मेरा नजिकका सबै साथीहरू टाढिन्छन् एकैचोटि। अब मसँग आफ्नो मनको कुरा पोख्नलाई कोही थिएनन्, ट्राफिक चोकमा कफी पिउँदै बात मार्नलाई कोही थिएनन्, दस पटकसम्म नाम बोलाएर रुनलाई कोही थिएनन्, कसैले वास्ता नगरे पनि मेरो कुरा सुन्दै नसुने पनि जबर्जस्ती आफ्नो कुरा सुनाउनलाई कोही थिएनन्, ल साथी यहाँ जाऔं भनेर भन्नलाई कोही थिएनन्।
उसको बोली नसुनेको धेरै भएको थियो, उसको अनुहार नहेरेको धेरै भएको थियो, आजकल उसको पसलसम्म पनि जान पाएको थिइनँ। कतै उसको पसल खुला छ र ऊ उसैगरी मुस्कुराएर पसलमा बसिरहेकी पो छे कि! दिमागमा ऊ मुख्य पात्र भएको फिल्म कल्पना गर्थें तर पहिला थ्रिडी आउने ऊ अहिले उसको फोटो झिरझिर आउन थालिसकेछ।
अब त उसको अनुहार पनि सम्झिँदा सम्झिँदा दिमागलाई मनोटोनस भएर होला धुमिल धुमिल भएको छ। त्यही पनि अझै उसको फोन आउँछ कि, कतै एक्कासि बाटोमा भेट पो हुन्छ कि भन्ने आशा लाग्छ। ऊसँगको रोमान्टिक पल कल्पना गर्छु र कहिले आँखा रसाउँछ भने कहिले मन्द मुस्कान देखापर्छ।
धेरै समयपछि भैरहवा जाँदै थिएँ।
'ल है मणिग्राम, भलबारी, कोटिहवा, भैरहवा, सुनौली' भन्दै खलासी दाइले उद्घोष गरे।
म बसभित्र हतारिँदै गएँ तर त्यस बसमा सिट नै खाली नभएपछि बसबाट ओर्लिएँ। अर्को बस पनि त्यसैगरी आयो म उसैगरी बसभित्र गएँ। सिट त बसमा खाली थियो तर दाहिने साइडमा उसको पसल थियो त्यो साइड पूरै प्याक भएपछि म बसबाट ओर्लिन खोजेँ।
सहचालक दाइले 'ए भाइ किन ओर्लेको त्यति धेरै सिट खाली छ त' भन्दै मलाई धकेल्दै थिए। म जबर्जस्ती त्यस बसबाट ओर्लिएँ।
अरू एक दुई वटा बसमा भनेजस्तो सिट नभएपछि चार पाँच वटा बसपछि एउटा बसमा भनेजस्तो सिट भएपछि म त्यस बसमा नै यात्रा गरेँ।
धेरै समयपछि उहीँ पुरानै काम दोहर्याएको थिएँ। झ्यालमा हात र टाउको राखी पुरानो दिन सम्झँदै, कल्पनामा रमाउँदै थिएँ। नास्तिक मान्छे आस्थिक भएर मनमनै कामना गरिरहेको थिएँ कि आज धेरै समयसम्म बन्द पसल खुला भएर ऊ त्यही पसलमा हुने छे र म टक्कसँग अडिएर उसलाई हेरिरहने छु।
कल्पनामा रमाउँदा रमाउँदै बसले त्यही ठाउँमा पुर्याउँदै थियो जहाँको लागि प्रतीक्षा गरिरहेको थिएँ। उसको पसल भएको ठाउँमा बस रोकियो। सहचालक दाइले यात्रुलाई ओर्लिन भन्दै थिए।
मेरो नजर झ्यालबाट उसको पसलतिर नै थियो। धेरै समयसम्म बन्द पसल आज खुला थियो। मैले अझै नजर बढाएँ तर उसलाई देखिनँ।
बस हिँड्न थाल्यो म आत्तिँदै 'दाइ दाइ रोक्नू' भनेँ।
'ए भाइ यतिका समयसम्म रोक्दा तिम्रो ध्यान कहाँ थियो' भन्दै थर्काउँदै थिए।
म चुपचाप भैरहवा जाने मान्छे बीच बाटोमै ओर्लिएँ।
उसको पसलमै जान गाह्रो लाग्यो। टाढाबाट पाँच मिनेट जति त्यता नजर बढाएँ तर त्यहाँ मैले न त उसको दाइलाई देखेँ न त उसलाई नै। त्यहाँ अर्को ३०/३५ वर्षको दाइ पसलमा देखेँ। जे परे पर्ला भनेर उसको पसलतिर पाइला लम्काएँ।
मुटु ढुकढुक थियो कतै म पसलमा हुँदा ऊ आउने पो हो कि! भन्ने डर पनि थियो।
'दाइ पसलमा हजुर नै हो र ?'
'उम्म् मै हो किन?'
'नाइ दाइ पहिला अर्को दाइ हुनुहुन्थ्यो त्यसैले सोधेको'
'ए अ उहाँबाट मैले किनेको हो भाइ पसल'
'कति समय भो नि दाइ?'
'तीन महिना जति भयो होला भाइ।'
'अनि उहाँ दाइ कहाँ जानुभएको छ थाहा छ?'
'नाइँ भाइ मलाई थाहा भएन नि।'
'ए ल ल हुन्छ' भन्दै म पसलबाट बाहिरिएँ र भैरहवा जाने बसमा चढेँ।
अब लगभग सम्पूर्ण आशा सकिएका थिए। ऊ भेटिन्छे कि भनेर त्यतिकै भैरहवा आउने बहाना सकिएको थियो। तर भैरहवा आउँदा झ्यालबाट उसको पसलतिर हेर्दा आउने आनन्द त कहाँ सकिन्थ्यो र! अब त लाग्दै थियो उसको बिहे नै भैसक्यो होला।
ऊ बोल्दिन, फोन उठाउँदिन भन्ने थाहा हुदा हुँदै पनि लगातार फोन गरिरहन्थेँ। उसले ब्लक गर्छे तर ब्लक गरेपछि पनि दिनमा एक दुई पटक कल गर्थें।
यस्तो लाग्छ कि उसलाई कल गर्नु मेरो धर्म नै हो र म त्यो धर्म निभाइरहेको छु। मेरो नम्बर ब्लकपछि पनि अरूको नम्बरबाट कल गर्थें 'हेलो' भन्ने आवाज आउँथ्यो अनि मेरो बोली सुनेपछि ब्लक!
धेरै नम्बर ब्लक भैसकेपछि एउटा सिमबाट चाहिँ उसको हेलो आवाज सुन्नलाई कल गर्थें अनि म नबोली कल काट्दिन्थेँ। उसको हेलो मात्र आवाज सुन्दा पनि दिनै क्या उमङ्गित भएजस्तो लाग्थ्यो। तर त्यो उमंग धेरै दिन टिक्न सकेन। उसले सायद शंका गरेर होला त्यो नम्बर पनि ब्लक गरिछ। अब त्यो उसको हेलो भन्ने आवाज सुन्न म कसैगरी पनि पाउने थिइनँ।
तर फेक आइडी खोलेर उसलाई मेसेज चाहिँ गर्थें। कति आइडी ब्लक भए होलान् तर एउटा आइडी थियो त्यसबाट उसको फोटो हेर्थें। फोटो हेर्दा पनि ममा केही परिवर्तन थाहा पाउँदै थिए।पहिला उसको फोटो हेर्दा आँखा रसाउने मेरा अहिले ऊप्रति कुनै फिलिङ नै नभएजस्तो लाग्दै थियो।
बुटवलको दिक्कलाग्दो बसाइबाट गाउँ गएको थिएँ। उसै त बजारको त्यो फुर्सदिलो ठाउँमा त उसको याद आउन छाडिसकेको थियो तर जबर्जस्ती सम्झन खोज्थेँ तर उसको याद नै धुमिल धुमिल आउन थालिसकेको थियो। अझ गाउँको त्यो व्यस्त ठाउँमा उसको लागि सम्झने समय नै थिएन भन्दा पनि हुन्छ। जबर्जस्ती सम्झने त परको कुरा अब त बिस्तारै उसको कल आउला भन्ने आश मर्दै थियो।
ऊ बाटोमा देखिन्छे भन्ने कल्पना पनि गर्न छाडिसकेको थिएँ। अब उसलाई आइडी खोलेर मेसेज गर्न पनि छाडिसकेको थिएँ।
मेरो नम्बर ब्ल्याक लिस्टमा राखे पनि उसलाई पहिला जसरी कल गर्न छाडिसकेको थिएँ तर पनि बेला बेलामा उसलाई जबर्जस्ती सम्झन चाहिँ खोज्थेँ।
एक दिन खेतबारीको कामले कपडा फोहोरै थियो, अनुहारको धुलोलाई पसिनाले पखाल्दै थियो, कपाल जिंग्रिंग थियो उसो त बजारमा र सार्वजनिक ठाउँमा त ख्याल नगर्ने म गाउँमा त्यस्ता कुरामा ख्याल गर्ने त कुरै भएन।
गर्मीमा टिठलाग्दो अनुहार लिएर घरको पिँढीमा बसिरहेको थिएँ। सधैंजसो गोजीमा फोन राखेर कानमा जनैझैं इयरफोन झुन्ड्याउने म खै त्यतिबेला किन हो फोन चाहिँ कोठामै राखेको थिएँ।
फोनको रिङटोन बज्यो। म झस्यांग भएँ। कसको फोन भनेर वरिपरि हेरेँ। रिङटोनको आवाज मेरै कोठाबाट आएको रहिछ। म हस्याँङफस्याङ्ग गर्दै कोठातिर दौडिएँ र हत्तपत्त फोन नहेरी फोन रिसिभ गरेँ।
उताबाट एक जना केटीको आवाज आयो।
म एकैछिन अल्ल मल्लमा परेँ।
उसले मलाई चिन्नु भएन क्या भनी। मलाई केही चिनेजस्तो आवाज लाग्यो। पहिला पनि सुने जस्तो, बोले जस्तो आवाज लाग्यो तर ठ्यक्कै ठम्याउन सकिनँ। म उसको आवाजपछि एकैछिन टक्क रोकिएँ र 'खै चिने चिने जस्तो त लाग्यो' भनेँ।
उताबाट उसले 'अब त हामीलाई बिर्सिसक्नु भयो है' भनी।
ऊ साथीकी बहिनी रहिछ।
उसले मलाई यस्तो खबर सुनाई जसले गर्दा पहाड नै ममाथि खस्यो तर अचम्म मलाई त्यसले केही असर गरेन। ऊ बिहे गरेर अस्ट्रेलिया गइसकिछ।
राति उसको फोटो हेरेर ती पल सम्झन खोजेँ अनुहार नै धमिलो धमिलो मात्र याद आयो।
म त चिन्छु उसलाई तर दिमागले उसलाई चिन्दैन होला या धेरै चिनेर ऊ थाकिसकेछ होला।
मेरो निद्रा हरायो उसको खबरले। हैन सधैं सधैं निद्रा नलाग्दा ऊसँग कल्पिँदा निदाउने अचेल कल्पनाले पनि अरूसँग विवाह गरेर होला मसँग आउनै मान्दैन।
बल्ल चिन्ता लाग्यो तर उसको खबरले हैन यति ठूलो घटनाले मलाई किन चिन्ता छैन भनेर।
अ त साँच्चै नै टेन्सन नभएर पनि टेन्सन हुँदो रहिछ।
अर्को दिन बिहान भाइ र म मकैको बिस्कुन सुकाउँदै थियौं। भाइलाई सबै कुरा थाहा थियो। अघिल्लो दिनको कुरा पनि भनिसकेको थिएँ। मकैको बोरा सकिनसकी उचाल्दै मान्द्रोमा खन्याउँदै थिएँ। त्यतिकैमा मन्द मुस्कानसहित मेरो मुखबाट एउटा वाक्य फ्याट्ट निस्कियो।
'आई हेट अस्ट्रेलिया!'
त्यो वाक्य सुनिसकेपछि भाइ खित्का मारीमारी हाँस्यो। मैले त्यो वाक्य सम्झिएँ अनि भाइको हाँसो देखेर मलाई पनि उसैगरी हाँसो छुट्यो। दुबै जना एकैछिन मकैको बिस्कुन सुकाउने कामलाई केही छिनलाई रोक्दै केही समय हाँस्नमा नै समय निकाल्यौं।
यो पनि:
उसको फोन कसो नआउला!