आर्यघाटमा कहीँ जीवन भेटिन्छ? तेरा लागि जीवन भनेको हामी हौं, मात्र हामी।'
स्मृतिहरू अट्टहास हाँस्छन्।
भन्छन्- खोज् मनुवा खोज् ,घाटमा खोज् कि मन्दिरमा खोज्। तैंले अब कतै जीवन भेट्दैनस्। तेरा लागि...जीवन भनेको मात्र हामी हौं हामी।
***
कफिसपमा जाँदा स्मृतिहरूले मलाई धारै हात लाउँछन्। प्रतीक्षा र मेरो पहिलो भेट भएको त्रिभुवन विश्वविद्यालयको आँगनमा जाँदा स्मृतिहरू मलाई आँखा तर्छन्।
गार्डेन अफ ड्रिम्स। जहाँ मैले प्रतीक्षालाई प्रेम प्रस्ताव राखेको थिएँ। कहिलेकाहीँ म भड्किँदै गार्डेन अफ ड्रिम्स पुग्छु। त्यहाँ स्मृतिहरू भावुक हुन्छन्। मलाई अङ्गालो हालेर रून खोज्छन्। म भन्छु- आई एम सरी डियर स्मृतिहरू, मैले तिमीलाई भावुक बनाएँ। आँसुको सुनसान कुण्डमा डुबुल्की मार्न लगाएँ। डियर स्मृतिहरू, आई एम सरी...!
मेरो अंगालोबाट पर... सर्दै गार्डेन अफ ड्रिम्सका स्मृतिहरू बिन्ती बिसाउँछन्।
'डियर मनुवा, म पनि तिमीसँगै जान्छु। स्मृतिहरूको दुखेसो सुनेर म झस्किन्छु।
'कहाँ जाने? मसँग किन जाने।'
स्मृतिहरू दुई हात जोडेर बिलौना गर्छन्, कुनै जिद्दी बालख जसरी।
'नाइँ मनुवा हामी त तँ सँगै जाने!'
मलाई भने स्मृतिहरूलाई आफ्नो छेउछाउ पनि झुल्किन दिनु छैन। तै पनि स्मृतिहरू रूँदै/कराउँदै मेरो पछि-पछि लाग्छन्। म उनीहरूले नदेखोस् भनेर गल्ली-गल्ली लुक्दै हिँड्छु। पर कुनै चोकमा निस्किन्छु, स्मृतिहरू दायाँ/बायाँ मलाई कुरिबेसका हुन्छन्। म स्मृतिहरूको नजरबाट दूर हुन चाहन्छु, तर उनीहरू ज्यान गए पनि छोड्दैनन्। मेरो पछि-पछि धाइरहन्छन्, धाइरहन्छन्।
सहरका गल्ली-चोक, मन्दिर-घाट, कफिसप, सिनेमा हल, पार्क जताततै मेरा स्मृतिहरू छरिएका छन्। अझ भनौं- सिंगो काठमाडौं सहरलाई मेरा स्मृतिहरूले कब्जा गरेका छन्। यो काठमाडौं खाल्डो त के मेरा स्मृतिहरूले आधा संसारमा आफ्नो आधिपत्य जमाएका छन्। उनीहरूले विभिन्न कुना-कन्दराबाट ममाथि प्रत्यक्ष रूपमा शासन चलाएका छन्।
एउटा कुरा ख्याल गर्नु भयो प्रिय पाठक? मैले जान/अन्जान स्मृतिहरूलाई मेरा भने नि! ठिक त्यसरी स्मृतिहरू मसँग समेटिन्छन्, मसँग लपेटिन्छन्। दिनभर स्मृतिहरूसँगको सुनियोजित द्वन्द्वपश्चात म हारेर कोठामा फर्किन्छु। एक हुल स्मृतिहरू मेरो पछिपछि कोठाभित्र पस्छन्। कुनै स्मृति सिरानमुनि च्यापिएको डायरी भित्रका अक्षरहरूमा पुगेर मलाई हेरिबस्छन्। कुनै स्मृतिहरू भित्तामा झुन्ड्याइएको मेरो पारिवारिक फोटो-फ्रेममा टाँसिन पुग्छन्।
बन्द कोठाभित्र पनि यत्रतत्र-सर्वत्र मेरा स्मृतिहरू छताछुल्ल भएर बस्छन्। मेरो डेराको छेउको एक बुढो आत्मा बेलाबेला खोकिरहन्छ! सायद उसको गला उसका स्मृतिहरूले अठ्याएका होलान्। खैर, अहिलेलाई यो प्रसंग यतै बन्द गरौं।
आज छोरीको जन्मदिन!
चुपचाप-चुपचाप-चुपचाप म फूल पसलमा पुग्छु। मलाई फूल चुँडेर/हत्या गरेर छोरीलाई उपहार दिनु छैन। त्यसकारण, सिङ्गै गमला किन्छु, फूलसहित।
'कसलाई उपहार दिन लाग्नु भएको?' फूल पसलकी लेडी मसँग प्रश्न गर्छिन्।
'मेरी स्वर्गीय छोरीलाई'
'अरे! स्वर्गीय छोरी! मैले तपाईंको कुरा बुझिनँ नि?' फूल पसलकी युवती अचम्मित हुन्छिन्। मैले सविस्तारमा सबै कहानी बताउँदिनँ। फूलसहितको गमला किन्छु, आर्यघाटतिर जान्छु। जहाँ दुई वर्षअघि मैले छोरीको मृत देहलाई सेतो च्यादरमा गुटमुट्याएर गाडेको थिएँ।
***
टक-टक-टक........!
म आफ्नै पदचापको ध्वनी सुन्दै आर्यघाट पुग्छु। आर्यघाट वरैबाट बर्थडे गीत गुनगुनाउन थाल्छु।
ह्यप्पी बर्थडे टु यु!
ह्यप्पी बर्थडे टु यु! डियर छोरी....!(४)
आहा, छोरी म आउनुभन्दा पहिल्यै आफ्नो चिहानमाथि बुट्टे जामा लगाएर बसेकी छ। मेरी तीन वर्षे छोरी कति सुन्दर देखिएकी! उसले दुई वर्षकी हुँदा भौतिक शरीर त्यागेकी हो। आज तीन वर्षकी भई। बुझ्नुभयो नि?
छोरी मलाई देख्नेबित्तिकै दौडिँदै आएर मेरो अँगालोमा बेरिन्छे। सोध्छे- बाबा हजुर किन ढिलो आएको?
म छोरीलाई छातीमै बेरेर भन्छु।
'पुन्टु, तिम्रो बाबालाई समयले छलछाम गर्यो। अनि भन नयाँ जामा कसले दिएको?'
छोरी प्रफुल्लित हुँदै सुनाउँछे।
'मामुले दिएको, मलाई भेट्न हिजो राति मामु आउनु भएको नि!'
'मामुले दिएको...? म अचम्मित हुन्छु। एउटा चिठी मेरो हातमा थमाउँदै छोरी भन्छे। हेर्नुस् त बाबा मामुले हजुरलाई चिठी पनि छोड्नु भाछ। चिठी खोलेर हेर्छु। लेखिएको छ।
'आज छोरीको जन्मदिन! उसलाई चिहानमा एक्लै नछोड्नु। केही काल धैर्य गर्नु। म मेरो संसारमा हाम्रो लागि एउटा घर बनाउँदैछु। अब यतै बस्नुपर्छ सबै जना। आज छोरीको साथमै बस्नु। उसलाई छातीमा च्यापेर निदाउनु, निदाइरहनु। भोलि हामी भेट्नेछौ। बाई डियर........बाई।'
चिठीलाई पट्याएर म गोजीभित्र हुल्छु। जहाँ मेरो एउटा पत्र छ। मैले पाठकलाई दुई शब्द लेखेको छु। यस्तो लेखेको छु।
'प्रिय पाठक, भोलिबाट म हुने छैन, मेरो अस्तित्व मेटिदिनु! मेरो अस्तित्व त्यसरी मेट्नु- जसरी मेट्छन्- मलामीहरूले चिताको अस्तित्व।'
त्यसपछि मैले छोरीलाई फूलसहितको गमला उपहार दिन्छु। मेरो उपहार स्वीकार गर्दै ऊ सोध्छे।
'बाबा म कस्ती देखिएकी छु?'
राम्री एकदम राम्री। म फूललाई देखाउँछु।
'यो फूल जस्तै राम्री छौ।' छोरी ठुस्किन्छे।
'नाइँ म फूल जस्ती छैन। फूल त गमलामा जीवित छ, म त मरिसकेँ।'
म छोरीलाई सम्झाउँछ।
'चिन्ता नगर पुन्टु मरे पनि-झरे पनि फूल त फूल हो नि।' ऊ पुन: मेरो छातीमा लुटपुटिन आउँछे। म उसलाई छातीमा टाँसेर बर्थडे गीत गाइरहन्छु। छोरी पनि लयमा लय मिलाउँछे। अबेरसम्म चिहानमा बाबा छोरीको बर्थडे गीत बजिरहन्छ........बजिरहन्छ।
ह्याप्पी बर्थडे टु यु!
ह्याप्पी बर्थडे टु यु ...डियर छोरी!
***
बर्थडे गीतमा रमाउँदा-रमाउँदै छोरीलाई निन्द्रा लाग्छ। म छोरीलाई छातीमा च्यापेर निदाउँछु ,..निदाइरहन्छु.. निदाइरहन्छु।