कविता
आँगनमा फुलेको
मखमली, सयपत्री र गोदावरी फूलले
जीवनका हरेक भुलहरूमा
सच्चिनका निम्ति
सौन्दर्य थपिरहेको छ।
सँगै प्रतीक्षारत छन् यी फूलहरू
ती हारलाई
तिहारमार्फत् जितमा परिणत गर्न।
जब धागोमा फूलका गुच्छाहरू
एकआपसमा जसरी नजिक भएर बस्छन्।
हो त्यसरी नै,
दिदीबहिनी सँग दाजुभाइको सम्बन्ध
नजिक होस्।
ताकि ओइलिएकाे फूल जसरी
सम्बन्ध कहिल्यै ओइलिन नपरोस्।
निधारमा सजिएका
सप्तरंगी टीकाहरू,
शिरमा सजिने ढाका टोपी
जब लगाउँदा सौन्दर्य भरिपूर्ण हुन्छ,
हो त्यसरी नै तिहारले
सम्बन्धको हाँगाहरूलाई
गाईतिहारेको पात जसरी
मौलाउन साथ दिऊन।
जसरी भित्र्याइन्छ पाकेको धान
हो त्यसरी नै हरेकको घरमा
भित्रिऊन् लक्ष्मी।
भित्रिएको धान त
घरभित्र मात्रै बसिनरहला
तर भित्रिएको लक्ष्मीले
सधैं तपाईंको घरमा बास गरून्।
तिहारको शुभकामना।