बा,
तिम्रा पाउमा यो अभागी निधार सुताएर,
तप्प तप्प चुहाएर एक मुठी नुनिलो आँसु,
धारैधार भएको यो भासुको भीरजस्तो निधारमा
तिमीले लगाइदिएको अक्षता अड्याउँदै
नचाउँदै आमाले खुवाएको दही
अड्किएको ओठको बारीभरि यो जिब्रो
गाउँको कुइनेटो काटेर आरालो झरेपछि
काटिन बाँकी केही रहेन
साढे सातीको दशा बाहेक अरू।
...
यता यो बालुवा फूल्ने देशमा आएदेखि
कानमा आउनै छाड्यो झ्याउँकिरी
आँखाबाट हरायो गोधुली
हत्केलामा भेटिन्नन् अरेली काँडाले कोतरेका दागहरू
कमेरोले घर नलिपेको पनि कति भो कति भो
मन्दिर गएर बत्ती नबालेको पनि जुगौं भएछ
अब त आस गर्न पनि छोडयो होला माली गाईले
कति बेला आउँछु म गोठमा र भर्दिन्छु डुँडमा एक गाग्री पानी भनेर
अनि,
यसो औंला भाँच्छु
उत्तिकै वर्ष भएछ
परदेशबाट देश सम्झेको पनि।
...
बा,
घरमा काँसजस्तै तिमी छौ
निहुरोजस्तै आमा छिन्
दाइ जो सम्झेकी गुराँसजस्तै बैनी छिन्
देशजस्तै चुहिरहने घरको पाली छ
गोठमा माली गाई छ, मेरै पर्खाइमा बसेको
गाउँमा पर्खिरहेकी दियोजस्तै प्रिया छिन्
छातीजस्तै बाँझो बारी छ
साथीहरू छन्, समीको चौपारीमा बसेर बाघचाल खेल्दै गरेका
अनि एउटा साहु छ, मलाइ सम्झिरहने– तमसुक हातमा लिएर।
...
यता टाउकैमा अडिएर दोपहरको घाम चर्किने मरूभूमिमा
सिउँडी जस्तै म छु
यहाँ मैले फेरेको तातो हावा गाउँमै पुग्ला कि
सोचेर घरिघरि सास रोकेर बस्छु
मैले पिएको खल्लो पानी पँधेरामै पुग्ला कि
सोचेर घरिघरि थुक निलेर बस्छु
हरेक रात ओढ्नुभन्दा पहिले एसीको चिसो
देउरालीको बतास सम्झेर सुत्छु
र, पनि सोच्छु
अब त फर्किनै पर्छ– मलामी पाउने गाउँ!
...
फर्किँदा विदेशी साहुको हत्केलामा राहु बसेन भने
लिएर आउनु छ
साहुको भाखा
निद्रा लाग्ने दबाइ
एक टुक्रो मधेस
बसको छतभरि दाइजो
एक धर्को सिन्दूर
अनि,
देशको स्वाभिमान पनि।
...
बा,
आउँछु–जसरी भए पनि
आउँछु अब त
म फर्केर आउँछु यो मरूभूमिबाट
तिमी आँखाको माथि दाहिने हातको बार्दली लगाएर हेर्दै गर्नु
म फर्केर आउँछु त्यही उकालो चढेर
जुन ओरालो बाटो खरानी हुन झरेका थिए–
गाउँका कति बुढापाकाहरू।
...
रबको कसम बा!
सग्लै फर्किन पाए
रायोका पातजस्तो मुजा परेका तिम्रा हातका छाला सुम्सुम्याउन
चिठी कोरेर एयरपोर्टको पिचमा,
अब बिदा भन्दै
फेरि कहिल्यै चढ्थिनँ– अरब आउने जहाज!