मेरो नाम हो आइफोन १२। मेरो जन्म एक सुखी, सम्पन्न र सानो परिवारमा भएको छ। यस घरमा आमाबुवा र उनीहरूको ५ वर्षे छोरा बस्छन्। आज छोरा वेदांश ४ वर्ष पूरा भई ५ लागेसँगै यस घरमा मेरो आगमन भएको हो।
मलाई देखेर वेदांश निकै खुसी भएको छ। उसले आफ्नो जन्मदिनमा साथीहरूलाई घरमा बोलाएर आफूले पाएको उपहार सबै साथीहरूलाई देखाउँदै छ।
म पनि निकै खुसी छु, आजदेखि वेदांश मेरो साथी भएकोमा। उसको र मेरो मित्रता गाँसिएसँगै उसले मलाई एकछिन पनि छोड्न मान्दैन। स्कुलमा मोबाइल फोन लान मनाही भएकाले स्कुल जाने समयमा उसको र मेरो साथ छुटाउन बुवा आमालाई निकै गाह्रो पर्छ।
बिहान उठ्नेबित्तिकै देखि स्कुल जाने समयसम्म र बेलुका स्कुलबाट आउनासाथ उसले मसँगै समय बिताउँछ। स्कुल गएर पनि दिनभर आफ्ना साथीहरूसँग फोनको बारेमा गफ गर्छ।
वेदांशले फोन पाएसँगै बुवा आमालाई पनि सजिलो भएको छ। उसले आफ्नो अधिकांश समय फोनमा बिताउने भएकाले आमा बुवालाई काममा डिस्टर्ब गर्न छोडेको छ।
वेदांशको उमेर बढेसँगै उसको र मेरो मित्रता झनै घनिष्ट भएको छ। उसले मसँग बसेर धेरै प्रकारका भिडिओ हेर्छ। धेरैजसो एनिमेसन र कार्टुन हेर्छ। मलाई पनि उसँग समय बिताउँदा एकदमै खुसी लाग्छ।
हाम्रो मित्रता बढेसँगै आमाबुवा र वेदांशको सम्बन्ध भने केही हच्किएको छ। आमाबुवा आफ्नै काममा व्यस्त र वेदांशलाई म नभई नहुने भएकाले उनीहरूले एक अर्कासँग समय बिताउन छोडेका छन्। खाना खाने बेला पनि वेदांशलाई मसँग बसेर भिडिओ नहेरी हुँदैन र सुत्ने बेला बल्लबल्ल मेरो साथ छुटाएर सुताउनुपर्छ।
वेदांशको उमेर जति बढ्दै गयो ऊ उति नै धेरै मसँग समय बिताउने भएको छ। घरमा आमाबुवाले पनि गाली गर्न थालेका छन् तर ऊ कसैलाई टेर्दैन। घरमा कोही पाहुना आउँदा पनि ऊ वास्ता गर्दैन। उसलाई कोहीसँग कुरा गर्न मन लाग्दैन।
उमेर वृद्धि भएसँगै उसले हेर्ने भिडिओहरू पनि फरक हुन थालेका छन्। उसले विभिन्न प्रकारका एपहरू पनि चलाउन सिकेको छ। मसँग जति धेरै समय बितायो, त्यति नै थोरै समय पढाइलाई दिन्छ। उसको र पढाइको मित्रता भने विस्तारै टुट्दै गएको छ।
आमाबुवाले पनि अब यो यस्तै हो कसैले भनेको टेर्दैन भनेर वास्ता गर्न छाडिदिएका छन्। तर मलाई भने वेदांशको चिन्ता लाग्न थालेको छ। उसले कस्तो भिडिओ हेर्छ, के के एप चलाउँछ र कस्तो साथीहरूसँग संगत गर्छ यसको बारेमा बुवाआमा अन्जान छन्।
वेदांश अहिले १२ वर्षको भैसक्यो र एक्लो पनि। ऊ आफ्नो अधिकांश समय आफ्नो कोठाभित्र एक्लै बिताउने गर्छ। आमा बुवासँग पनि पटक्कै बोल्दैन। म त उसको बच्चै देखिको साथी तर उसलाई चाहिएको जस्तो साथी हुन कहिले सकिनँ।
अब भने बुवा आमालाई पनि आफ्नो छोराको चिन्ताले राति निन्द्रा लाग्न छाडिसक्यो। वेदांशलाई के भएको हो भन्ने कुरा पत्ता लगाउन नसकेपश्चात उनीहरूले वेदांशलाई लिएर अस्पताल जाने निर्णय गरेका छन्।
म पनि वेदांशसँगै अस्पताल आएको छु। डाक्टरले उसलाई जाँच्दै छन् र केही प्रश्नहरू पनि सोध्दै छन्। धेरै समयको जाँचपछि डाक्टरले बुवाआमा दुवैलाई सँगै राखेर भने, 'तपाईंहरूको छोरालाई मानसिक रोग लागेको छ। उसलाई आफ्नो समय कोहीसँग बिताउन मन लाग्दैन, कसैसँग कुरा गर्दा झर्को लाग्छ, सानो सानो कुरामा रिस उठ्छ र एक्लोपन महसुस हुन्छ। जतिबेला पनि आफ्नो फोनमा समय बिताउने भएकाले ऊ मानसिक रूपमा अस्वस्थ्य छ। उसलाई यस्तो समयमा हाम्रो निगरानीमा राख्न अत्यन्त जरूरी छ। त्यसैले उसलाई केही समयको लागि अस्पतालमा भर्ति गर्नुपर्ने हुन्छ, तपाईंहरू सल्लाह गरेर यो फारम भरिदिनु होला।'
यो सुनेर वेदांशको आमाबुवालाई छाँगाबाट खसेजस्तै अनुभव भयो। उनीहरूले कहिल्यै पनि सोचेका थिएनन् वेदांशको मानसिक स्वास्थ्यले यो रूप लिएको छ भनेर।
उनीहरूलाई आफ्नो छोरासँग समय नबिताएको र मानसिक स्वास्थ्यमा ध्यान नदिएकोमा ग्लानी महसुस भयो। अबबाट वेदांशको स्वास्थ्यको ख्याल राख्ने र उसँग धेरै समय बिताएर उसको कुरा पनि सुन्ने प्रण लिए।
वेदांश अहिले अस्पतालमा छ र उसको र मेरो भेट नभएको धेरै भैसक्यो। आमाबुवा भने उसलाई भेट्न जहिले जान्छन् तर मलाई सँगै लिएर जाँदैनन्। हाम्रो यति वर्षको मित्रता टुट्दै गएको छ र मलाई यो कुराले एकदम नराम्रो लाग्छ। म कहिले वेदांश ठिक भएर आउँछ र उसँग पहिले जस्तै समय बिताउन पाऊँ भनेर पर्खेर बसेको छु र जहिले मनमनै उसलाई पुकार्ने गर्छु, 'तिमी छिट्टै आऊ है, वेदांश!'