रातभरि काम गर्दागर्दै
उता पर हुस्सुको सिरानीबाट
हाँस्दै निस्किन्छ घाम
र, मेरो अत्यास मेटाउँछु भन्छ
म टुपुक्क हत्केलामा टिप्छु त्यो बाटुलो घाम
र, काम साँधेर
फुर्लुंग खसालिदिन्छु
समय साट्ने संगीको खोकिलोमा
साँझ पुगेपछि
मेरो सँगीका गोडा झैं थाकेर
डाँडातिर ओरालो सर्छ घाम
अनि मेरो थकानको मैदारो सकिन्छ
संगी आउँछ
टुपुटुपु जूनतारा टिप्छ
रातजस्तो लामो पारेर
र, कामैकामको हार सिउरिदिन्छ
मेरो गलामा
धर्तीको सिरक ओढेर लुक्दै गरेको घाम
घुर्न थाल्छ फट्यांग्राको गीत छोपेर
घाम सुतेपछि
मेरो हातमा काम मात्र बाँकी रहन्छ
यति नै बेला
म एक जोडी काँचा आँखा पुछेर
उडान भर्छु आफ्नै करेसाबारीको
काँचै आँखाभित्र
देश बल्झिन्छ
सिमली छायामा
तर,
मैले दुःख बेचेर पैसा चिन्नु छ
एउटा सानो घर बनाउनु छ, चलाउनु छ
र, पुग्नु छ
बादलका टुक्राहरू पछ्याउँदै
देउरालीको चौतारी
यता बुझ्नु छ
समय टक्टक्याउँदै
रोबोटले अनुवाद गरेका
कविताका नयाँ हरफहरू
मलाई हम्किरहेको यताको हावा
पुर्याउनु छ मेरो गैरीगाउँ
र, सेक्नु छ उनको निधार
खबर गर्नैपर्दैन कसैले
खोकिलामा च्यापिएका अपूरा यादहरूलाई
ब्युँझिरहन्छन् अँधेरी-उजेली
कान्छीको दुःख
रातभरि पढिरहन्छु
सपनाको अखबारमा
दिनभरि घोकिरहन्छु मेसेन्जरका पर्दाहरूमा
नसुतेको कम्मरमा हात राखेर
सम्झिन्छु बुढा बाको दुःखेको कम्मर
सम्झिँदै-सम्झिँदै बाले तर्ने पसिनाको खोला
च्याप्छु पुन्टेको सपना भरिएको कामको झोला उसैगरी
यता ग्राहकका जोडी पस्छन्
मेरो साहुको सेभेन-इलेभेनमा
उता कर्के हेर्छन्
मेरो एक्लो माया बसेको मझेरीमा
के गर्नु, पर्दा लगाएको छ समयले
मेरा आँखाभरि
पखेटा काटेको छ मेरो
मेरै घरको धारिलो धुरीले
आखिर,
भुल्नैपर्ने रहेछ पर्दापछाडिका अँधेरीहरू
यसैले,
कहिलेकाहीँ घुम्ने फुर्सद निकाल्छु
कामका खबरहरू कालो चस्माले छेक्छु
हतासोका लहरहरू तस्बिरले छोप्छु
अमेरिका ट्रिब्युन टावर बोकेर
हाम्रै फोटो खिचिरहन्छ बारबार
र,
लुटपुट्याइरहन्छ कामको बडेमाको छातीमा
सुत्दैन ऊ पनि
रात च्यापेर खोकिलाहरूमा
अग्लो बिजनेस टावरबाट हेरिरहन्छ
हाम्रा दुःखहरू
र, बाटैबाटो गुडाइरहन्छ
हाम्रा सुखहरू
अमेरिका मादल रहेछ बजाऊ
ताल तिम्रो आफ्नै
अमेरिका गीत रहेछ गाऊ
स्वर तिम्रो आफ्नै
तर,
भाव घरदेशकै जुटाऊ
भाका घरदेशकै सुनाऊ
किन खुम्चिनु सानो चित्तमा
आऊ,
दौडिरहँदा अमेरिकाको आगनमा
घरदेश नै हँसाऔं यहाँको माटोमा
घरदेश नै बचाऔं यहाँको बाटोमा
आँचल हाम्रै संस्कृतिको समाऔं
गाजल हाम्रै आँखामा जस्तो लगाऔं
र, सम्बन्धको अग्लो अन्नपूर्ण उठाऔं
अमेरिकाको आकाशमा
एउटा भाइ अरबको आकाशमुनि बादल खोजिरहेछ
अर्को भाइ अस्ट्रेलियाको आकाशमुनि मादल बोकिरहेछ त के भो
आऊ यो एउटै आकाशमुनि
एउटै माछापुच्छ्रेको काख सम्झेर
बनाऔं बडेमाको आगन र खेलौं मान्छेमान्छेको खेल
आऊ तन्काएर नीलो आकाश
गोलो लक्ष्मणरेखा कोरौं सग्लो धर्तीमा
र, बाँधौं सगरमाथाको खम्बामा
अनि निषेध गरिदिऊँ डग्लसका सिकारी उडानहरू
बन्द गरिदिऊँ विखण्डनकारी आँखाका अवतरणहरू
र, बनाऔं सगरमाथालाई जस्तो, एकै सन्देश
र, सजाऔं अमेरिकाहरूलाई जस्तो, घरदेश
र, बाँधौं धर्तीलाई जस्तो, एक देश
र, बालेर चिराग गरौं नयाँ युगको संकेत!