आँगनमा लहरै फुलेका सयपत्री फूल तिहार आउँदै गर्दा सबै चुँडिने छन्। बचेका केही थुँगाहरू आफ्ना नजिककासँग छुटिएर बाँच्नुपर्ने छ। थाहा छ तिहारमा नचुँडिएका फूलहरू पनि मंसिर पुस आउँदा सबै ओइलिएर बोटहरू मर्ने छन्।
चिनी छरिएजस्तै छपक्क तुसारोले छोपिँदा पनि मुस्कुराउन छोड्दैनन्। जस्तोसुकै परिस्थितिमा पनि हाँसिरहने सयपत्री फूलहरू सायद घाम उदाउने कुरामा ढुक्क हुन्छन् तर हामी कर्णालीका जनताको जीवनमा कहिल्यै घाम लागेन। सम्पन्नताको घामको प्रतीक्षा गरेर कैयौं पुस्ताहरू पृथ्वी छाडेर गए तर हाम्रो पुस्तामा पनि सम्पन्नता सपनै रह्यो। रोग, भोक र अशिक्षा प्राकृतिक प्रकोप किन भगवानले गरिबी बस्तीहरूमा मात्र दिन्छन् होला।
'बाबु किन बिहानैको अँध्यारो चिसोमा बाहिर बसेर के सोचिरहेको?', हजुरआमाको आवाजले झस्किएँ।
'होइन नि हजुरआमा रातभरी त निदाएकै हो नि बिहानपख पो निद्राले छाडेको हो।', मैले मुस्कुराउँदै भनेँ।
साँच्चिकै म घरको चिन्ताले त्यो रात निदाउनै सकेको थिइनँ। पूर्णिमाको भोलिपल्ट भारतमा काममा उपस्थित हुनुपर्ने म हजुरआमाको आग्रहलाई नकार्न नसकेर तिहारसम्म घर बस्ने भएको थिएँ।
'म डाँडामाथिकी जुन सधैंभरी नाति यहीँ बसिदिए हुन्थ्यो जस्तो लाग्छ तर अर्कोपटक आउँदा म हुन्छु कि हुन्न तँलाई नजा भन्न पनि सक्दिनँ। तेरो बा भएको भए तँलाई यस्तो दु:ख हुन्नथ्यो कि?', हजुरआमाको आँखामा आँसु टिल्पिलायो।
'नजिकै भारत त हो नि हजुरआमा। बा भैदिएको भए अझै टाढाको देशमा हुन्थेँ होला। अलिकति सम्पन्न र पासपोर्ट बनाउने हैसियत भएकाहरू जाने देशमा।', हजुरआमालाई सान्त्वना दिएँ।
'हाम्रो आर्थिक हैसियत नभएकै कारणले राम्रो देशमा जान सकिनँ। नत्र बुवाको किरिया गर्दा, हजुरआमाको उपचार गर्दा, बाजेले हालेको घरको छानो फेर्दा लागेको ऋण पाँच छ वर्षमै तिरिन्थ्यो नि बाह्र वर्षसम्म भारतको गुलामी गर्नुपर्थ्यो र?'
मनमनै सोचेँ तर हजुरआमाको अगाडि मुस्कुराइरहेँ।
म छिट्टै नै फर्किने भएर होला हजुरआमाले मलाई एकछिन पनि छाड्न चाहनुहुन्थेन।
छोरी दौडदै आएर मेरो काखमा बसिन्।
'बाबा अब दिनदिनै मलाई कथा भन्ने है।'
'भिडिओ कलबाट भन्छु नि दिनदिनै नानु।'
'होइन नि यहीँ बसेर।'
'फोन छेउमा राख्नु नि अनि सँगै बसेजस्तो हुन्छ।'
मैले छोरीलाई अंगालोमा लिएँ।
‘मेरो माया नमाने पनि छोरीको त लाग्नुपर्ने हो नि। कति सधैंभरि भारत बस्न सकेको।' श्रीमतीले घुर्काएको पाराले मलाई माया दर्साइन्।
मायाले खान लाउन पुग्ने भएको भए लाखौं नेपाली विदेश हुने थिएनन्।
'के नेपालमा बसेकाहरू भोकैनाङ्गै बसेका छन् र? एक गाँस खान र एकसरो लाउन त जसरी पनि पुग्ने थियो। बैंसमा जोइ छोराछोरी छाडेर विदेश गयो बुढेसकालमा पछुतो। तेरा बा पनि तँ जस्तै जिद्धी गर्नुहुन्थ्यो केके न सुखले दिन काटौंला भनेर केदारनाथमा डोकोमा मान्छे बोक्ने काम गर्न जानुभएको थियो। बाढी पहिरोमा परेर अरूलाई काँधमा बोक्ने काम गर्न गएका तेरो बुवा सासरहित बनेर अर्कैको काँधमा बोकिएर घरमा आउनुभयो। चार वर्षे छोरालाई ऋण बोकाउन।' आमा रून थाल्नुभयो।
'अर्को सालदेखि विचार गरौंला आमा।'
विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि त्यही वाक्य दोहोर्याएँ। प्रत्येक पल्ट जस्तै यसपालि पनि श्रीमती, छोरी, आमा हजुरआमाले अबदेखि परदेश नगए हुन्न भन्ने अभिप्रायका कुराहरू झल्काइरहनुभयो।
घर व्यवहार चलाउँदा, औषधिउपचार गर्दा धेरैजस्तो कमाइ सकिने भएको हुनाले मेरो पुरानो ऋण तिर्न नसकेको कुरा घरमा सुनाएर उनीहरूलाई थप दुखी बनाउन चाहन्नथेँ धन्न बाजेले बनाएको पुरानै भए पनि घर थियो र उनीहरू ओतविहीन हुन परेको थिएन तर अलि ठूलो हावा भारतमा चल्दा पनि मेरो मन घरमा पुगिहाल्थ्यो। केही अप्रिय भयो कि?
सन्ततीलाई सुख दिने मेरा बाउ बाजेका सपना त कहिल्यै पूरा हुन सकेनन्। मैले पनि यही सपनाको लागि संघर्ष गर्दैछु। घर बनाउनका लागि घर छाडेको। परिवारलाई सुख दिनकै लागि परिवारसँग छुट्टिएको बाह्र वर्ष भैसकेको थियो। यस पटक मात्र हो तिहार मनाउन तिहारसम्म घरमा बस्न खोजेको।
कति सधैं झुट बोलिरहनु घरपरिवारसँग। यसपालि त आफ्नो ऋण नघटेको तर नेपाल बस्न चाहेको कुरा परिवारसँग प्रष्ट राख्ने छु। सके यही गाउँमा नसके नेपालमै बसेर परिवारको सपना पूरा गर्न मेहनत गर्ने छु।
दुई दिनको जिन्दगीमा एक दिन (आधा जिन्दगी) भारतमै बितिसकेको अब बाँकी एक दिन (आधा जिन्दगी) नेपालमा बिताउँछु। यस पालिको तिहारमा बैनी पनि आउने छिन्। बाह्र वर्षपछिको तिहार पो हो साह्रै रमाइलो हुनेछ। मभन्दा बढी मेरी हजुरआमा खुसी हुनुहुन्थ्यो।
साँझ खाना खाइवरी सबै जना सुतिसक्नुभएको थियो। म भारतमा हुँदादेखि नै रातिको खाना ढिला खाने र राति बाह्र बजेसम्म फोन हेरेर बस्ने बानी परेकोले निदाएकै थिएन।
एक्कासि घर हल्लियो। के भएको हो एकछिन भेउ पाउन सकिनँ। भूकम्प आएको हो भन्ने थाहा पाउनेबित्तिकै घरको सबैभन्दा अशक्त सदस्य हजुरआमालाई सम्झिएँ र कराउँदै उहाँ सुतेको ठाउँमा गएर उहाँलाई बोकेर बाहिर आइनसक्दै मेरो आवाजले निदाएका अन्य सदस्यहरूलाई ब्युँझाउन नपाई एकै झट्कामा घर खण्डहर भयो।
मध्यरातको समयमा मेरो घर परिवारको त कुरै छाडौं मेरो घरको पत्तो थिएन। तिहार आउँदै गर्दाको यस्तो विनाशकारी भूकम्प मेरो जिन्दगीमा कि पृथ्वीमा? रिंगटा लागेजस्तो भयो। शरीर थेग्नै सकिनँ।
मलाई होस आउँदा लासहरू लहरै राखिएका थिए।
मेरी आमा, जसले बुढेसकालमा छोराबाट सुख प्राप्त गर्ने सपना देखेर जवानीका रहरहरूलाई तिलाञ्जली दिँदै बुवा बितेर जाँदा पनि मलाई हुर्काएर बस्नुभयो।
छोरी, जसको जीवनमा सुख दिने सपना मैले देखेको थिएँ।
श्रीमती, जसले मलाई साथ दिन सबै छाडेर आएकी थिइन्।
तीनै जना मेरा प्रियजनहरू आफ्नो शरीरलाई भत्किएको घर अगाडि छाडेर स्वर्गको बाटो तय गरिसकेका थिए।
हजुरआमा लाठीले भुइँ बजारी बजारी कोकोहोलो गर्दै हुनुहुन्थ्यो। मजस्तो म एक्लो थिइनँ। अरूलाई पनि मलाई जस्तो मलाईभन्दा पनि बढी दु:ख दिएको थियो भूकम्पले। घरका सबै सदस्य गुमाएका नाबालक, बुढेसकालका सहारा गुमाएका वृद्धवृद्धा, भूकम्पले गर्दा सिंगो गाउँ नै तहसनहस भएको अवस्था थियो।
राहत, उद्धार गर्न आएका मानिसहरूले कति अपांग, कति घाइते भन्दै कुरा गरिरहेका थिएँ।
म त अर्कालाई सहयोग गर्न सक्ने अवस्थाको सपांग नै थिएँ। जीवन अगाडि बढाउनु थियो। सम्झिएँ ती बिहानका सयपत्री फूलहरूलाई जुन चिनी पोखिएजस्तै गरी तुसारोले छोपिँदा पनि हाँसेकै थिए। सम्झिएँ भारतका साहुले मलाई गरेको सम्बोधन बहादुर।
जुरूक्क उठेँ हजुरआमातर्फ हेरेँ राहत ल्याउनेहरू उहाँलाई न्यानो कम्मल ओढाइदिएका रहेछन्। सोचेँ धन्न आजको रात हजुरआमालाई कठ्याँग्रिन परेनछ। उद्धारकर्ताहरूले मेरो अगाडि पनि केही राहतका सामग्री राखिदिए। म पुन एकपटक सयपत्री हुने प्रयास गरेँ अनि उनीहरूको मुखमा हेरेर मुस्कुराउँदै भनेँ- धन्यवाद हजुर।