कविता
दिनभरको माथापच्चीले
थकित सूर्य
सनै सनै
घिस्रिएर डुब्दैछ
सन्ध्याको घुम्टोभित्र
थकान मेट्न
दिनभरिको
दौडधुपले गलेर
म पनि मृतप्रायः
पल्टिएकी छु
मृत रहरका
ओछ्यानमा लम्पसार
थकित वदनलाई
सुम्सुम्याउँदै
सोधिरहन्छु आफैंसँग
‘को हुँ म?’
‘के हुँ म?’
सारा संसार
कुम्भकर्ण झैं निदाइरहँदा
एक झप्को निद्रापछि
सधैं ब्युँझिन्छु
म झ्यालबाट
जुनकिरीको उज्यालोमा
खोज्न आफैंलाई
ला.... ....... .....
अबेर भैसक्यो,
घर्किसक्यो समय
रात विस्तारै
मृत्युरेखा नजिक पुग्दैछ
प्रभात आकाशभरि
लालीमा खन्याएर
सूर्यको स्वागतमा व्यस्त छ
मेरो खोज
आज पनि पूरा भएन
कहाँ हराए मैले आफैंलाई
सोचेर बढ्दैछ
धुकधुकी बेजोडसँग
साँझले आकाशभरि
चुक पोतेर
अँध्यारो रात ल्याउनुअघि
अस्ताउनै लागेको
सूर्यको धिपधिपे
उज्यालो टिपेर
भास्को डिगामाले भारत
खोजेजस्तैगरी खोजेको भए
पाउँथे कि सायद आफैंलाई
उज्यालो त कहिले हुन्न मेरो
समयको टुक्राटुक्रा
चिमोटेर छरिरहन्छु म
परेवालाई दाना छरेजस्तै
आफूबाहेक सबैलाई
त्यसैले त सारा संसार
सुतेपछिको सन्नाटाले
ब्युँझाउँछ मलाई
अनि हर मध्यरात अठोट गर्छु
साहस र आँटको अटल डोरीले
आफ्नै मनलाई बाँधेर
हिच्किचाहटको घुम्टोलाई
हावामा बेपरवाह उडाएर
झिसमिसेमैं निस्कन्छु
आफैंभित्र आफैंलाई खोज्न
तर सूर्योदयले
भत्काइदिन्छ मेरो अठोट
बिहानीसँगै च्याउसरी
गुजुङ गुजुङ गुजुङ गुजुङ
उम्रिन्छन् बेफुर्सद
भात भान्सा र घरव्यवहारको
हृदयको अन्तःस्करणबाट निस्कने
‘स्वयमलाई खोज’को
आवाजलाई
छोपिदिन्छ मेरो ‘स्त्रीत्व’
लाज अनि अप्ठ्याराका
ज्वारभाटाहरूले भाँचिदिन्छन्
हिम्मतको अग्लो लौरी
बगाइदिन्छन् साहस र आँटको
अटल डोरीलाई
अनि हरेक रात
छरिएका आत्मविश्वासको
झिक्राझाक्री बटुलेर
चन्द्रमासँग उज्यालो
फुर्सद सापटी लिएर
अन्धकारमा निस्कन्छु
म आफैंलाई खोज्न
सिद्धार्थ झैं