मनमा धेरै इच्छा आकांक्षा र अभिलाषाका साथ उच्च शिक्षा पूरा गर्ने तीव्र हुटहुटी बोकेर म केन्द्रीय राजधानी काठमाडौं पुगें।
बिरानो सहर। अन्जान मान्छे। मेरो सपनाभन्दा तीव्र गतिमा दौडिएका गाडीहरू हेरिरहें। त्यो वातावरण, त्यो धुलो, होहल्ला मेरो लागि सपनाको केन्द्र बन्यो।
गाउँ हुँदा लाग्थ्यो काठमाडौं गएर मर्निङमा कलेज पढ्ने, डेमा केही सानोतिनो काम भए पनि गर्ने। जब म त्यो सहरमा पुगें, यत्रो ठूलो सहरमा एउटामात्र कलेज छ जस्तो लाग्थ्यो। र, मैले सुनेको नाम पशुपति क्याम्पस।
गाउँबाट केही समय अगाडि गएका साथीहरूको मुखबाट बारम्बार सुनेको नाम हो पशुपति कलेज।
पछि थाहा भयो; मेरो गाउँका घर जति बाक्ला त यो सहरमा कलेज र स्कुलमात्र रहेछन्। यतिका धेरै कलेज रोजी छानी पढ्न पाइने।
कखरा सँगै सिकेकी साथीको एक्कासि फोन आयो। म झसंग भएँ। सँगै पढेको भए पनि म केटीहरूसँग प्रायः त्यति धेरै बोल्दिन थिएँ। केटीसँग बोल्यो, नजिकै बस्यो भने गाउँका मान्छेले कुरा काट्थे। ‘फलानो यस्तो, त्यो त्यस्ती’ भन्ने मेरो समाज अहिले पनि त्यस्तै छ।
मुटुको धड्कन बढ्दै गर्दा मैले फोन उठाएँ।
‘हेल्लो’
उनले फटाफट सोध्दै गइन्।
‘तिमी कहाँ हरायौ। फोन छैन। एसएमस छैन। अनि भन, कुन कलेज पढ्ने भयौ?’ मैले सानो स्वरमा भनें- पशुपति।
उनले मेरो कुरा पूरै नसुनि ‘एड्मिसन गरेऊ?,’ भनेर सोधिन्।
‘गरेकै छैन। अब एक दुई दिन पछि जान्छु।’
‘म जि.पि.पढ्ने भएँ, आऊ त्यहीँ पढौं। भोलि बिहानै ६ बजे आउनु चाबहिल अनि सँगै जाउँला।’
मैले ‘हुन्छ’ भनें।
हामी गाउँमा हुँदा राम्रोसँग नबाेल्ने मान्छे सहर गएर एउटै बेन्चमा बसेर पढ्न थाल्यौं।
सबैका आ-आफ्नो जोडी हुन्थे। सुनाउँथे ‘त्यो त्यसको ब्वाइफ्रेन्ड उसको मान्छे नजिस्काऊ मार्छ।’ यस्तै यस्तै।
क्यान्टिनमा जाँदा पनि सबै जोडीमात्र देखिन्थे। उनी र मसँग पैसा हुँदैन थियो सधैं खाजा खाने। कहिलेकाहीँ मात्र क्यान्टिन जान्थ्यौं।
यसरी नै ब्याचलर पढ्दै गयौं। म बीचमा करिब छ महिना कलेज गइनँ। बाध्यता भनूँ या विवशता काम नगरी म सहरमा एक दिन पनि बस्न सक्दिनँ थिएँ।
कोठा भाडा, कलेज फी, पुस्तक अक्रमबक्रम सबैको चाँजोपाँजो आफैंले मिलाउनु पर्थ्यो। बीचमा कहिलेकाहीँ फोन हुन्थ्यो। आज यस्तो पढाइ भयो भन्दै बेलुका लामो समय कुरा गर्थ्यौं।
उनी माया प्रेमका कुरा गर्न मन पराउँथिन्। उमेर पनि त्यस्तै थियो। तर, म भन्न पनि डराउँथें। यदि कहिलेकाहीँ केही भनी गएँ पनि कसरी सामू हेर्नु होला लाग्थो।
मबाट पार नलाग्ला जस्तो लागेछ। उनले अरू नै कोही साथी बनाइछिन्। मलाई भेट हुनेबित्तिकै सुनाइन्।
म केही बोल्न सकिनँ। हेरिरहेँ उनको अनुहार। उनले मेरो भाव त बुझिन्। तर, मैले केही उत्तर दिइनँ।.... कस्तो छ ऊ?
उनले सबै कुरा बताइन्। गल्ती मेरै हो जस्तो लाग्यो। मुटु फुल्यो। मन दुखित भयो।
उनले अन्तिममा मलाई लोक सेवा पढ्ने सल्लाह दिइन्। उनी लोक सेवा पढ्न थालिछन्। उनको गफ लोक सेवामय हुन्थ्यो।
अनि, मैल निणर्य गरेँ लोक सेवा पढ्ने।
एउटा इन्स्टिच्युट पुगेँ हतारिँदै। सोधेँ त्यहाँ।
‘योग्यताले सुब्बा पढ्न मिल्ने र भोलिदेखि नयाँ क्लास सुरू हुँदैछ। ओरेन्टेसनमा आउनु होला।’
‘फि कति?’, मेरो प्रश्न थियो।
‘तीन वटा पेपरको २१ हजार।’
‘पहिलो पेपरमात्र पढ्न मिल्दैन?’
‘मिल्छ। आठ हजार तिर्नु न। एक दुई दिनपछि दिँदा हुन्छ।’
एकछिन सोचेँ, मेरो सातो गयो।
एक्काइस रुपैयाँ नहुने मान्छे म। एक्काइस हजार कसरी जुटाउने?
भोलिपल्ट बिहानै क्लास पुगेँ टनाटन विद्यार्थी। म एउटा छेउमा बसेँ। कोही चिनेका थिएनन्।
‘अगाडि खाली छ यहाँ बस्नु न मास्क भित्रबाट आवाज आयो। म त्यही आएर बीचमा बसेँ। घर कहाँ हो? नाम के हो? यस्तै प्रश्न आउन थाले ममाथि। उत्तर दिँदै गएँ। तर त्यो दिन उसलाई मैले केही सोधिनँ।
एउटा टक्क नीलो कोट पाइन्टमा आएको मान्छे माइक मुखमा लगाएर बोल्न लाग्यो। मैले कल्पना गरेँ यो पढाउँदै गरेको मान्छे कुनै दिन म हुनेछु।
दोस्रो दिन क्लासबाट निस्किएँ। ती मास्क लगाएकी मान्छे मसँगै निस्किइन्। अनि मास्क खोलेर मुसुक्क हाँसेर बोल्न लागिन्। उनको त्यो हाँसोले मेरो हिँडाइको गति कम भयो।
मलाई स्कुल जाने हतार थियो। बोर्डिङ स्कुल ठीक समयमा पुग्नु पर्थ्यो।
मैले आफ्नो समस्या बताएँ।
उनी पनि गाडी चढ्ने ठाउँसम्म बोल्दै गइन्।
फेसबुकमा साथी बन्यौं। कस्तो मित्रता। कस्तो समय। यति छिट्टै।.......
नम्बर आदानप्रदान भयो। गाडी चढे फोन आयो। तारिफ आउन थाल्यो। म उम्म, हो, त्यस्तो। यसरी नि बोल्न लागेँ। पढाइकै कुरा हुन्थे धेरैजसो।
कस्तो संयोग। उनलाई गुमाएर उनले भनेको ठाउँमा गएको म अन्जान मान्छेको मायामा परेँ।
पढ्दै थियौं। एजुकेसन पढेकाे म। शिक्षक सेवामा ठूलो विज्ञापन भयो। पहिलो पेपर जिके आइक्यू सबै मिल्थ्यो। दोस्रो पेपर कलेजमा पढेको कोर्स।
पहिलो जागिर जहाँ भए पनि खाने हो पछि अरू विचार गरौंला। शिक्षक सेवा पढ्ने निधो गरेर आगडि बढ्यौं दुबै जना।
परीक्षा सोच जति राम्रो भएको थिएन।
‘तिमीले गर्दा यस्तो भएको हो।’ मैले भनेँ।
‘उसो भए म बोल्दिनँ पढेर बस्नू!’
हाम्रो बोलचाल हरायो खान खाएर सुतेको थिएँ ११ बजे फोन आयो। उठाएँ।
‘हार्दिक बधाई प्यारो मान्छे’
नभन्दै नि.मा. तह पास भएँ। उनी प्राविमा पास हुनेमा ढुक्क थिइन्।
उनले खरिदारको पनि परीक्षा दिएकी रहेछिन्। उनी खरिदारमा सिफारिस भइन्।
पोस्टिङ हुञ्जेल अफिसर पढ्ने योजना बनायौं।
उनले मलाई बुक पनि किनिदिइन्।
तर दुर्भाग्य त्यो सहर छोडेर गाउँ फर्कन बाध्य भएँ। मलाई निजामती बन्ने इच्छा छ। उनलाई मसँग बिहे गर्ने।
जात मिल्दैन, भाषा मिल्दैन, घर परिवारले अस्वीकार गर्छ भन्छु म।
‘अफिसर भएपछि घर,परिवार, समाज सबैले स्वीकार्छन्’, उनको जवाफ। तर, अफिसर कहिले भइन्छ वा भइँदैन टुङ्गो छैन। क्लास भौतिक रूपमा लिन सक्ने अवस्था पनि छैन।
फेरि ती कलेजवाली फोन गर्छिन्।
‘सरी त्योसँग म बिहे गर्न सक्दिनँ। हामी बिहे गरौं।’
लाग्छ कहिले त यो मंसिर महिना फर्केर नआओस्!