कविता
जब पत्रकारको नाममा
क्यामेराको हतियार तेर्साएर
आम मानिसको मनमा
डरको बिज रोपिदिन्छ भने
कसरी लहराउँछ
जनजनको मनमा पत्रकारिता!
नक्कली कार्ड भिर्दै
गाउँघर पसेर
माइक तेर्स्याइरहेको स्याल
कहिले वकिल,
कहिले पुलिस त
कहिले न्यायाधीश बनेर
कसलाई देखाइरहेछ ताण्डव?
आखिर ऊ हो को?
जसले फैलाइरहेछ अफवाह?
जसका देखाउने दाँतले प्रश्न सोधिरहेछन्
र लुकाउने दाह्राले नैतिकता न्याँकिरहेछन्?
ऊ आफैंबाट भाग्दै छ र बस्ती पसेको छ!
शिक्षक सबै कुरा स्टोर भएको पेनड्राइभ हुनुपर्ने
कर्मचारीले क्यामेराको इसारामा चल्ने
रोबोट बन्नुपर्ने
भाइरल हुनलाई आफैं नाङ्गिएर तमासा गर्नुपर्ने
खरर किताब भट्याएर युट्युबको भ्युजबाट गोजी भर्नुपर्ने!
आखिर ऊ को हो?
हरेकका हातमा आज मिथ्था समाचार कुदिरहेछ
घर झगडाको भाइरस सल्किरहेछ
आज कानुनको आँखामा आँखा जुधारएर सोध्नु छ-
आखिर कोही किन भाइरल भइरहेछ?
मलाई डर लागिरहेछ
क्यामेराले कसरी समाजलाई छियाछिया पारिरहेछ।
कलमको भद्दा निपले लतपत्याएर लेखिएको बयानले
अपराधीलाई यहाँ व्यापारी बनाइरहेछन्।
मलाई डर लागिरहेछ
गिटी, बालुवा, कर छली, भ्रष्टाचारको
उन्माद र प्रकृति दोहन
किन सधैं राजनीतिको छायामा बसेर
आनन्दले आङ कन्याइरहेछन्?
अनि
सडकमा कोही जनताको हारगुहारलाई
कसरी मेटाउँछ लोकतन्त्रका झुटा नाराहरूले?
मानौं, यो देशको केन्द्रमा जनताको
आवाज कहिल्यै पुग्दैन,
जाजरकोटका प्राणको याचना कसरी पुगोस्?
बरू पुग्छ चिसो लासमाथि पार्टीको झण्डा।
जब पत्रिकाका हरेक पृष्ठमा
स्याम्पु र स्याम्पेनको विज्ञापनले लगाएर
बसेको छ पर्खाल
जसले हरेक दिन छेक्छ- मिडियामा
नैतिकताको बहाब
जब सत्ता र शक्तिको आँधीले निल्न खोज्छ
आजाद आवाजलाई
तब
तपाईंको विचार र मेरो कविता
दुवै धिपधिप् गर्न थाल्छन्।
मलाई डर छ।
यी कुनै चिसो बिहानी निभेर नजाऊन्।