मोबाइल फोनमा नझुण्डिइकन चित्तै बुझ्दैन। म्यासेन्जर, फेसबुक, टिकटक, युट्युब मेरा दैनिकी हुन्। सधैंझैं आज पनि मैले चिया पिउँदै म्यासेन्जर हेरें। अपरिचित मान्छेको नामबाट म्यासेज नोटिफिकेसन आएको रहेछ, झट्ट खोलेर हेरें। (नाम परिवर्तन गरिएको छ) निलु भन्ने नामबाट आएको रहेछ।
लेखिएको थियो- सर नमस्कार!
मैले खासै वास्ता गरिनँ।
त्यस्ता म्यासेजहरू आइरहन्छन्। उनको प्रोफाइल पिक्चर खोलेर हेरें,पहाडे मूलकी कुनै निम्न वर्गीय नारी। किन म्यासेज गरेको होला! नचिनेको मान्छेले भन्ने चाहिँ मनमा आइरह्यो।
मैले पनि तुरून्तै म्यासेज गरें।
'हजुर हामी एक अर्कालाई चिन्छौं?'
जवाफ आयो- 'चिन्दिनँ सर' भन्ने।
'अनि किन, कसरी, कहाँबाट?'
यसरी एकै पटक यति कुराहरू सोधेर पठाउँदा मलाई असजिलो पनि लागिरहेको थियो।
उनले लेखिन्- सर हजुर वकिल हो?
मैले लेखें –होइन, म अदालतमा काम गर्ने कर्मचारी हो हजुर।
'ए कुन अदालतमा काम गर्नुहुन्छ सर?'
'म उच्च अदालतमा काम गर्छु'
उनी निरन्तर भन्दै गइन्-हेर्नु न सर मैले न्याय पाइनँ।
मैले भनेँ- के भो र?
'मैले न्याय पाइनँ सर। प्रमाण हुँदाहुँदै पनि किन होला मैले न्याय पाउन नसकेको सर?'
म अन्यौलतामा परें। मलाई उनका कुराहरू अनायासै बुझ्न मन लाग्यो। न मैले उनका कुराहरू बुझेर पनि उनलाई न्याय दिन दिलाउन सक्छु, तै पनि उनका भावनाहरूले मलाई चस्स घोच्यो।
उनले आफ्नो मुद्दाको बारेमा सबै सुनाइन्।
'मेरो मुद्दा जिल्ला अदालतबाट समेत फैसला भइसकेको छ सर, मलाई हराइदिएँ। मैले भनेको कुराहरू प्रमाणमा नै लिएनन्। उसले नभाको कुरा भनेको थियो, उसैको कुरा प्रमाणमा लिए।'
उनले जबरजस्ती करणी मुद्दाको जाहेरी दिएकी रहिछन्. त्यो मुद्दामा जिल्ला अदालतबाट नेपाल सरकारको वादी दाबी नपुग्ने गरी फैसला भएको रहेछ।
उनले एकै सासमा भनिन्-
'के मैले अब न्याय पाउँदिनँ त सर?'
मलाई अलिअलि संकोच पनि लाग्यो। नचिनेको मान्छे, साँच्चै पीडित नै हो कि अरू कुनै स्वार्थले हो। आजकल चिनेकै मान्छेसँग पनि त फोन, म्यासेजमा सम्वाद गर्नु हुँदैन, समय खराब छ। त्यसमाथि नचिने,नदेखेको मान्छे।
मैले ढाडस दिँदै भनेँ –यसरी फोन म्यासेन्जरमा कुरा गरेर हुँदैन। भेटेर कागजपत्रहरू हेरेर मात्रै मुद्दाको बारेमा के भएको रहेछ भन्ने थाहा हुन्छ। बरू कुनैदिन कागजपत्रहरू हेरौंला।
अलि पन्छिने मनसायले मैले कुरालाई वास्तविकतातिर मोडेँ।
उनले भनिन्- खै सर, फैसला भएको त दुई महिनाजति भइसक्यो,फैसलामा सही नै भाको छैन रे।
मैले भनेँ- ए, त्यसो भए फैसला तयार भएपछि हेरौं न त।
उनले भनिन्- हुन्छ सर। सर आज मलाई कोही नहुनेको पनि त भगवान हुन्छन् भन्थे, होला जस्तो लागिराकोछ सर।
'त्यस्तो होइन, मैले सकेको सहयोग गरिहाल्छु नि!'
'सर मेरो कागजपत्रहरू हेरिदिनु परो।'
मैले भनेँ- हुन्छ
फोन म्यासेन्जरमा यस्तै रीतले कुराकानी भइरह्यो।
सुरूमा त मलाई डर पनि लागेको थियो। समय खराब छ। राम्रो गर्न खोज्दा नराम्रो हुन्छ। त्यही माथि आफ्ना दिनदशा पनि त्यति राम्रा चलिरहेका छैनन्। आ.. जे सुकै होस् मैले सबैको ठेक्का लिएर सक्छु त!
तर विस्तारै उनको निर्दोषिता, शालिनता, बोली व्यवहारको मिजासले मलाई उनका घाउहरूमा मल्हम लगाउन आफूले सकेको सहयोग गर्न मन लाग्यो।
एकदिनको कुरा हो।
न्यायाधीशज्यूहरूको सरूवाले गर्दा मलाई पनि फैसला टिपोट गर्ने हतारो भइरहेको थियो।
त्यसैबेला उनले फोन गरिन्- सर बोल्न मिल्छ?
मैले भनेँ –एकैछिन पछि म आफैं कल गरौंला
एकछिनपछि समय निकालेर मैले फोन गरेँ।
'सर म पूरै कहानी हजुरलाई सुनाउन चाहन्छु झर्को नमानी पूरै सुन्दिनु ल सर?'
मैले पनि अनायासै ल हुन्छ भन्नु भनेछु।
उनले आफ्नो कथा भन्न सुरू गरिन्।
'सर, म कलेज पढ्दापढ्दै एउटा भोजपुर तिरको मान्छेसँग चिनजान भयो र हिमचिमसमेत बढ्यो। हाम्रो कुरा घरसम्म थाहा भयो। इटहरीमैं हामीले सानोतिनो बिहे गर्यौं। उसले मलाई बिहे गरेकै दिन पहाड भोजपुर लिएर गयो। भोजपुर पुग्दा मात्र थाहा भयो उसकी त घरमा जेठी श्रीमती पनि रहिछन्। माइत गएर बसेकी थिइन् रे, अर्की बिहे गरेर ल्याउँदैछ भन्ने थाहा पाएर घरमा आएकी रहिछन्।
त्यतिखेर मलाई कस्तो भयो होला भन्नु त सर!
घरमा उनीहरूको झगडा भयो। सानै उमेरकी म त्यसकी घरमा जेठी श्रीमती छ भन्ने थाहा पाएकी भए म ऊसँग कुनै पनि हालतमा बिहे नै गर्दिनथेँ नि। मलाई छाँगाबाट खसेजस्तै भयो। मैले टेकेको जमिन नै भाँसिएजस्तो लाग्यो।
मर्न पनि सकिनँ सर। जसोतसो गरेर रूँदै त्यो रात काटेर भोलिपल्ट नै माइतीको शरण लिन आएँ। माइतमा आएर सबै बेलिबिस्तार लगाएँ।
आमा बुबा र भाइबहिनीहरूलाई पालेर सानोतिनो काम गरेर बसेकी थिएँ।
यसै क्रममा एउटा मेरो कलेज पढ्दाको साथी जसले बीचैमा कलेज छोडिदियो र मैले चाहिँ कलेज नछोडी ब्याचलर पास गरेकी थिएँ। हो त्यो साथीले मेरो फोन नम्बर कहाँबाट पत्ता लाएछ, त्यो साथीले फोन गरेर भेट्ने कुरा गर्यो।
मैले मानिनँ।
उसले मलाई फोन गरेर भन्यो- हेर निलु, तिमीलाई म कलेजमा सारै मन पराउँथेँ। भन्न चाहिँ सकिरहेको थिइनँ। तिमीलाई सारै माया पनि गर्छु। तिमी भोजपुरबाट फर्केर आएको सारै राम्रो भयो। अब हामी भेट्नुपर्छ। म तिमीलाई बिहे गर्न चाहन्छु।
मैले मानिनँ, इन्कार गरेँ। भेट पनि गरिनँ। मलाई पहिले पनि त्यस्तो भाको सम्झेँ।
ऊ कर गरिरहन्थ्यो। म मान्दिनथेँ।
त्यस्तैमा एकदिन सारै कर गरेर साथीहरूसँग गोकुलम पार्कमा घुम्न जाऊँ भन्यो।
उसले सारै कर गरेपछि र अरू पनि साथीहरू छन् के हुन्छ त सबै साथीहरूसँग घुमफिर गर्दा फ्रेस पनि भइन्छ भनेकाले मैले पनि यसो सोचें।
काम गर्दा गर्दा दिमाग पनि बोर भाको छ। ठीकै छ ऊ मात्रै होइन रहेछ त भनेर हुन्छ न त भनिदिएँ।
अनि म उसले बोलाएको ठाउँमा गएँ। ऊ आफू बसेको कोठा अगाडि बसेको रहेछ। मैले त्यहाँनेर पुगेपछि अरू साथीहरू खोई त भनेर सोधेँ। गर्मी छ त्यसैले तिमीलाई पनि तिर्खा लागेको होला भनेर सबै जना सँगै बसेर खाउँला भनेर बहिनी र साथीलाई चिसो लिएर आउनु भनेर पठाएको छु। उसले भन्यो- हिँड भित्र मेरो कोठामा बस्दै गरौं, साथीहरू आइहाल्छन्।
होइन उतै पार्कतिर खाँदा भइहाल्छ नि भनेर म उसले भनेको नमानी त्यहीँ उभिइरहेँ।
निकैबेर उनीहरू आइनपुगेका र बाहिर घाम लागिराखेकाले गर्मी भयो र उसले भित्र जाऊँ कि जाऊँ भनेर कर गरेपछि भित्र कोठामा गएर बस्दै गर्नु परो अरू आएपछि चिसो खाएर घुम्न निस्किनु पर्ला भनेर म कोठाभित्र गएँ।
भित्र कोठामा पर्खेर बसेको आधा घण्टा जति समय बितिसक्दा पनि चिसो लिएर कोही आएनन्।
मैले भनेँ- खोई त कोही आएनन्। घुम्न जाऊँ। कोठामा बस्ने गरी आएकी होइन म।
उसले भन्यो- ठीकै छ, दश पन्ध्र मिनेट जति पानी खाएर बस्दै गरौं। उनीहरू आएपछि निस्कम्ला।
मैले हुन्छ भनेपछि उसले टेबलमा दुई गिलास पानी राखेको रहेछ। मलाई पानी खाऊ भन्यो। मलाई एक गिलास पानी दियो, र उसले अर्को गिलास पानी पियो। मैले पनि पिएँ।
सर,
पानी पिएको एकछिनपछि मलाई रिँगटा लागेजस्तो भयो।
मैले सोचें ला अब के हुने हो! कोठामा अरू मान्छे पनि कोही छैनन्। उसले नै पो मलाई केही गर्ने पो हो कि!
हे भगवान् मलाई किन यस्तो भयो। एक्लै पनि छु। यतिकैमा एकछिन पछिदेखि नै मेरा हातखुट्टा र जिउ पूरै चल्न छोड्यो। मेरो चेत चाहिँ हराएको छैन तर प्यारालाइसिस भएको मान्छेजस्तो न बोल्न सक्छु न हातगोडा चलाउन सक्छु।
यस्तो अवस्थामा पारेर उसले मलाई रेप गर्यो सर।
उसले रेप गरेको मैले सबै थाहा पाएँ। चेत चाहिँ छ तर प्रतिकार गर्न सकिनँ। म मुढोजस्तो थिएँ सर।
मलाई उसले यस्तो अवस्थाम पारेर पटक पटक रेप गर्यो, मनको इच्छा पूरा गर्यो।
अनि उसले त्यस्तो गरिसकेपछि धेरैबेरपछि मेरो होस खुल्यो। म धेरै रोएँ, कराएँ।
म पहिले पनि एक पटक भाग्यले ठगिइसकेकी मान्छेलाई किन यस्तो गर्यौ भनेर कराएँ। मेरो जिउ नै भारी भएर आयो। मेरो जीवन नै बर्बाद भएजस्तो भो। म मरेको लाशजस्तै भएँ। मैले अलाप विलाप गरेको देखेर मैले तिमीलाई आखिरमा बिहे नै गर्ने हो, त्यही भएर यस्तो गरेको हो भन्यो। आखिर मलाई यस्तो अवस्थामा पारेर किन यसरी जबरजस्ती गर्यौ भनेर मैले भनेँ।
हेर यो कुरा कसैलाई नभन, म तिमीलाई बिहे गरिहाल्छु नि भनेर सम्झायो।
बेलुकाको पाँच बजिसकेको थियो।
उसले यो कुरा कसैलाई नभन्नु, भन्यौ भने तिम्रो पनि बेइज्जत हुन्छ भन्दै मलाई फकाउँदै घर फर्किनका लगि केही वर ल्याएर छोडिदियो।
म भारी मन र दुखेर फुट्न लागेको टाउको लिएर घर आइपुगेँ।
'के भो दिदी? सन्चो छैन कि के हो?' भनेर बहिनीले सोध्दा केही भाको छैन भनेर जवाफ दिए पनि मलाई मर्न मात्र मन लागिरहेको थियो।
मैले आफ्नो अघिल्तिर ती निर्दोष बाबु आमाको अनुहार सम्झें। तर आफ्नो बेइज्जती हुने डरले यो कुरा कसैलाई सुनाइनँ।
राति धेरै खट्पटी भो मलाई। सँगै सुतेकी बहिनीलाई भनेँ- बहिनी म मरेँ भने पीर नगर्नु है!
मेरो बोलीले बहिनीलाई पिरोल्यो। उनले के भाको छ दिदी हजुरलाई भनेर घटनाको बारेमा नसुनाइकन सुखै दिइनन्।
मैले सबै बेलिविस्तार लाएँ, मनको भारी बिसाएजस्तो भो।
बहिनीले भनिन्- हेर दिदी हामी त पढेलेखेका मान्छे, यस्तो कुरा सबैलाई भन्नुपर्छ। बेइज्जत हुन्छ कि भन्ने डरले सहेर बस्नु हुँदैन। हिँड, प्रहरीलाई भन्नुपर्छ। त्यो रात यही सल्लाहमा हामी निदायौं।
भोलिपल्ट बिहानै हामी इलाका प्रहरी कार्यालयमा गयौं। त्यहाँ हाम्रो कुनै सुनुवाइ नै भएन।
बहिनीले एक जना प्रहरी दाइलाई चिनेकी रहिछन् उसमार्फत् भनेपछि जाहेरी लेखेर ल्याउनु दर्ता गरिदिऊँला भनेकाले वकिल खोजेर बल्लतल्ल जाहेरी लेख्न लगाएर जाहेरी दर्ता भयो।
हामीले जाहेरी हालेपछि प्रहरीले त्यो केटालाई पक्राउ गरेर बयान लियो। त्यसले प्रहरी र अदालतमा बयान गर्दासमेत अपराध स्वीकार्यो। मैले बिहे गर्ने सोचाइ राखेर निलुलाई त्यस्तो गरेको हो भन्यो।
मलाई अदालतबाट बकपत्र गर्न भनेर पनि झिकाइयो। हामीले सहमतिमा त्यस्तो गरेको होइन, त्यो केटाले मलाई जबरजस्ती नै करणी गरेको हो, म बलात्कृत नै भएकी हुँ भनेर लेखाएँ। मैले अदालतमा बकपत्र गर्दा नि सर त्यस्तो सबै कहानी लेखाउन नखोज। हामीहरू तिम्रो मात्रै कर्मचारी होइन, अरू पनि कति धेरै काम छ, तिम्रो त्यस्तो लामो कथा सुन्ने र लेख्ने फुर्सद छैन। भन्ने भए सोधेको कुराको मात्र जवाफ देऊ भनेर मेरो कुरै सुनेनन्।
मलाई त्यहाँ चिच्याएर रून मन थियो। म लुटिएकी छु, म बलात्कृत भएकी छु भनेर।
तर मैले त्यहाँ बकपत्र गर्दा पनि दोहोर्याई तेहेर्याई त्यही घिनलाग्दो कुराहरु भन्नु पर्दा आफूलाई पटक पटक रेप भएजस्तै लाग्यो। न मेरो बकपत्र महिला कर्मचारीले नै गरे, न गोप्य कोठामा नै गरे। म त्यहाँ पनि बेइज्जती भएँ सर।
त्यो केटाले मलाई रेप गरिसकेपछि 'मैले तिमीलाई रेप गरेकै हो तर बिहे गर्छु' भनेर गरेको हो भनेर त्यसले बोलेको अडिओ रेकर्डहरू समेत मैले सबै प्रमाणमा राखेँ, अदालतमा बुझाएँ। सहमतिमा करणी लिनु/दिनु भएको होइन भनेँ, रोएँ, चिच्याएँ। न्यायाधीश श्रीमानज्यूलाई आफ्ना कुराहरू सुनाउन खोजेँ, उहाँले मेरा कुराहरु सुन्नै मान्नु भएन। उल्टै झपार्नु भयो। आखिर मैले प्रमाणमा पेस गरेका प्रमाणहरूलाई प्रमाणमा लिएनछन् सर।
उसैले भनेको झुटो कुरालाई पो प्रमाणमा लिएछन्। सबै मिलेका छन् सर। त्यसले पनि सबैलाई पैसा नै खुवाएछ क्यार। मेरो वकिलले पनि राम्रो बहस गरिदिएन। मलाई हराए। मैले न्याय पाइनँ। के मेरो उमेर पुगेको हुनु नै मेरो अपराध थियो?
मलाई यत्ति भन्दिनु न सर मैले न्याय पाउँछु होला कि पाउँदिन होला?
उनका कुरा सुनेर मलाई रिँगटा लाग्ला जस्तो भयो। मैले उनको प्रश्नको जवाफ दिन सक्ने कुरै थिएन।
मैले भनेँ- त्यो फैसला तयार भएपछि सरकारी वकिल कार्यालयमा गएर चाँडो गरी पुनरावेदन गरिदिनु भन्नु होला।
अनि पुनरावेदनपत्र दर्ता भएपछि हजुर जाहेरवालाको तर्फबाट पनि एक जना राम्रो वकिलसाब राख्नुपर्छ, जसले हजुरका सबै कुराहरु विस्तारमा बहस गर्न सक्नु हुनेछ।
'कताको फैसला तयारी, कता पुनरावेदन?', उनले करिब करिब आशा मारिसकेझैं गरी भनिन्। 'हुन्छ सर।'
म हरेक दिन उनको यही प्रश्नको उत्तर खोजिरहेको छु।
एउटी निरीह, निम्न वर्गीय नेपाली नारी जो आफ्नै लुटिएको अस्मिताको खोजीमा म लुटिएकी छु, लुट्नेलाई सजाय होस् भनेर लुट्नेलाई सजाय दिलाउनका लागि रोइकराई हारगुहार गरिरहेकी छन्।
न म वकिल हो, न म न्यायाधीश हो, उनीप्रति सहानुभूतिबाहेक के नै गर्न सक्छु र!
मेरो मनमा बारम्बार एउटै प्रश्न आइरहेको छ- के अपराधीले सजाय पाउला? के निलुले न्याय पाउलिन् त?